उद्योगपतिलाई जेल

राजश्व चुहावट गर्ने उद्योग विरुद्ध साढे ७ करोड धरौटी सञ्चालक जेल चलान

नेपालगन्ज – राजश्व चुहावट सम्बन्धी एउटा मुद्दामा बाँकेका एक उद्योगपति जेल चलान भएका छन् । राजश्व चुहावट गरेको भन्दै बाँकेको एउटा उद्योगमाथि राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत बाँकेले कसुर ठहर गरेपछि उद्योगपति जेल चलान भएका हुन् ।


उद्योग स्थापनादेखि नै अन्तशुल्क स्टिकर विना करोडौंको राजश्व चुहावट हुने गरी कारोबार गरिरहेको फेला परेपछि राजश्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो । मंगलबार मुद्दामाथि सुनुवाई गर्दै बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्धिन शेषसँग ७ करोड ४५ लाख धरौटी माग गर्यो । ‘माग अनुसारको धरौटी बुझाउन नसकेपछि हिरासतमा रहेका उद्योग सञ्चालक शेषलाई कारागार चलान गरिएको छ’, राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत शेखर कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘अदालतले हाम्रो दाबी अनुसारको बिगो माग गरेको छ ।’

उद्योगमाथि राजश्व चुहावट गरेको प्रमाणित भएको भन्दै विभागले रु ७ करोड ५२ लाख दुई हजार ७७४ बराबरको बिगो दाबी गरेको थियो । यसअघि उद्योग सात लाख रुपैयाँ धरौटी वापत बुझाइसकेको छ । इको प्लस नामक गुट्खा उत्पादन गर्दै आएको मसला उद्योगको राजश्व छलीका सम्बन्धमा विभागले लामो अनुसन्धान पछि सोमबार जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको हो । ‘हामीले सात महिनादेखि अनुसन्धान गरेका थियौं’, अनुसन्धान अधिकृत कार्कीले भने, ‘राजश्व अनुसन्धान कार्यालय कोहलपुरको अनुसन्धान प्रतिवेदनका आधारमा विभागले मुद्दा दायर गरेको हो ।’

आर्थिक वर्ष २०७३÷०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोग छ । अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको जनाएको छ । विभागले उद्योगसँगै सञ्चालक शेषलाई पनि प्रतिवादी कायम गरेको थियो । १५ दिनदेखि अनुसन्धानका लागि नियन्त्रणमा रहेका शेषलाई अदालतको आदेशसँगै धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
राजश्व अनुसन्धान कार्यालय कोहलपुरले बाँकेकै एउटा अर्को गुट्खा उद्योगमा पनि राजश्व चुहावट सम्बन्धी अनुसन्धान गरिरहेको छ । सम्बद्ध स्रोतका अनुसार, अनुसन्धान अन्तिममा पुगेको उक्त मुद्दामा छिट्टै अदालत जाने क्रममा छ ।

प्रतिक्रिया

प्रतिक्रिया