नेपालगन्ज – भारतको उत्तरप्रदेश राजधानी लखनउका लागि नेपालगन्जबाट सोझै बस सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि नेपालगन्जबाट दिल्लीका लागि सोझै बससेवा सञ्चालन गरिरहेको भेरी यातायात प्रा.लि.ले आइतवारदेखि लखनउका लागि सेवा सञ्चालन गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल समशेर राणाले सेवा सञ्चालनको शुभारम्भ गरे । नगरप्रमुख डा. राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नखनउ बस सेवालाई हरियो झण्डा दिए । उनीहरुले यात्रुलाई फुलको माला र अविर सहित बिदाई पनि गरे ।
लखनउ र दिल्लीका लागि सोझो बस सञ्चालनले नेपालगन्जमा पर्यटक बढ्ने विश्वास गरे । नेपालगन्जलाई क्यासिनो सिटी बनाउने योजना सुनाउँदै नगरप्रमुख डा. राणाले सोझो बस सेवाले सहयोग पुग्ने बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल, भेरी यातायात व्यवसायी प्रालिका शोभाखर पौडेल, भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागाई लगायतले कार्यक्रममा यातायात सेवा बारे बोलेका थिए ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले उत्तरप्रदेश परिवहन निगमसंगको सम्झौताको आधारमा लखनउका लागि बस सेवा सञ्चालन गरिएको जानकारी दिए । केही महिनामैं हरिद्धारका लागि पनि सेवा सञ्चालन गरिने अध्यक्ष गिरिले बताए । उनका अनुसार, दैनिक विहान लखनउका लागि जाने बस बेलुका राती लखनउबाट छुट्नेछ ।