नेपालगन्ज – नेपालगन्ज रंगशाला अब सबैका लागि खुल्ला हुने भएको छ । आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर झण्डै ५० करोडको भौतिक पूर्वाधार निर्माण भएपछि सुविधा सहित सर्वसाधारणका लागि रंगशाला खुला हुने भएको हो । ‘पूर्वाधार व्यवस्थापनका लागि कार्यविधि बनाइएको छ’, राष्ट्रिय खेलकुद परिषद् मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति प्रशिक्षण केन्द्रका निर्देशक जयन्त कुमार शर्माले सोमबार पत्रकारहरुसँग भने, ‘कार्यविधि अन्तर्गत रही सबैका लागि पूर्वाधार सुविधा प्रयोग गर्न दिइने निर्णय भएको छ ।’
पूर्वाधार उपयोगका लागि बनाइएको कार्यविधि अनुसार, आगामी असोज १ गतेदेखि रंगशाला सबैका लागि उपयोगी हुनेछ । ‘रंगशाला परिसर भित्र आउँदा प्रत्येकलाई मर्यादित र सम्मानित महसुस गर्ने वातावरण बनाउन खोजिएको छ’, निर्देशक शर्माले कार्यविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘कार्यविधि कार्यान्वयनसँगै रंगशाला परिसरलाई खेलकुदको मन्दिरका रुपमा स्थापित गर्न चाहन्छौं ।’ यसअघि भीम ओली नेतृत्वको खेलकुद विकास समितिले कार्यविधि स्वीकृत गरेको थियो । जुन कार्यविधि शर्मा नेतृत्वको उपसमितिले मस्र्यौदा गरेको हो ।
नेपालगन्ज रंगशाला परिसरमा रहेका विभिन्न खेल पूर्वाधारका लागि सशुल्क सुविधा दिने व्यवस्था कार्यविधिमा छ । त्यसका लागि खेलाडी र सर्वसाधारणलाई अलगअलग मापदण्ड बनाइएको छ । त्यस्तै, २५ बर्षसम्मका विद्यार्थीहरुका लागि सहुलियतको व्यवस्था पनि गरिएको छ । नियमित प्रशिक्षणमा रहेका खेलाडी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी, खेलकुद पदाधिकारी एवं संघका अध्यक्षहरुलाई अझ विशेष सहुलियतको व्यवस्था गरिएको छ ।
खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा खेलाडी तथा सर्वसाधारणबाट संकलन हुने शुल्क छुट्टै कोषको स्थापना गरी जम्मा गरिनेछ । ‘उक्त शुल्क रंगशालाको व्यवस्थापनका लागि खर्च गरिनेछ’, प्रशिक्षण केन्द्रका निर्देशक शर्माले भने, ‘असोज १ देखि परिचय पत्र विना कसैलाई पनि रंगशालामा प्रवेश गर्न दिइनेछैन ।’ हाल निर्वाध प्रवेशले भौतिक पूर्वाधार सुरक्षाको समेत जोखिम रहेकाले कार्यविधि लागुभएसँगै रंगशाला सुरक्षित हुने बताए ।
अब विभिन्न प्रतियोगिता आयोजना गर्दा वा प्रशिक्षणका लागि दर्ता शुल्क तिरेर परिचय पत्र बनाउनु पर्नेछ । जसका लागि केही शुल्क समेत खेलकुद विकास समितिले निर्धारण गरेको छ । नेपालगन्ज रंगशाला प्रयोगका लागि २ हजारदेखि ३० हजारसम्म शुल्क तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । रंगशाला प्रयोगमा राखेपलाई प्रतिदिन २ हजार, खेलकुद संघका लागि प्रतिदिन ५ हजार, खेलसँग आबद्ध नभएका संघ, संस्थाका खेलकुद कार्यक्रमका लागि प्रतिदिन १० हजार र खेलकुद बाहेक अन्य कार्यक्रमका लागि प्रतिदिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
नेपालगन्ज कबर्ड हलको प्रयोगका लागि प्रतिदिन ५ सयदेखि २० हजारसम्म शुल्क तोकिएको छ । राखेपका खेल कार्यक्रमका लागि प्रतिदिन ५ सय, खेलसँग आबद्ध खेकलुद संघका लागि प्रतिदिन २ हजार, खेलसँघ आबद्ध नभएका संघ, संस्थाका लागि प्रतिदिन ५ हजार र खेलकुद बाहेकका अन्य कार्यक्रमका लागि २० हजार प्रतिदिन शुल्क खेलकुद विकास समितिले कबर्ड हलका लागि तोकेको हो । जसमा विद्युत शुल्क अतिरिक्त लिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पौडी पोखरी सञ्चालनका लागि राखेपबाट कुनै निर्देशन प्राप्त भएको छैन । ठेकेदारबाट पनि पौडी पोखरी हस्तान्तरण छैन । त्यसैले प्रतियोगिता बाहेकका लागि पौडी पोखरी खुला गरिएको छैन । राखेपले आयोजना गर्ने प्रतियोगिताका लागि दैनिक १ हजार, खेलकुद संघका लागि प्रतिदिन ५ हजार, खेल सँग आबद्ध नभएकाहरुका लागि प्रतिदिन १० हजार शुल्क निर्धारण कार्यविधिले गरेको छ ।
भारोत्तोलन र सुटिङ्गका लागि राखेपलाई प्रतिदिन ५ सय, खेलकुद संघलाई प्रतिदिन २ हजार, खेलकुद आबद्ध नभएका खेलकुद कार्यक्रमका लागि प्रतिदिन ३ हजार शुल्क निर्धारण गरिएको छ । ह्याण्डबल र बास्केटबल मैदानका लागि राखेपका लागि २ सय, खेलकुद संघलाई ५ सय प्रतिदिन र खेलकुद सँग आबद्ध नभएकालाई १ हजार प्रतिदिन शुल्क तोकिएको छ । बास्केटबल खेलकुद बाहेक अन्य कार्यक्रमका लागि ३ हजार प्रतिदिन तोकिएको छ ।
खेलकुद विकास परिषद्ले साधारण व्यक्ति तथा विद्यार्थीहरुका लागि दर्ता शुल्क र बार्षिक शुल्क तोकेको छ । ब्याडमिन्टन, जगिङ्ग, भारोत्तोलन, बास्केटबल जस्ता खेलका लागि शुल्क निर्धारण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति प्रशिक्षण केन्द्रका निर्देशक शर्माले नियमित प्रशिक्षणमा रहेका २५ बर्षसम्मका खेलाडी, राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीका लागि भने विशेष छुट दिने बताएका छन् । उनका अनुसार, नियमित प्रशिक्षणमा रहेका खेलाडीले बार्षिक ६ सय दर्ता शुल्क र राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी, पूर्व खेलकुद कर्मचारी, पदाधिकारी एवं संघका अध्यक्षहरुले बार्षिक १ हजार २ सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । उनीहरुलाई मासिक शुल्क भने नलिने खेलकुद विकास परिषद्ले जानकारी दिएको छ ।
व्यक्तिगत तर्फ दर्ता शुल्क ५ हजारसम्म कायम गरिएको छ भने मासिक शुल्क ५ सयसम्म रहेको छ । २५ बर्षसम्मका विद्यार्थीका लागि दर्ता शुल्क ५ सय र मासिक शुल्क १ हजारसम्म तोकिएको छ ।