डेंगुको त्रास, चेकजाँचको चाप

रुपन्देहीमा ९० जनामा डेङ्गु ,राष्ट्रियसभामा राष्ट्रिय संकट घोषणा गर्न माग


नेपालगन्ज – देशभर डेंगुको संक्रमण बिरामीहरु फेला पर्दै जाँदा अस्पतालहरुमा चाप बढ्न थालेको छ । नेपालगन्जका मेडिकल, शिक्षण संस्था र सरकारी अस्पतालहरुमा दैनिक बिरामीहरुको चाप बढ्दै गएको हो । भाइरल संक्रमितहरु पनि डेंगुको आशंकामा पुग्ने गरेका छन् । बाँकेमा डेंगु संक्रमितहरु फेला पर्दै गएका छन् । भेरी अञ्चल अस्पतालमात्रै ७ जनामा डुंगु फेला परेको छ । जसमध्ये १ जना मात्रै बाँकेका हुन् । नेपालगन्ज मेडिकल कलेजमा पनि डेंगु संक्रमित फेला परेका छन् । जसमध्ये अधिकांस बाहिरी जिल्लाका छन् ।

प्रदेश नं ५ मा १२६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा निर्देशक डा विनोद गिरीले जानकारी दिएका छन् । ‘गत वर्ष झण्डै एक हजार जनामा डेङ्गु देखिएको थियो, यस वर्ष भयावह अवस्था छैन’, डा गिरीले भने । रुपन्देहीमा ९० जनामा डेङ्गु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिएका छन् ।

जिल्लामा डेङ्गुको संक्रमण बढ्न थालेपछि घोराहीमा निरन्तर सचेतनाको कार्यक्रम भइरहेको छ । सोही अन्तरगत बुधबार घोराही उपमहानगरपालिका–१४ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा सचेतना कार्यक्रम थालेको छ । शुभप्रभाव माध्यामिक विद्यालयमा डेङ्गुबाट सतर्क रहन विद्यार्थीलाई आग्रह गर्दै वडाध्यक्ष शक्तिराम डाँगी । (तस्वीर ः रीता लामा÷रासस)

भदौको सुरुआतदेखि जिल्लामा डेङ्गु र भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ । पछिल्लो दुई हप्तामा डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ । भेरी अस्पताल नेपालगन्जमा दैनिक ५० जना जति भाइरलका बिरामी पुग्ने गरेको अस्पतालले जानकारी दिएको छ ।
रुपन्देहीमा पनि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।

दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउनुभएकी मुर्गीया निवासी भीमकला भण्डारी बेड नभएपछि फर्किनु परेको थियो । ‘अस्पतालमा ठाउँ छैन भन्छन, सबै ज्वरो र डेङ्गुका बिरामी छन् रे’, ह्विलचियरमा छोरासँग अस्पताल आएकी भण्डारीले भने । त्यति मात्रै होइन, एउटै बेडमा तीनसम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । ‘राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु’ डेङ्गुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका बुटवल हाटबजारका रोशन कुमारले भन्नुभयो । ठाउँको अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । ‘ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन’, अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले दुखेसो गरे ।

लुम्बीनी अस्पतालमा दैनिक एक हजार १०० बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक २०० को उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण खनालले जानकारी दिएका छन् । ‘अस्पतालमा बिरामीको चाप हँुदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छाँै’, डा खनालले भने, ‘अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हँुदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ ।’

डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको भन्दै बुधबार राष्ट्रियसभामा राष्ट्रिय सङ्कट घोषणा गर्न माग समेत गरिएको छ । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराएका थिए । सांसद अधिकारीले डेङ्गु फैलने क्रमलाई राष्ट्रिय सङ्कटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भने, ‘५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन ? यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।’

डेङ्गु रोगको नियन्त्रणका लागि सरकारले गरिरहेको कामका सम्बन्धमा स्वास्थ्यमन्त्रीको जवाफ अति जरुरी भएको उल्लेख गर्दै सांसद अधिकारीले भने, ‘सरकार कहाँ छ के गर्दैछ ? यसको महामारी रोक्न सरकारले के गर्दैछ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ?’ उनले डेङ्गु रोग परीक्षणको नाममा निजी अस्पतालहरुले चर्को शुल्क असुलिरहेको हुँदा परीक्षण शुल्क तोक्न सरकारसँग माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेङ्गु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख भयो । उनले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

लार्भा नष्ट गरिंदै
समाचारदाता
दैनिक नेपालगन्ज
डेंगुको संक्रमण फैलिन नदिन बाँकेको डुडुवा गाउँपालिकामा लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए । उनका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेङ्गुु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताइन् ।

‘संवेदनशील भएर लाग’
समाचारदाता
दैनिक नेपालगन्ज
विकासका लागि नागरिक सरोकार समिति बाँकेले डेंगु संक्रमण नफैलियोस् भनेर समयमै सचेत भएर त्यसतर्फ आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले देशका ५६ जिल्लामा डेंगुका संक्रमण देखिएकोले बाँकेमा भयावह अवस्था आउन नदिन तीन वटै तहका सरकारले चासो राखेर नियन्त्रणका उपायहरु अवलम्वन गर्नुपर्ने बताएका छन् । ‘बाँकेमा डेंगु संक्रमण भयावह नहोस् भनेर समयमै सचेतना अपनाउनु आवश्यक छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले भने, ‘त्यसैले जिल्ला स्थित स्थानीय तहलाई पहलका लागि आग्रह गरेका हौं ।’
समितिले बुधबार डेंगुको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विज्ञप्ति समेत जारी गरेको छ । विज्ञप्तिमा डेंगुका जीवाणु नष्ट गर्ने औषधी छर्कने र जनचेतनाका कामहरु अगाडि बढाउन स्थानीय तहसँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया