गाई बचाउँनै मुस्किल, कान्जी हाउसमा खाना अभाव

सुर्खेतबाट फिर्ता ल्याइएका मध्ये ९ गाई मृत्यु भइसकेको छ

कृष्ण अधिकारी
नेपालगन्ज उप महानगरपालिकाले छाडा चौपायाको ब्यवस्थापन गर्ने क्रममा सुर्खेत पु¥याइएका गाईहरु मरेको घटना राष्ट्रिय मुद्दा बन्यो । संघीय संसद समेत गाईको मृत्यु भएका घटनाको बारेमा आवाज उठ्यो । गाईहरु कुन उद्देश्यले सुर्खेत पठाइएको थियो ?
सुर्खेत पठाइएका गाईहरु कसरी मरेर वा मारिए भन्ने बिषयमा बिभिन्न छानबिन आयोगहरुले अध्ययन अनुसन्धान गरिनै रहेकाछन् । तर, कान्जी हाउसमा थुनेर राखिएका गाईको मृत्युका बारेमा भने धेरैको ध्यान पुगेको छैन ।

गाई बचाउनै मुस्किल देखिन थालेको छ । नेपालगन्जमा छाडा चौपायाको ब्यबस्थापन चुनौतिपूर्ण बन्दै जाँदा गाई जोगाउन मुस्किल देखिएको हो । नेपालगन्ज उप महानगरपालिकाले संचालन गर्दै आएको कान्जी हाउसमा दिनहुँ जसो चौपायाहरु मर्ने गरेका छन् । ती मध्ये बढी संख्या गाई छ । छाडा चौपायाहरुलाई प्रचन्ड गर्मीमा खुल्ला ठाउँमा थुनेर राख्ने गरिएको छ । ओत लाग्ने ठाउँसम्म छैन ।

चौपायालाई खानाका लागि घाँस,दाना, सफा खानेपानीका साथै हेरचाहको राम्रो ब्यबस्था नहुँदा ज्यान जाने गरेको हो । खुल्ला छाडिदिने हो सडक भरी चौपाया भएर ट्राफिक ब्यबस्थापन अस्तब्यस्त हुने, दुर्घटना बढ्ने, किसानहरुको खेतीबाली नोक्सान हुने समस्या छ । कान्जी हाउसमा लगेर राख्दा घाँस,दाना, सफा खानेपानीका साथै हेरचाहाको राम्रो ब्यबस्था पुराउने चुनौती धेरै छ ।

छाडा चौपायाको ब्यबस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा पर्याप्त अध्ययन अनुसन्धान उपयुक्त कार्ययोजना निर्माण गर्ने तर्फ भने खासै काम हुन सकेको छैन ।

नेपालगन्ज र कोहलपुर क्षेत्रमा मात्रै करिब १ हजार ४ सय छाडा चौपायाहरु छन । नेपालगन्ज उप महानगरपालिकाले छाडा चौपायाको ब्यबस्थापनका लागि कान्जी हाउसमा मात्रै ३ सय ६४ चौपाया छन । ठुलो संख्यामा रहेका छाडा चौपायाहरुलाई कान्जी हाउसका राखेर ब्यबस्थापन गर्न उप महानगरपालिकालाई हम्मेहम्मे परेको छ । दैलेख पठाउने क्रममा सुर्खेतमा चौपायाहरु मरे पछि २ सय ३३ वटा चौपायाहरु पुनः नेपालगन्ज फिर्ता ल्याइयो । सुर्खेतबाट फिर्ता ल्याइएका मध्ये ९गाईको मृत्यु भइसकेको छ भने आधा दर्जन भन्दा बढी घाइते अवस्थामा छन ।

कान्जी हाउसमा रहेका छाडा चौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले एक जना ब्यबस्थापक सहित ७ जना कर्मचारी खटाएको छ । कान्जि हाउसमा खटिएका कर्मचारीहरु दिन रात गाईको संरक्षणमा खटिएका छन । गाई लगायत छाडा चौपाया धेरै त्यहा कार्यरत कर्मचारी थौरै भएका कारण कर्मचारीहरुलाई भ्याइ नभभ्याई छ ।

घास, दाना, पानी, औषधी उपचार लगायतको ब्यबस्थापनका लागि उप महानगरपालिकाले दैनिक करिब २० हजार खर्च गर्दै आएको छ । तै पनि प्रायः हरेक दिन छाडा चौपाया मर्ने गरेका छन ।
गाइ मरे, मारिए भनेर चिन्ता ब्यक्ति गर्दै सामाजिक संजालमा कडा टिप्पणी गर्ने, छाडा चौपायाको ब्यबस्थापनमा खटिदै आएका जनप्रतिनिधि र कर्मचारीहरु माथि कारवाहीको माग गर्नेहरुको गाई लगायत छाडा चौपायाको संरक्षणको कार्यमा भने बिरलै देखिने गरेका छन ।

त्यसबीच, पशु अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाका साथै गाईलाई माया गर्ने बिभिन्न संघ संस्थाहरुले कान्जी हाउसको ब्यबस्थापन देखि घाँस, दाना, सफा खानेपानीका साथै हेरचाहको काममा सहयोग गर्न सुरु गरेका छन् ।

कान्जीहाउसमा रहेका घाइते तथा बिरामी पशुहरुको उपचारमा सहयोग गर्दै आएको एनिमल नेपालकी प्रतिनिधि रेखा श्रेष्ठले जानकारी दिइन् । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कान्जी हाउसलाई घाँस र दाना उपलब्ध गराएर सहयोग गरेको छ । गु्रपले कान्जी हाउसमा रहेका गाइहरुलाई हरेक महिना कम्तिमा एक दिन घाँस र दाना उपलब्ध गराएर सहयोग गर्ने लक्ष्य राखेको गु्रपका निर्देशक कृष्ण भण्डारीले बताए । ‘यसरी हरेक सम्भव संस्थाले हातेमालो गरे सहज व्यवस्थापन सम्भव हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ आइतवार घाँसपानी खुवाएपछि निर्देशक भण्डारीले दैनिक नेपालगन्जसँग भने ।
भारतबाट गाई अबैध रुपमा नेपाल भित्रने क्रम नरोकिने हो भने नेपालगन्ज लगायत तराइका जिल्लाहरुमा छाडा चौपायाको समस्या बढ्दै जाने छ । अहिले कै अबस्था कायम हुने हो भने छाडा चौपायाको ब्यबस्थापनमा मात्रै उप महानगरपालिकाको बार्षिक १ करोड भन्दा बढी खर्च हुने देखिएको छ ।

नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा. धवलसमशेर राणाले छाडा चौपायाको ब्यवस्थापनका लागि जिल्ला समन्वय समिति बाँकेको आकस्मिक कोषमा रहेको ७ करोडको लागतमा छाडा चौपायाको ब्यबस्थापनका लागि डिपिआर नै बनाएर ब्यवस्थापनको तयारीमा जुटेको बताए ।

आर्य समाजले निरन्तर गाई लगायत कान्जी हाउसका चौपायालाई दानापानी खुवाउन प्रयास गरिरहेको अभियन्ता श्यामकाजी शाक्य बताउँछन् । उनका अनुसार, चौपायाका लागि छानो हाल्ने काम गर्न थालिएको छ । नेपालगन्ज ग्यालेरी जस्ता बिभिन्न संघ संस्थाहरुले पनि गाई संरक्षणमा सहयोग गर्दै आएका छन् । गाई बचाउनका लागि जन स्तरबाट अझै धेरै सहयोग र खबरदारी आबश्यक देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया