खम्वप्रसाद पुन / नेपालगन्ज- बाँकेको कोहलपुरमा ९ करोडको लगानीमा घण्टा घर सहितको भ्यू टावर निर्माण हुने भएको छ । कोहलपुरको गोलपार्कमा १० तल्लाको लिफ्ट सहितको सुबिधा सम्पन्न भ्यू टावरको पहिलो चरणको काम ५६ लाखको लागतमा फाउण्डेशनकोे कार्य भैरहेको छ ।
कोहलपुर नगरपालिका र कोहलपुर नगर बिकास समितिको संयुक्त लगानीमा २ बर्षमा सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको हो । हाल कोहलपुर नगरपालिकाले निर्माण गर्न लागेको भ्यू टावर ५५ लाखको लागतमा फाउण्डेशनको कार्य भैरहेको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनले यसपछि एकै पटक करिब ५ करोडको टेण्डर आब्हान गरी दोश्रो चरणको कार्य सञ्चालन गर्ने बताउदै बढीमा २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताए । १० तल्लाको उचाई रहने भ्यू टावरमा समयको जानकारी गराउने घडी राखिने बताउदै प्रमुख रावतले लिफ्टबाट माथि जान सकिने र भ्यू टावरबाट कोहलपुरको चारैतिर रमणिय दृश्यको अवलोकन गर्न सकिने बताए ।
कोहलपुर नगरपालिकाको गौरवको योजनामा परेको घण्टा घर सहितको भ्यू टावर ९ करोडको लागतमा बिस्तृत परियोजना प्रतिवेदन–डिपिआर) तयार भएको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले पहिलो चरणको कार्य सञ्चालन भैरहेको बताउदै सञ्चालक पनेरुले लिफ्ट सहितको सुबिधा सम्पन्न भ्यू टावर बन्ने जनाए । लिफ्टमा एक पटक १५ जना जान सक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै सञ्चालक पनेरुले टावरमा गएर दृश्यावलोकन गर्नको लागि एक पटकमा ५० जना जना सक्ने क्षमताको हिसाबले योजना तयार भएको जानकारी दिए । उनले घाम पानी केही पनि नभनीकन २ बर्षमा निर्माण कार्य सकेर उद्घाटन गर्ने गरी काम गर्ने बताए ।
कोहलपुरमा बन्दै गरेको भ्यूटावर ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने निर्माण हनेछ भने भ्यू टावर सञ्चालनमा आए कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने छ । भ्यूटावरमा कफी सपको समेत ब्यबस्था हुने आयोजकले जनाएको छ । भ्यूटावरबाट अवलोकन गर्न कोहलपुर नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर अवलोकन गर्ने ब्यबस्था हुने जनाइएको छ ।