मोटरसाईकलबाट भाग्न खोज्दा गोली हान्नु प¥यो ः प्रहरी नायव उपरिक्षक
नेपालगन्ज – डाँका चोरी मुद्दाका एक फरार ब्यक्तिलाई गोली हानेको बिषयमा प्रहरी र गोली लागेका फरार ब्यक्तिको आ–आफ्नै दावी रहेको छ । घटना बारे बुझ्न गएको मानव अधिकारकर्मीको टोली समक्ष बर्दिया जिल्ला अदालत र नेपालगन्ज उच्च अदालतबाट डाँका चोरी मुद्दामा दोषी ठहर भै फरार रहेका जुम्लाका नरेन्द्र न्यौपानेले आफुलाई प्रहरीले नियन्त्रणमा लिइसके पछि गोली हानेको दावी गरेका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले पक्राउ गरि कोहलपुर तर्फ ल्याउँदै गर्दा मोटरसाईकलबाट भाग्न खोजेकाले गोली हान्नु परेको बताए । गोली प्रकरण बारे सञ्चार माध्याममा समाचार सार्वजनिक भए पश्चात घटनाको स्थलगत अध्यनन गरिएको अनुगमनमा संलग्न राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख चन्द्रकान्त चापागाईले जानकारी दिए । अनुगमनमा आयोगका चापागाई संगै इन्सेकका प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतम, नेपालगन्ज उच्च बारका पुर्व अध्यक्ष बल बहादुर चन्द, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमारी ठकुरी र पत्रकार दामोदर भण्डारी संलग्न थिए ।
अनुगमन टोलीले प्रहरीको गोलीले घाइते भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराई रहेको नरेन्द्र न्यौपाने, निजको उपचारमा संलग्न डा. दिनेश श्रेष्ठसंग गोली प्रकरण र भैरहेको उपचार बारे जानकारी लिएको थियो । यस क्रममा अदालतबाट दोषी ठहर भै फरार रहेका नरेन्द्र न्यौपानेले प्रहरीले आफुलाई नेपाल भारत सिमा क्षेत्र जमुनाहा नाकाबाट पक्राउ गरेको बताए । पक्राउ पश्चात प्रहरीले मोटरसाइकलमा राखी इप्रका कोहलपुर ल्याउने क्रममा नेपालगन्जको कारकाँदो चोकमा रोकी वायाँ खुट्टाको घुडा मुनी गोली हानेको दावी गरेका थिए ।
प्रहरीको भनाइ भने उक्त भनाइको उल्टो रहेको थियो । प्रहरीले मोटरसाइकलमा राखी कोहलपुर तर्फ ल्याउँदै गर्दा मोटरसाइकलबाट भाग्न खोजेकाले नियन्त्रणमा लिन गोली हान्नु परेको जनाएको छ । गोली चलाउनु पर्नाको कारण बारे अधिकारकर्मीले राखेको जिज्ञासामा इप्रका कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले मोटरसाइकल राखी कोहलपुर तर्फ ल्याउदै गर्दा भाग्न खोजेकाले नियन्त्रणमा लिन प्रहरी गोली हान्नु परेको प्रतिक्रिया दिए ।
अनुगमनका क्रममा अधिकारकर्मीको टोलीले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीसंग हिरासतको अवस्था, थुनुवा उपर गरिने प्रहरीको मानवोचित ब्यवहार, खानाको गुणस्तर लगायतका मनव अधिकारका बिषयमा छलफल गरिएको अनुगमनमा संलग्न अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।