नेपालगन्ज – भदौको दोस्रो साता गृहजिल्ला नेपालगन्ज आएकी संसदीय समितिकी सभापति पूर्ण कुमारी सुवेदीसँग सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक कृष्ण भण्डारीले विशेष समय लिंदै अनुरोध गरे, ‘नेपालगन्जको विकासका लागि तपाईहरु गम्भीर भइदिनु पर्यो ।’
त्यसैको अघिल्लो दिन विकासका लागि नागरिक सरोकार समितिले बागेश्वरी मन्दिरको बृहत्तर हितका लागि जनप्रतिनिधिहरुसँग गरेको अन्तरक्रियात्मक भेटघाटमा सहभागी सबैको चासो थियो, ‘विकासका दृष्टिले नेपालगन्ज निकै पछाडि पर्दैछ ।’ सहभागी नागरिक अगुवाहरुले बागेश्वरीको बृहत्तर विकासका लागि गुरुयोजनाको निर्माणदेखि बागेश्वरी क्षेत्र विकास कोष स्थापनासम्मका विषयहरुलाई जोडसोरका साथ उठाए । उनीहरुको भनाइ थियो, ‘नेपालगन्जको भविष्य जीवन्त राख्न नेपालगन्ज–दिल्ली उडान, पोखरा र भैरहवासँगको आन्तरिक हवाई सम्बन्ध तत्काल विकसित गरिनुपर्छ ।’
अन्तरक्रियामा सहभागी सांसद सुवेदी, महेश्वर गहतराज, प्रदेशसभा सदस्य कृष्णा केसी, मो. याकुव अन्सारी सबैले आ–आफ्नो तर्फबाट छलफलमा उठेका सवालहरुलाई सम्बद्ध निकायसँग पुर्याउने प्रतिबद्धता जनाउँदै त्यसको पहल लिने बताएका थिए ।
दोस्रो दिन हस्पिटालिटी क्षेत्रमा अगुवा संस्था सिद्धार्थका निर्देशक भण्डारीको भनाइमा व्यवहारिक कठिनाइको पीडा प्रष्ट झल्किन्थ्यो । सिद्धार्थ सहित नेपालगन्जमा डेढ दर्जन तारे होटल पर्यटकको पर्खाइमा छन् । दुई वटा पाँच तारे होटल खेलिसकेको नेपालगन्जमा सिद्धार्थ पनि सोही लाइनमा छ । तर, पर्यटकको पर्खाइमा रहेका होटलहरुमा भएको अर्बौ लगानी प्रति सरकार बेखबर भइदिंदा जोखिम बढ्ने चिन्तामा व्यवसायीहरु निरन्तर छलफल, अन्तरक्रियामा व्यस्त छन् ।
होटल तथा पर्यटन व्यवसायीहरुको छाता संस्था, होटल व्यवसायी संघ बाँके नेपालगन्जले सरोकारवालाहरुलाई पटकपटक डाकेर भनिरहेको छ, ‘नेपालगन्जको अवस्था सुधार्न तत्काल ठोस पहलकदमी आवश्यक छ ।’ ‘यो हाम्रो मात्र सवाल होइन’, संघका अध्यक्ष भीमलाल कंडेलले प्रत्येक मञ्चमा भन्दै आएका छन्, ‘संघीय संरचनापछि सुनसान बन्दै गैरहेको नेपालगन्जमा कसरी चहलपहल बढाउने भन्ने कुरा सबैको सरोकारको विषय बन्नुपर्छ ।’ भण्डारीको चासो पनि त्यही सेरोफेरोमा थियो ।
कसरी नेपालगन्जको चहलपहल पुनस्र्थापित हुनसक्छ ? बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेपछि पशुपति दयाल मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘तत्कालका लागि पर्यटकीय पूर्वाधारको विकास नै महत्वपूर्ण स्रोत बन्न सक्छ ।’ आफै पनि रिसोर्ट सञ्चालनका लागि पूर्वाधार निर्माणमा जुटेका मिश्र स्वतन्त्र राजनीतिक समूहको सदस्यका हैसियतले मंगलबार भएको केन्द्रीय समितिको बैठकमा नेपालगन्जको विकासका सवाललाई महत्वपूर्ण एजेन्डा बनाउन सफल भए । सोही एजेन्डा लिएर उनी मन्त्री भट्टराईसँग भेट गरेका हुन् ।
भदौ १५ गते सांसद सुवेदीले पर्यटन मन्त्री भट्टराईलाई भेटी स्थानीय सरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराएकी थिइन् । त्यतिबेला उनको मुख्य चासो थियो, ‘मन्त्री भट्टराईको प्राथमिकताका १ सय ४० कार्ययोजनाका बुंदामा नेपालगन्ज किन पर्न सकेन ?’ त्यसको तेस्रो दिन सांसद गहतराजले बाँकेको विकास र नेपालगन्ज–दिल्ली उडान, पोखरा र भैरहवाका लागि हवाई सम्बन्धको स्थापना लगायतको विषयमा मन्त्री भट्टराईसँग छलफल गरे ।
सांसद सुवेदीले संसदमै यी कुराहरुलाई एजेन्डा बनाइन् । ‘मन्त्री भट्टराईले बाँकेको पर्यटन विकासका लागि आफ्नो मन्त्रालयका तर्फबाट नेपालगन्जमै आएर छलफल चलाउने प्रतिबद्धता जनाएका छन्’, नेकपाका जिल्ला इन्चार्ज, पूर्व सांसद दिनेश चन्द्र यादव सहित मन्त्री भेट्न पुगेका मिश्रले दशैं अघि नै मन्त्री नेपालगन्ज आउने आश्वासन पाएको जानकारी दिंदै भने ।
खासगरी नेपालगन्ज विमानस्थलको स्तरोन्नतीका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने मन्त्री भट्टराईको प्रतिबद्धता रहेको जानकारी दिंदै मिश्रले पर्यटकीय दृष्टिबाट नेपालगन्जलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे मन्त्रालयले अध्ययन गर्ने मन्त्री भट्टराईको प्रतिबद्धता आएको बताए । उडानका सवालमा भने मन्त्रालयले सुरेन्द्रमान श्रेष्ठको नेतृत्वमा उडान सम्भाव्यता अध्ययन टोली गठन गरेको जानकारी दिंदै मन्त्री भट्टराईले सोही टोलीको अध्ययन सिफारिसका आधारमा हुने बताएका छन् ।
‘हाम्रा जनप्रतिनिधिहरुको निरन्तरको प्रयास आवश्यक छ’, विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले पछिल्ला निरन्तर पहलहरुप्रति सन्तोष व्यक्त गर्दै भने, ‘जनस्तरबाट पनि दबाब जारी राख्नुपर्छ ।’