बर्दिया :पशु चौपायालाई ‘रिफ्लेक्टिभ पेपर’

दुर्घटनाबाट जोगिन इलाका प्रहरी कार्यालय भूरीगाउँले यो उपाय अपनाएको हो

बर्दिया – बर्दियाको भूरीगाउँमा छाडा पशु, चौपायाहरुलाई लाइट परेपछि चम्किने कागज (रिफ्लेक्टिभ पेपर) लगाउन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय भूरीगाउँले अस्थायी ट्राफिक पोष्ट भूरीगाउँसँगको सहकार्यमा छाडा चौपायाहरुको शरीरमा रिफ्लेक्टिभ पेपर लगाउन थालेको हो ।

‘छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना बढ्न थालेपछि यो उपाय अपनाइएको हो’, इलाका प्रहरी कार्यालय भूरीगाउँका इन्चार्ज, प्रहरी निरीक्षक बसन्तराज पाण्डेले दैनिक नेपालगन्जसँग भने, ‘रातीमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि यो उपाय सार्थक सिद्ध हुने कुरामा विश्वस्त छौं ।’

सोमबारबाट विकास प्रेमी युवा समूह, कम्प्युटर एशोसिएसन बर्दिया समेतसँग स्थानीय प्रहरीले सहकार्यमा यो काम सुरु गरेको जनाएको छ । ‘त्यसका लागि १२ जना प्रहरी जवान दिनभर खटिएका छन्’, प्रहरी निरीक्षक पाण्डेले भने । विकास प्रेमी युवा समूह बर्दियाका अध्यक्ष गोपाल निरौलाले प्रहरी, नागरिक साझेदारीमा भैरहेको यो प्रयासले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको बताए । ‘यसलाई अभियानकै रुपमा अघि बढाइनेछ’, समूहका सचिव नारायण गौतमले दैनिक नेपालगन्जसँग भने ।

बर्दियाका विभिन्न पालिकासँगै भूरीगाउँ क्षेत्रमा पनि गाई लगायतका छाडा चौपायाको समस्या विद्यमान छ । सोमबार ठाकुरबाबा नगरपालिका–१ का वडाध्यक्ष श्यामलाल थारुको प्रमुख आतिथ्यतामा कार्यान्वयनको शुभारम्भ गरिएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया