महानगरको पाँचौं स्तम्भ

टीएस ठकुरी
गाई प्रकरणमा संवेदनशील देखिएका नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमसेर राणाले पत्रकारहरुसँगको पछिल्लो भेटमा शहरीकरणका लागि चार अवयवको व्याख्या गरे । शिक्षा, स्वास्थ्य, उद्योग (व्यापार) र पर्यटन ।

एउटा बलियो घर निर्माणका लागि जसरी चारवटा पिलर बलिया हुनुपर्छ, एउटा ठाउँले ‘समृद्धिको बाटो’ समात्न पनि यी चार क्षेत्र समृद्ध हुनुपर्छ । मेयरको तर्क सायद यही हो ।

मेयरका यी तर्कसँग असहमति राख्नुपर्ने कारण केही छैन । साविक मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षा, स्वास्थ्य, उद्योग व्यापार र पर्यटनका विकासक्रमका हिसाबले नेपालगन्ज प्रमुख केन्द्र हो लामो समय । जुन विरासत नेपालगन्जले अहिले पनि पछ्याइरहेको छ । यी चार विधामा नेपालगन्ज अन्य सहरका तुलनामा साँच्चिकै समृद्ध छ । अझ भन्ने हो भने प्रदेश नंं. ५, ६ र ७ का कुनै पनि मुकामभन्दा अग्रणी छ आजको दिनसम्म प्रशासनिक कार्यालय बाहेक । नेपालगन्ज आफैं पर्यटकीय हब हैन, मध्य तथा सुदुरको प्रवेशद्वार हुनुका नाताले यो पर्यटन फस्टाएको सहर अवश्य हो । मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्ज डराएको छ । कता कता हराएको छ । जताततै चुनौति देख्दैछ । तैपनि नेपालगन्ज बोल्दैन । त्यसैले नेपालगन्जलाई कसैले निदाएको सहर भने, कसैले सपनाविहिनको सहर भने । ३६५ घरधुरीबाट बिस्तार हुँदै गएको नेपालगन्ज महानगरको यात्रामा अघि बढेको चाहि सत्य हो । महानगरको अर्को अर्थ समृद्धि पनि हो । समृद्ध सहरको परिचय शिक्षा, स्वास्थ्य, साहित्य, सिनेमा, खेलकुदको स्तर पनि हो । विकास र समृद्धिको महानगरको परिचय हो । सडक, बिजुली, पिउने पानी आदि अनिवार्य शर्त हुन् महानगरमा । नेपालगन्जको महानगर यात्रा धेरै टाढा छैन । नेपालगन्जले शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, खेलकुद, विकास पुर्वाधार लगायतमा छलाङ् मार्ने संकेत गरिसकेको छ । सत्य यही हो ।

तर सत्य यो पनि हो –‘जहाँ चुनौति छ, त्यहाँ अवसर हुन्छ’ । चुनौतिलाई छिचोल्दै त्यसलाई अवसरमा बदल्न सके समृद्धिको बाटो समात्न सकिनेमा कहींकतै द्विविधा हुँदैन । संसारको नियम पनि यही हो ।
मेयर राणाले इंगित गरेका चार सेक्टर बाहेक नेपालगन्जमा म अर्को सम्भावना देखिरहेको छु । त्यो हो खेलकुद । सरकारले आयोजना गर्ने बृहत राष्ट्रिय खेलकुदका दुई संस्करण आयोजना गर्ने सहर संघीय राजधानी काठमाडौंपछि नेपालगन्ज एक मात्र पुरानो सहर हो । के यो सानो सम्पत्ति हो? फेरि दुवै संस्करण विवादरहित ढंगले सम्पन्न गरेको सन्देश प्रवाह गर्न सफल सहर पनि हो । तसर्थ कतिपय आगन्तुकले भने पनि सुनियो –‘नेपालमै सर्वाधिक गर्मी हुने सहर भनेर सुनेको, तर ठुला खेलकुद आयोजना गर्ने सहर पो रहेछ ।’ नेपालगन्जीयाका लागि यो गौरवको बिषय हैन र?

सोमबार मात्र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं ५ को कार्यालयले खेलकुद संरचना सञ्चालन सम्बन्धि कार्यविधि सार्वजनिक गरेको छ । जसमा फुटबल स्टेडियम, कभर्डहल, सुटिङ रेन्ज, पौडी पोखरी, भारोत्तोलन जिम हल, बास्केटबल कोर्ट र ह्याण्डबल मैदान के कस्तो सेवा शर्तमा सरकारी तथा नीजि क्षेत्रलाई उपलब्ध गराउन सकिन्छ भन्ने उल्लेख छ ।

सरकारी तथा नीजि क्षेत्रका लागि सशुल्क उपलब्ध गराउनेगरी नियम निर्धारण गरिएको छ । खेलाडी तथा सर्वसाधारणलाई नियमित अभ्यास तथा प्रशिक्षणको व्यवस्था कसरी मिलाउने भन्ने पनि सशुल्क व्यवस्था गरिएको छ । प्रशिक्षण केन्द्र निर्देशक जयन्त कुमार शर्माले पत्रकारहरुसँग भने–‘धेरै खेल एकैपटक एकै थलोमा खेलाउन सकिने आजको दिनसम्म नेपालमै नेपालगन्ज मात्र हो ।’ निर्देशक जयन्त कुमार शर्मा राष्ट्रिय खेलकुद परिषदमा एक मात्र प्रथम श्रेणीका प्रशिक्षक हुन्, जो नेपालगन्जमै रहेर खेलकुद विकासमा समर्पित छन् । ‘भौतिक संरचना संरक्षण तथा व्यवस्थित सञ्चालन गर्नका लागि शुल्क निर्धारण गरिएको हो ।’ उनले भने–‘यो हाम्रो सम्पत्ति हो, तपाईं हामी मिलेर नै यसको संरक्षण गर्नुपर्छ ।’ यो अभियानमा सघाउन उनले सबै नेपालगन्जवासीलाई आह्वान पनि गरे । उनी स्वयं घरबारीटोल निवासी हुन् । घरबारीटोल नेपालगन्जको त्यस्तो बस्ती हो, जहाँ घरैपिच्छे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्मिएका छन् । अझ तीन जना ओलम्पियन जन्माएको टोल पनि हो घरबारीटोल । यो पनि समग्र नेपालगन्जको सम्पत्ति हो ।

नेपालगन्ज रंगशाला परिसरमा फुटबल, भलिबल, भारोत्तोलन, सुटिङ, पौडी, भारोत्तोलन, बास्केटबल र ह्याण्डबलका अन्तर्राष्ट्रिय स्तरका संरचना करिब तयारी अवस्थामा छन् । मार्सलआर्ट्सका बिभिन्न विधाको प्रशिक्षण समेत सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छ । प्राय खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना तयारी अवस्थामा छन् । तसर्थ यो नेपालगन्जका लागि ठुलो सम्पत्ति हैन र?

खेलकुद अरुभन्दा नितान्त फरक विधा पनि हो । अन्य सबै क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्न लालायित हुन्छ, खेलकुदमा भने राज्यले लगानी गर्नैपर्छ । अहिलेसम्मको अभ्यास पनि यही हो । नेपालगन्ज रंगशाला परिसरका सम्पुर्ण संरचना निर्माणमा पनि नेपाल सरकारको पुर्ण लगानी हो । आठौं राष्ट्रिय खेलकुद सञ्चालनार्थ विनियोजित रकमले यी सबै पुर्वाधार निर्माण भएका हुन् ।

उद्योग र पर्यटन त बिशुद्ध नाफामुलक व्यापार हो । पछिल्लो केही बर्षयता शिक्षा र स्वास्थ्य पनि व्यापारमा परिणत भइसकेका छन् । भन्नलाई सेवामुलक भनिएपनि अब नाफाको व्यापार गरिने क्षेत्र हुन् शिक्षा र स्वास्थ्य । तसर्थ विद्यालय र अस्पताल नीजि क्षेत्रले ठुलो लगानीमा संचालन गरिरहेको पाइन्छ । यी क्षेत्रलाई अब राज्यले प्रभावकारी नियमन मात्र गरे पुग्छ । राज्यले प्रोत्साहित गर्ने र प्रभावकारी नियमन गरे नीजि क्षेत्रको लगानी भइरहने सम्भावना उत्तिकै छ ।

उता खेलकुद विधा राज्यकै लगानी हुनुपर्ने आधारभुत सिद्धान्त जस्तै भएको हुँदा स्थानीय सरकारको समेत चासो हुनुपर्छ । सिद्धान्तत नभएपनि व्यवहारमा खेलकुद अब मानिसको आधारभुत आवश्यकता जस्तै हो । बच्चा जन्मनेबित्तिकै शारीरिक तन्दुरुस्ती आवश्यक छ, उसलाई यताउता चल्न दिनुपर्छ । चल्ने बनाउनुपर्छ । हरेक मानिस बिहान उठ्नेबित्तिकै बिहानीको हिंडाई वा दिनभर शारीरिक हिसाबले चलायमान हुन्छ । त्यो पनि खेलकुदको एक हिस्सा हो । भनिन्छ नि खेलकुद स्वास्थ्यका लागि हो । राज्यले नै निर्धारण गरिदिएको छ –‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ।’ खेलकुद यी दुई उद्देश्य पुर्तिका लागि मात्र खेलिन्छ ।

खेलकुद भनेको नितान्त स्वास्थ्यका लागि र राष्ट्रका लागि हुन्छ । नेपाली खेलकुदको नारा नै छ–‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ।’ संसारमै खेलकुदको मोडल करिब यस्तै हो । पुर्वाधार निर्माणमा राज्यले लगानी गर्छ, संरक्षण संवद्र्धन र संचालनमा नीजि क्षेत्रलाई समेत प्रेरित गर्छ । त्यसकारण यो अलिक फरक विधा भनिएको हो । आधारभुत आवश्यकता भनिएको हो ।

आधारभुत आवश्यकताको परम्परागत सूची भनेको गास, बास र कपास थियो । त्यसको अर्थ खाना(पानीसहित), आवास र लत्ताकपडा । आधुनिक सूचिमा खाद्य, पानी, कपडा, आश्रय मात्र हैन, सरसफाई, शिक्षा, स्वास्थ्यसेवा र इन्टरनेटको आधारभुत आवश्यकताको उपभोगको न्युनतम स्तरमा जोड दिने गरिएको छ । कोपेनहेगनमा सामाजिक विकास सम्बन्धी विश्व शिखर सम्मेलनले यसको प्रमुख घोषणाको रुपमा भनेको छ कि विश्वका सबै राष्ट्रहरुले निरपेक्ष र सापेक्ष गरिबी दुवैको उपायको विकास गर्नुपर्दछ र प्रत्येक देशले तोकेको मितिबाट निरपेक्ष गरीबी उन्मुलन गर्न राष्ट्रिय नीतिहरु बनाउनुपर्दछ ।
देश संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार छन् । त्यसमा स्थानीय सरकारको जिम्मेवारी र दायित्व बढ्ता छ । कार्यावधि सुनिश्चित हुनुका नाताले पनि स्थानीय सरकारले निश्चित योजना लागु गर्न सक्छ ।

हरेक खेलको विरासत बोकेको नेपालकै छैटौं पुरानो सहर नेपालगन्जले खेलकुदलाई पाँचौं स्तम्भका रुपमा सम्बोधन गर्नसक्छ । यो सबै विधाको मियो बन्न सक्छ । किनकी अब खेलकुद भनेको शिक्षा हो, स्वास्थ्य हो, उद्योग हो र पर्यटन पनि हो ।

हरेक मानिसलाई जात, धर्म र सम्प्रदाय भन्दा माथि उठ्न प्रेरित गर्छ, तसर्थ यो शिक्षा हो । मानिसलाई तन्दुरुस्त रहने कला सिकाउँछ, ज्ञान दिन्छ । तसर्थ यो स्वास्थ्य हो । खेलको विकासक्रमसँगै ठुलो लगानीको क्षेत्र बन्दैछ, तसर्थ यो उद्योग हो । साथै खेलकुदले मानिसलाई हरेक ठाउँको भ्रमण गराइरहन्छ, तसर्थ यो पर्यटन हो । हुनत, खेल पर्यटनले आफ्नै स्वरुप धारण गरिसकेको अवस्था पनि एकातिर छ, अर्कोतिर यसले सबैका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्न बाध्य बनाउँदै पनि लगेको छ ।

खेलकुदलाई सुक्ष्म ढंगले अध्ययन गर्ने हो भने यो सबैको लागि आधारभुत आवश्यकता बनिसकेको छ । विकास र समृद्धिको पर्याय हो खेलकुद । अब विकासका यी सबै सुचकहरुको मियो बन्न सक्छ खेलकुद । दाईं गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बालाई मियो भनिन्छ । हो, खेलकुद नेपालगन्जको मियो बन्न सक्छ । सबैलाई चेतना भया । सबैको जय होस ।

प्रतिक्रिया

प्रतिक्रिया