नरैनापुरमा बञ्चरो हानाहान, एक घाइते

नेपालगन्ज – बाँके नरैनापुर गाउँपालिका वडा नं.४ मा रहेको बरफानी बाबा कुटीको गौशालाबाट गाई चोरी गर्न खोज्दा उत्पन्न भएको विवादमा एक जना घाइते भएका छन् ।

हिजो साँझ ४ बजेको समयमा कुटीबाट गाई चोरी गरी लैजान खोज्दा भएको विवादमा परि गाई चोरी गर्ने तर्फका नरैनापुर–४ बालापुर बस्ने साविर खाँ घाइते भएका हुन् । उनको टाउको र खुट्टामा धारिलो हतियारले काटिएको देखियो, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक मान बहादुर बि.सी.ले बताए ।

गाई चोरी गर्न पुगेका मध्ये नरैनापुर ४ बस्ने दिलदार नाउ, महियदीन खाँ र सैदवान खाँ फरार रहेको र घाइते साविर खाँलाई उपचारका लागि आज नेपालगन्ज मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नताको आशंकामा दुई जना भारतीय नागरिक पक्राउ परेको इन्चार्ज बि.सी.ले बताए । अनुसन्धानका क्रममा दुईजना गाई चराउने ब्यक्तिलाई ल्याएका छौं, उनले भने, भारत श्रवास्ती जिल्ला मल्हीपुर बस्ने अम्मर लाल पासी र भिन्गा बस्ने हिरन पासीलाई नियन्त्रणमा लिइएको हो ।

मुस्लिम समुदायको पर्व मोहर्रमको उल्लास जारी रहँदा साम्प्रदायिक विवाद उत्पन्न हुने किसिमले घटना भएपछि प्रहरी सतर्कता पूरै क्षेत्रमा बढाइएको छ, इन्चार्ज बिसीले भने, सम्भावित विवाद हुन सक्ने स्थानको पहिचान गरि सुरक्षा कडा पारिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया