सन्दर्भः आत्महत्या विरुद्धको दिवस
‘पूर्वीय दर्शनमा हाम्रा ऋषिमुनिहरूले उहिल्यै आत्महत्याको निन्दा गरेका छन् । आत्महत्या गर्नेले कहिल्यै मुक्ति पाउँदैन र करोडौं वर्ष योनी नपाएर भड्किरहनुपर्छ भन्ने डर देखाएर होस् वा मोक्ष प्राप्तिका लागि ध्यान, ज्ञान, भक्ति र कर्मयोग सिकाएर होस् जीवनको समग्र सुन्दरता चिनाउनु पूर्वीय दर्शनको सार हो ।
भोजराज शर्मा
विश्व स्वास्थ्य संगठनको अध्ययनले विश्वमा देशमा हुने कूल मृत्युमा ‘लिडिङ कज’ वा प्रमुख कारकमा आत्महत्या पर्न थालेको देखाउँछ । नेपालमा प्रतिवर्ष ६ हजार ८ सय ४० जना आत्महत्याको कारण मर्ने गरेका र विश्व स्वास्थ्य संगठनको रिपोर्ट २०१५ ले नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा १८३ देशको पंक्तिमा १२६ औं नम्बरमा पर्ने देखाएको छ । तर २०१८ मा आत्महत्याको दर ३५ प्रतिशतले घटेको नेपाल प्रहरीको सूचकले जनाउँछ । प्रहरीले नेपालमा २०१८÷१९ मा भएको जम्मा आत्महत्याको संख्या हालसम्मकै कम अर्थात् ३ हजार ४ सय ८८ पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनको २०१८ को अहिलेसम्मको अपडेट हेर्ने हो भने नेपाल आत्महत्या दरको सूचीमा ८१ औं नम्बरमा परेको देखिन्छ । राष्ट्रसंघले सन् २०१२ देखि प्रकाशित गर्दै आएको ‘विश्व खुसी सूचाङ्क’ अर्थात् ‘वल्र्ड ह्याप्पीनेस रिपोर्ट’ २०१८ मा १५६ देशहरूको सूचीमा नेपाल १०१ नम्बरको खुसी देशको तहमा परेको छ । आत्महत्या दर घट्नु आफैमा सुखद समाचार भए पनि नेपाल आत्महत्याको गम्भीर खतराबीच उतारचढावमा परिरहेका देशहरूभित्रै परेको छ ।
राष्ट्रसंघ तथा विश्व स्वास्थ्य संगठन नै सूचकका लागि प्रत्येक वर्ष गहिरो अध्ययन गरिरहेका छन् । मेजर डिप्रेसिभ डिसअर्डर, स्क्रिजोफेनियाँ, ब्रिफ साइकोटिक डिसअर्डर, बाइपोलर डिसअर्डर र पर्सनालिटी डिसअर्डरबाहेकका आत्महत्याका थप कारकहरूबारे यस विषयका अध्येताहरू, मनोचिकित्सक र मनोवैज्ञानिकहरूबाट विभिन्न शोधहरू प्रकाशित भइरहेका छन् । मनोविज्ञान र मनोचिकित्साको क्षेत्रमा आत्महत्या रोग मानिने भएकोले यसका औषधीहरूमा समेत क्रमिक विकास र नयाँनयाँ सिद्धान्त थपिँदै आएका छन् । अहिले म वैज्ञानिक तथ्यहरू र आत्महत्याका मनोचिकित्सकीय कारकहरूको फेहरिस्त दिने पक्षमा छैन । गुगल यसका लागि सबैको पहुँचमा छ । यो लेख वैज्ञानिक सापेक्षतामा नभएर समाज र नेपालीको विकसित चेतनाको सापेक्षतामा रहेर आत्महत्याका कारक तत्व र समाधानका उपायमा केन्द्रित रहनेछ ।
विश्वका नामी हस्तीहरूको आत्महत्याको फेहरिस्त पहिलो पटक सुन्दा म छक्क परेको थिएँ । यो सूचीले जोकोही गम्भीर बन्छ । लेखिका सिल्भिया प्लाथ, फिल्मी नायिका मार्लिन मुनुरो, पत्रकार अनिल रामदास, हिन्दी कलाकार प्रबीन बाबी, जिया खान, दिव्या भारती आदि प्राय सबैका लागि सुनेकै नाम हुन् । नेपाली हास्यव्यङ्ग्य निबन्धका सम्राट भैरव अर्याल, र पत्रकार सालिकराम पुडासैनीको आत्महत्याले नेपालमा सबैभन्दा बढी चर्चा बटुल्यो । कञ्चनपुरका १२ कक्षाका विद्यार्थी सुरज लेखकको ‘आई क्वीट’ लेखेर गरिएको आत्महत्या र ललितपुरका ११ वर्षीय बालक समीर लुङवाले आफ्नै घरमा झुण्डिएर गरेको आत्महत्याका दुई प्रसङ्गले विद्यालयको वातावरण पनि बालबालिकाका लागि स्वर्गीय र सुरक्षित सोचेजस्तो छैन भन्नेमा सोच्न बाध्य बनाएका छन् । रवि लामिछानेसँग जोडिएको सालिकराम पुडासैनीको आत्महत्याको प्रसंग सम्भवतः नेपालको इतिहासमै सबैभन्दा बढी चर्चा बटुलेको केस हो । झुण्डेर, विष सेवन गरेर, भीरबाट वा नदीमा हाम फालेर जीवन पूरै सकियो भने मात्र आत्महत्या हुन्छ । डोरी चुँड्यो, विष निस्तेज गरियो, भीर वा पानीबाट उद्दार गरियो भने आत्महत्याको प्रयास मात्र हुन्छ । आत्महत्याको प्रयास गरेर सफल नभई जीवन विताइरहेका मानिसहरू यस धर्तीमा कति होलान् ? वा मर्न नसकेका तर मरेतुल्य जीवन बिताइरहेकाहरूको अवस्था कस्तो होला ?
जीवनप्रतिको दृष्टिकोण र मानव चेतनाको संकेत हो आत्महत्या । गहिरोसँग हेर्ने हो भने पश्चिमाहरूको देन हो मान्नुपर्छ आत्महत्या । पश्चिमाहरूको जीवनदृष्टि अत्यन्त नकारात्मक छ । रोमकालीन साहित्य र सुकरात, प्लेटो र अरस्तुकालका नाटकहरू दुखान्त छन् । यो प्रचलनको चरम प्रयोग शेक्सपियरका रचनामा पाइन्छ । क्रमशः सात्रले उठाएको निस्सारवादी सिद्धान्तले एकताका सारा युरोप अमेरिकालाई गाँज्यो । हिप्पी कल्चरले धेरै पछिसम्म समाजमा सामाजिक उत्तरदायित्व विहीनताको संस्कारको जग बसायो जसबाट पश्चिमा अझैं उम्कन सकेका छैनन् । डिप्रेसन र फ्रस्टे«सनको पूजा गर्ने पश्चिमा चेतनाका सबैभन्दा ठूला अरू उपज पनि भए । चित्रकार पाब्लो पिकासोका चित्रहरूमा उसकै भित्रको विषाक्तता र अवसाद चित्रित छन् । स्वयम्को जीवनको चेतनाको स्तर यौन र डरभन्दा माथि उठ्न नसकेको फ्राइडको दर्शनमा पश्चिमा मनोविज्ञान उभिएको छ, जसले जीवनमा ध्यान र योगबारे केही थाह पाएन । पश्चिमी समग्र मानव चेतना घोर निराशावादी र भौतिकवादी छ । यसैले दुईवटा विश्वयुद्ध निम्त्यायो । आज पनि युरोपअमेरिकालाई विश्वमा धाक र आधिपत्य जमाउने ह्याङओभर छुटेको छैन । पश्चिमी चेतनाले जीवनलाई भौतिकीको सगरमाथामा पु¥याए पनि त्यहीँबाट हाम फलेर आत्महत्या गर्ने गरेका उदाहरणले इतिहास भरिएको छ । परमाणु बमको आविष्कार नै विश्व ध्वस्त गर्नका निम्ति भएको विश्वले महसुस ग¥यो । ती युद्धहरूमा लडाईंमा जति विमान ध्वस्त भए त्यति बिमान हालसम्मका दुर्घटनामा पनि परेका छैनन् होला । पश्चिमको मानव चेतना त्यहाँको धर्म, संस्कृति, परम्परा, साहित्य र शिक्षा सबै अन्ततः निस्सारतामा पु¥याउने खालको छ । जीवनमा देखापर्ने यो खोक्रोपनले अन्तत्वगत्वा आत्महत्यातिर लैजान्छ नै । सबै आत्महत्या गर्न सक्षम हुँदैनन् तर विस्तारैविस्तारै आत्महत्याको अभ्यास गरिरहेका मान्छेको रूपमा पश्चिमी देशको मानव चेतनाले यात्रा गरिरहेको छ । ग्लोबलाइजेशनमा हाम्रो देश यिनको समग्र प्रभावमा गाँजिएको छ । पश्चिमको प्रभावमा गाँजिएकै कारण हो कि हाम्रो किशोर आफ्नो आत्महत्याको नोटमा अंग्रेजीपाराको फिल्मी वाक्य लेख्छ–‘आई क्विट’ ।
पूर्वीय दर्शनमा हाम्रा ऋषिमुनिहरूले उहिल्यै आत्महत्याको निन्दा गरेका छन् । आत्महत्या गर्नेले कहिल्यै मुक्ति पाउँदैन र करोडौं वर्ष योनी नपाएर भड्किरहनुपर्छ भन्ने डर देखाएर होस् वा मोक्ष प्राप्तिका लागि ध्यान, ज्ञान, भक्ति र कर्मयोग सिकाएर होस् जीवनको समग्र सुन्दरता चिनाउनु पूर्वीय दर्शनको सार हो । वेदकालमै साहित्य सुखान्त हुनुपर्छ भन्ने सिद्धान्त प्रतिपादित भएको हो । त्यसमा पनि साहित्य, संगीत, चित्र, संस्कार र परम्परामा सत्यम् शिवम् र सुन्दरमको भाव, हितको भाव र ओज र प्रसाद गुण हुनुपर्छ भन्ने अनिवार्यता बनाइएको थियो । पूर्वीय परम्परामा बरू ऋषिमुनि, योगी, तपस्वीले हाँसीहाँसी प्राणदान गरेको वा जलसमाधि लिएका प्रसङ्ग छन् तर बाध्यताले आत्महत्या गर्नुपरेका प्रसङ्ग भेटिँदैनन् ।
समग्रमा भन्ने हो भने जबसम्म समाज पूर्वीय दर्शनचेतनाको योग, ध्यान, ज्ञान, समाधि, भक्ति कर्मयोग आदि वैदिक ऋषि परम्पराको स्कूलिङमा समाज जाँदैन र सोअनुसारको जीवनशैली निर्वाह गर्दैन तबसम्म हामी सदैव अलिअलि आत्महत्या गरिरहेका मानिसभित्र परिरहनेछौं ।