नेपालगन्ज – ‘सहकारी संस्थाहरुले बचतकर्ताका रकम ठगिएका गुनासा बाहिर आउन थालेपछि हुलाक बचत बैंक प्रतिको चासो सर्वसाधारणमा ह्वात्तै बढेको छ’, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डेले सोमबार पत्रकार सम्मेलन नै गरेर भने ।
कर्मचारीको कम आकर्षण रहेको भनिने हुलाक कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनायता पाण्डेले आफुलाई हुलाक बचत बैंकलाई कसरी आकर्षक बनाउने भन्नेमा केन्द्रित भएको कुरा उनको प्रस्तुतिबाट प्रष्ट हुन्थ्यो । ‘त्यसो भन्दा हुलाकका सबै काम कारवाही र गतिविधि प्रभावकारी बनाउनेतिर म केन्द्रित छु’, झण्डै १० बर्षपछि औपचारिक पत्रकार सम्मेलन गरेको हुलाक पुग्दा सञ्चारकर्मीहरुसँग उत्साहित ढंगले प्रस्तुत भएका पाण्डेले भने, ‘संघीय सरकार मार्फतको यति धेरै कर्मचारी संयन्त्र भएको कार्यालय सम्भवत जिल्ला हुलाक कार्यालय हो ।’
कार्यालय प्रमुख पाण्डेले बाँके जिल्लाभरी जिल्ला हुलाक कार्यालय बाहेक ४६ वटा डाँक बाँध्ने स्थान, ३५ वटा अतिरिक्त हुलाक कार्यालय, ११ वटा इलाका हुलाक कार्यालयको सञ्जाल देखाउँदै भने, ‘प्रत्येक वडा स्तरमा हुलाकका कार्यालय व्यवस्थित छन् ।’ उनले नरैनापुरमा यसैसाता गाउँपालिका भएपछि वडा स्तरमा कार्यालय व्यवस्थापन गरेर फर्किएको जानकारी दिंदै भने, ‘राष्ट्रिय सूचना आयोगले जिल्ला स्थित सूचना अधिकारीहरुको अनुगमन गर्ने जिम्मेवारी पनि जिल्ला हुलाक कार्यालयलाई अख्तियार दिएको छ ।’
पछिल्लो एक बर्ष हुलाक बचत बैंकमा १ हजार ७ सय ५० जनाको १० करोड रकम निक्षेप संकलन भएको छ । हुलाक प्रमुख पाण्डेले बचतमा कर नलाग्ने भएकाले त्यसबारेको प्रचारप्रसारमा आफु केन्द्रित भएको जानकारी दिंदै निक्षेपमा ६ प्रतिशत ब्याजदर तथा ज्येष्ठ नागरिकका लागि थप १ प्रतिशत ब्याजदर सुविधा रहेको बताए । ‘चालु आर्थिक बर्षमा यो रकम ह्वात्तै वृद्धि हुने निश्चित छ’, पाण्डेले उत्साहित हुँदै भने, ‘छिटो छरितो पत्रहरुको वितरण व्यवस्थापन, सूचनाको हक अनुगमन, एमएम रेडियोहरुको नविकरण तथा केबल अपरेटरहरुको अनुगमन व्यवस्थामा कार्यालय सक्रिय छ ।’
कार्यालयलाई सञ्चार केन्द्रका रुपमा विकास गर्न पत्रकारहरुले सुझाव दिएका थिए । खासगरी नेपालगन्जमा बर्षौंदेखि रहँदै आएको सञ्चारकेन्द्र खारेज गरी जिल्ला हुलाक कार्यालय रुपन्देहीलाई कामको जिम्मेवारी दिएपछि बाँकेका सञ्चारमाध्यम समस्यामा छन् । ‘धेरै साथीहरुको प्रेस पास समेत यो समस्याले नविकरण हुन सकिरहेको छैन’, पत्रकारहरुले सञ्चारकेन्द्रको जिम्मेवारी रुपन्देही जिल्ला हुलाकले लिन सक्छ भने बाँकेलाई किन नदिने प्रश्न उठाएका थिए । त्यसबारे हुलाक कार्यालय प्रमुख पाण्डेले लिखित माग गरी आए आफुले सम्बन्धित ठाउँमा पठाउने जानकारी दिए ।