मन भण्डारी/ नेपालगन्ज –
सोमवार साँझको ३० मिनट नेपालगन्ज भन्सार कार्यालय बाहिरका दृष्य निगरानीलाई छुट्याएँ । अघिल्लो दिन डेस्कमा सल्लाह भयो, जमुनाह नाकामैं नेपाल प्रहरी, त्यसपछि सशस्त्रका चेकजाँच, त्यसपछि भन्सार कर्मचारीको दौडादौड, त्यसलगत्तै सिमा प्रहरीको ‘बल्छी’ अनि चौलिका छेउ सशस्त्रको ‘धराप’ किन होला ? फेरिपनि बेलाबेलामा भन्सार छलेर ल्याइएका सामान प्रहरीले बरामद गरेका समाचार ! त्यतिमात्र कहाँ ? क्यारियरमार्फत भन्सार छलेर कारोबार फष्टाउँदा बैधानिक कारोबारीहरुको धराशयी अवस्था ’
६ बजेको समयमा नेपालगन्जको जमुनाहा नाकामा पुग्दा भारतीय बजार रुपैडियाबाट सामान बोकेर दौडिरहेका रिक्सा, मोटरसाइकल र साइकल सशस्त्र प्रहरीको चेकपोष्ट नजिक पुगेर रोकिन्थे । सशस्त्र प्रहरीका ६÷७ जना जवान रिक्सा, मोटरसाइकल र साइकलहरु आफैं नरोकिए रोक्न तल्लीन देखिन्थे । संवाददाताको निगरानी टक्क त्यहीं केन्द्रीत भयो ।
जमुनाह नाकाको पश्चिम तर्फको सडक छेउमा दैनिक नेपालगन्ज प्रतिनिधि पुग्दा नेपालगन्जका मोतिलाल साहु साइकलमा सामान बोकेर उभिएका थिए । प्रहरीको हातमा २० का दरले रकम थमाएरमात्रै सामानसहित प्रहरीका फन्दा पार हुने सहजै उनले खुलासा गरे । गफ गर्दै उनले भने ‘१५÷२० का दरले ४ स्थानमा प्रहरीलाई रकम दिनुपर्छ अनि सजिलै जान पाइन्छ, नदिए गाह्रो बनाउँछन् ।’
अबभने क्यामेरा सहितको रेकर्डर अन गरियो । सबै कुरा क्यामेरामा कैद गरें, त्यति कुरा गरेर साहु अगाडी बढे । उनलाई सशस्त्रका जवानको ‘चित्त बुझाउन’ थियो भनेजस्तै साइट लागे । नजिकैका जवानको हातमा २० रुपैया थमाएर मोतिलाल हिँडे । त्यो दृष्यको पुनरावृत्ति भइनै रह्यो, आधा घण्टा त्यो ठाउँको निगरानी गरिरहँदा कसैले साइटमा गएर सेटिङ्ग मिलाएर हिँडिरहेका थिए भने कतिपयले हातैमा रकम थमाएर फुत्किरहेका थिए । ‘यो दिनभरिको दृष्य हो,’ सामान्य ढंगले स्थानीयवासीले जवाफ फर्काए । फरक यत्ति हो, मोतीलालले २० रुपियामा मिलाए, कसैले ५० त कसैले १०० थमाउँछन्, कारोबारको वजनका आधारमा सेटिङ् !
राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका लागि खटाइएका प्रहरी नै खुलेआम रुपमा अवैध रकम असुलीमा मस्त बनेको देख्न पाइयो । राजश्व चुहावट, नियन्त्रण र सुरक्षा जाँचका लागि सरकारले खडा गरेको चेकपोष्टलाई सशस्त्र प्रहरीले अवैध रकम असुल गर्ने अखडा बनाउँदै आएको आरोप लाग्ने गरेको दृष्यमा कैद भयो ।
नेपालगन्जको जमुनाह नाका, भन्सार मूल गेट र चौलिकामा खडा गरिएका चेकपोष्टमा सामान चेक जाँचका नाममा सशस्त्र र प्रहरीले सर्वसाधारण र ब्यापारीसँग मनपरी रकम असुलेर छोडिदिने गरेको गुनासो छ । यसरी नियमित रुपमा रकम बुझाउने मध्येका मोतिलाल साहु एक हुन् । मोतिलाल हरेक पटक सामान लिएर आउँदा ४ ठाउँमा रकम नबुझाएर आउन नसकिने बताउँछन् ।
सोमवारनै भेटिएका नेपालगन्जकै अर्जुन पासीले सामान लिएर आउँदा हरेक ठाउँमा रकम बुझाउनुपर्ने नत्र भन्सार गरेर ल्याउ भन्ने गरेको बताए । हरेक पटक ३÷४ ठाउँमा १०÷२० का दरले रकम बुझाउने गरेको बताउने अर्जुनले आज एक ठाउँ (भन्सार गेट) मा १० रुपैया तिरेर आएको बताए ।
राजश्व चुहावट नियन्त्रण तथा सुरक्षा निगरानीका लागि भन्सार गेट आसपासमा सिसी क्यामेरा राखिए पनि ती क्यामेराको धज्जी उडाउँदै सडकमा परिचालित सशस्त्रले प्रति ब्यक्ति २०÷२५ रुपैयाँ उठाउँछन् । मोटो रकममा भने व्यापारीसँगै सेटिङ्ग मिलाउने गरिन्छ । जानकी गाउँपालिकाकी मिना पासीले भने रुपैयाको सट्टा चिसो पानीको बोतल किनेर दिएको बताइन् । लामो समयको बार्गेनिङ्ग पछि चिसो पानी दिएर जान भनेपछि पानी किनेर दिएको उनले बताइन् ।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरी मात्र होइन नेपालगन्ज भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीले समेत यात्रुहरुबाट रकम असुल्ने गरेको स्थानीयहरु बताउँछन् । चेकजाँचको नाममा ब्यक्तिहरुलाई घरायसी सामान आयातमा जबरजस्ती भन्सार राजस्व बुझाउन लगाउने तर व्यापारीको सामान क्यारिङ गर्नेलाई भने खुलेआम ‘हात मिलाउँदै’ पैसा लिँदै छाड्ने गरेको दृष्य कैद भए सोमवार ।
रुपैडिया बजारबाट सामान आयात गर्नेहरुलाई भन्सार गरि राजश्व तिर्न लगाउनुपर्नेमा उनीहरुबाट उल्टै रकम असुल्ने कार्यले नेपाल सरकारको राजश्व चुहावट हँुदै आएको दृष्य प्रष्ट देखिन्छ । चेकजाँचको क्रममा रकम मात्रै नभइ कतिपयको सामानको पोका, चिसोको बोतल निकालेर राख्ने गरेको पाइन्छ भने कतिपयबाट चिसो खाने पानीको बोतल र रिचार्जकार्ड लिने गरेको देखियो ।
राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका नाममा अवैध रकम असुल गर्ने यो परिपाटी नयाँ भने होइन । यस विषयका बिगतमा पनि दैनिक नेपालगन्जले पटक पटक समाचार प्रकाशन गर्दै आएको छ । नियन्त्रण गर्ने नियमनकारी निकाय जवाफदेही नभएसम्म यसखालका निगरानी पनि प्रभावकारी नहुने निश्चित छ । तर, मलाई लाग्छ हाम्रो तर्फबाट यसखालका अबैध हर्कतलाई बाहिर ल्याइरहेर जनता सचेत बनाइरहनुपर्छ ।