नेपालगन्जको पुष्पलाल चोकमा होटल व्यवसायी संघ बाँके नेपालगन्जको अगुवाईमा स्थानीय व्यवसायीहरु पर्यटकका लागि इजाजत लिएर यात्रुको अवैध ओसारपसार गर्ने बस रोक्दै । (तस्विर ः दैनिक नेपालगन्ज)
नेपालगन्ज – विभिन्न पहाडी जिल्लाबाट नेपालगन्ज हुँदै भारतका सहरहरुमा पर्यटकका नाममा यात्रुको अवैध ओसारपसार गर्ने कामलाई स्थानीय प्रशासनले रोक लगाएको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्जको अगुवाईमा पटकपटक भैरहेको प्रयासमा स्थानीय प्रशासनले सर्वपक्षीय पहल लिई रोक लगाएको हो । ‘कार्यान्वयनमा इमान्दारिता देखियो भने हाम्रो प्रयास सफल भएको छ’, संघका अध्यक्ष भीमलाल कंडेलले सोमबार भएको सर्वपक्षीय बैठकको निर्णय सुनाउँदै भने, ‘यो नेपालगन्जका लागि मात्र नभई सीमावर्ती सहरहरुको समस्या समाधानको पहलकदमी हो ।’
खासगरी राप्तीका विभिन्न पहाडी जिल्ला सँगै दाङ्ग, अर्घाखाँची लगायतका जिल्लाबाट भैरहवा, कपिलवस्तु, नेपालगन्ज नाका हुँदै भारतका दर्जन बढी सहरमा सोझै बस सञ्चालन सुरु भएपछि समस्या उत्पन्न भएको हो । पर्यटक बसको अस्थायी इजाजत लिंदै स्थानीय बसहरु भारतका सहर जान थालेपछि समस्या सिर्जना भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका थिए ।
यातायात व्यवसायीहरुले समेत जिल्ला–जिल्लाबाट भारतका सहरमा सोझै बस सञ्चालन हुँदा सुरक्षा जोखिमदेखि भारतीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना गुनासो गर्दै आएका थिए । ‘सीमावर्ती सहरबाट भारतका सहरहरुमा यातायात सञ्चालन भन्दा यात्रुहरुलाई सुविधा हुनसक्छ’, भेरी यातायात व्यवसायी प्रा.लि.का सञ्चालक शोभाखर पौडेलले भने, ‘तर, रुकुम, रोल्पा, सल्यान, प्युठान जस्ता जिल्लाबाट सोझै सीमला, पञ्जाब, दिल्ली जस्ता सहरमा गाडी पुर्याउँदा स्थानीय व्यवसाय धराशयी हुन्छ ।’
यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अगुवाईमा यसखालका यातायात सञ्चालनमा वैध वा अवैध भएको एकीन गरी कानुन विपरित कार्य रोक्न बाँके प्रहरीलाई जिम्मा दिइएको थियो । तर, त्यसतर्फ प्रहरी र यातायात व्यवस्था कार्यालय गम्भीर नहुँदा होटल व्यवसायी संघले त्यसखालका बस रोक्न हस्तक्षेप गर्न थालेको थियो । ‘तीन दिनयता मात्रै दर्जन बढी गाडी रोकेका छौं’, सोमबार दुई वटा गाडी ट्राफिकको जिम्मा लगाएका होटल व्यवसायी संघका अध्यक्ष कंडेलले भने, ‘प्रशासनको पछिल्लो निर्णय कार्यान्वयन भयो भने आक्रोशित भीडले गर्ने कारवाही प्रति संघ जिम्मेवार हुनेछैन ।’
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सोमबार तीन बुंदे निर्णय गर्दै त्यसबारे यातायात व्यवस्था विभागमा जानकारी गराउने सहमति गरेको छ । ‘नेपाल–भारत मैत्री बसहरु बाहेक अन्य साधन भारत जाँदा जुन प्रयोजनका लागि सोही प्रयोजनमा मात्र सञ्चालन गर्नुपर्ने’ निर्णय गर्दै सर्वपक्षीय नेपालबाट भारत तर्फ जाने सवारीसाधनहरुको यात्रु सूची इलाका प्रहरी कार्यालय जमुनाहले राख्ने फर्किंदा परिचय खुल्ने कागजात सहित एकीन गर्ने निर्णय पनि गरिएको छ । ‘यसको कार्यान्वयन भैदियो भने महत्वपूर्ण उपलब्धी हुनेछ’, यातायात व्यवसायी पौडेलले भने ।
विभिन्न पहाडी जिल्लाबाट दैनिक नेपालगन्ज नाका हुँदै भारतका विभिन्न सहरमा यात्रु ओसारपसार गरिंदा बजार शुन्य हुँदै गएको गुनासो आएपछि होटल व्यवसायी संघले अवैध कार्य रोक्न अग्रसरता देखाएको हो । सोमबारको सर्वपक्षीय बैठकमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वस्तुगत व्यवसायी संघका अध्यक्ष भीम बहादुर रानाभाट, भेरी यातायात प्रा.लि.का अध्यक्ष राजेन्द्र गिरी, बाँके प्रहरी प्रमुख, ट्राफिक प्रमुख, यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख लगायतको सहभागिता रहेको थियो ।