सतिश निरौला
शनिबारको साइक्लिङ्ग खजुरा, नेपालगन्ज, कोहलपुर अनि चट्टार हुँदै म नेपालगन्ज फर्किदै थिए, अकस्मात सङ्ग सङ्गै भेटिए । उनी वृद्ध शरीर, चाउरिएका गाला तर कुन्टलौको दाउराको भारी पुरानो साइकलमा लोड गरेर मस्त कोहलपुर नेपालगन्ज सडकखण्डमा मुस्कुराउँदै हुइकिदै थिए उनी ।
उनी हुन् जानकी गाउँ पालिका वडा न ६ कपासिका हजारी धोबी, ५६ बर्षिय उनको जीवन गुजाराको त प्रमुख बस्तु नै उनीसँग भएको एकथान थोत्रो साइकल नै हो । कुरा यति मात्र होइन उनको आफ्नो परिवार भनेकै उनी अनि यहि एक थान साइकल । साइकल चलाउँदा चलाउँदै म उनीसँग ५ मिनेट जति गफ्फिए । उनले आफ्नै लवजमा सुनाए, ‘हमरे अपने कोहि नहि, न मा बाप और ना कोही बिबि और नाही बच्चा, हे तो बस यहि एक ठो साइकल ।’
उनी गाउँबाट प्राय जसो लकडी दाउरा खरिद गर्छन् अनि सहरमा पुर्याएर बिक्री गर्छन् । त्यसैले उनको दैनिकी चलेको छ । उनले सुनाए ५÷६ सयमा दाउरा किन्छु अनि सहर लगेर हजार १२ सयमा बेच्छु, बास गुजारा चली हाल्छ । उनको एक्लो जीवनको साथी पनि अनि उनको दैनिक गुजराको सारथि पनि बनेको छ उनको साइकल ।
उनी नियमित रूपमा साइकल नै साथी अनि परिवार सबैथोक भएकोले साइकलसँग निक्कै खुशी भएको पनि सुनाए, साइकल हे तो हम हे और हमरा जिन्दगी । साइकलमा सँगसँगैको छोटो हिडाइमा उनका जिन्दगीका अन्य कथाहरु सुन्न पाइएन तर उनीसँगको छोटो भेटमा जति उनको कथा सुनियो त्यो कथाले एउटा फरक खालको अनुभुति भने पक्कै प्राप्त भयो । साइकल नै साथी, रोजगारी अनि परिवार हजारी धोबीको सरल जिन्दगी सुखमय बनोस् शुभकामना ।