नेपालगन्ज – ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस बाँकेमा बिभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइएकोे छ । शिक्षा दिवसका अवसरमा बाँकेका स्थानीय तहले औपचारिक कार्यक्रमको आयोजना गरेका छन् ।
हामी सबैको प्रण ः सार्वजनिक शिक्षाको सबलीकरण, खजुराको समृद्धीको आधार ः शैक्षिक गुणस्तरमा दिगो सुधार मुख्य नारा सहित खजुरा गाउँपालिकाको शिक्षा समितिले अवसरमा भब्य कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । गाउँपालिका वडा नम्बर ७ स्थित जनता मा.वि. मा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गरिएको हो ।
पालिकाले गत बर्ष देखि सुरु गरेको विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने परिपाटीलाई निरन्तता दिदै यस वर्ष सामुदायिक विद्यालयका तीन र संस्थागत तर्फका तीन विद्यालय एक मदरसालाई उत्कृष्ट बिद्यालयको रुपमा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका सयोजक अजय कुमार श्रीवास्तव, विशिष्ठ अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादव र खजुरा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एकमाया बिकले शिल्ड सहित प्रसंसा पत्रले सम्मान गरेका थिए ।
खजुरा गाउँपालिका–४ बुद्धपुरको श्री अम्बेमाता प्रावि, लिटलहार्वर एकेडेमी, वडा नं. ३ धौलागिरिको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा न २ सि गाउँको सिटिजन नमूना बोर्डिङ स्कुल उत्कृष्ट भइ सम्मानित भएका छन् । यसैगरी मा वि तर्फ ज्ञानोदय नमूना मा वि र जेनिथ इङलिस सेकेन्डरी बोर्डिङ्ग स्कुल खजुराले उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएका छन् । खजुरा वडा नं. ७ उढरापुरमा रहेको मदरसा उत्कृष्ट भएको छ ।
त्यस्तै, खजुरा गाउँपालिकाले पालिकामा यस बर्षको एसइइ तथा आधारभूत तह परीक्षा कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । यसरी सम्मानित हुनेहरुमा कक्षा ८ मा खजुरा पालिका भरिमा उत्कृष्ट जि पि ए ल्याउने जेनिथ बोर्डिङ स्कूलका अर्जुन पोखरेल, बिन्दु मल्ल, निहा श्रेष्ठ, ज्ञानोदयका आभास खरेल, दिपशिखा भण्डारी पुरस्कृत भएका छन् । एसइइ २०७५ मा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक तर्फ ज्ञानोदयका गौरव सापकोटा (छात्र), जनता नमूना बिद्यालयकी मनिता भुषाल (छात्रा) र संस्थागत तर्फ गुराँस चाइल्डहुड एकेडेमीका नितेश पुन (छात्र) र जेनिथ इङलिस सेकेण्डरी बोर्डिङ स्कूलकी सन्ध्या गिरि (छात्रा) परुस्कृत भएका छन् । उत्कृष्ट जिपिए ल्याउने सबैलाई रु. ५ हजार नगद सहित कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेको ज्ञानोदयका मा. बि. का प्राचार्य ऋषीराम सापकोटाले बताएका छन् ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एकमाया विकको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा सप्पन्न समारोहमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के. सि., शिक्षक महासङ्घ बाकेका अध्यक्ष पवन यादव, प्याब्सन बाँकेका कोषाध्यक्ष देनेशराज शर्मा, नेपाल शिक्षक संघका प्रदेश सदस्य डिल्ली प्रसाद शर्मा, अखिल नेपाल शिक्षक संघ बाकेका अध्यक्ष श्री ज्ञानेश्वर शर्मा लगायत सहभागी थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका बाकेका अध्यक्ष कर्ण बहादुर मल्ल, अखिल नेपाल शिक्षक संघका बाके अध्यक्ष श्री बुद्धि बन्जाडे, शिक्षक मन्च बाकेका अध्यक्ष टेक नारायण यादव, शिक्षक परिषद बाकेका अध्यक्ष बृजेश बहादुर सिंह, कर्मचारी यूनियन बाकेका उपाध्यक्ष चन्द्र प्रकाश शर्मा, शिक्षक महासङ्ग खजुराका अध्यक्ष केशवराज लामिछाने, प्याब्सन खजुराका अध्यक्ष श्री मित्रलाल सापकोटा र इसाका खजुराका उपाध्यक्ष श्री डि बि तामाङ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाले दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक, पत्रकार तथा संघ संस्थालाई सम्मान गरेको छ । जगत ज्योती मा.बि. वडा नं. १९ का एक जना अभिभावकलाई उत्कृष्ठ अभिभावकको रुपमा, सामुदायिक विद्यालय तर्फ जय जनता मा. बि. वडा नं. २० थपुवा र संस्थागत बिद्यालय तर्फ आदर्श मा.वि. नेपालगन्ज उत्कृष्ठ बिद्यालयको रुपमा सम्मानित भएका छन् ।
त्यसैगरि सामुदायिक बिद्यालयका ४ र संस्थागत बिद्यालयका ५ जना शिक्षक सम्मानित भएका छन् भने ८ जना सेवा निवृत्त शिक्षक सम्मानित भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये गत आ.व. मा शिक्षा क्षेत्रमा सबै भन्दा बढी लगानी गर्ने वडा नं. २० सम्मानित भएको छ । शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान दिएकोमा बास, स्याक नेपाल, बाँके यनेस्को क्लब, सेभ द चिल्डे«न लगायतका संघ संस्थाहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणाका लागि सबैको ध्यानाकर्षण गराएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न प्रयास गर्दै आइरहेको भन्दै शिक्षाको विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताएका थिए । कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको थियो ।
पत्रकार अधिकारी र वली सम्मानित
नगर शिक्षा पत्रकारिता सम्मानबाट नेपालगन्जका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले दुई पत्रकारलाई सम्मान गरेको हो ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा आयोजित बिशेष कार्यक्रममा पत्रकारद्वय कृष्ण अधिकारी नगर शिक्षा पत्रकारिता सम्मान २०७५ र नागरिक दैनिकका अर्जुन वली नगर शिक्षा पत्रकारिता सम्मान २०७६ बाट सम्मानित भएका हुन् । सम्मानित दुवै जनालाई नगर प्रमुख डा. धवल समशेर राणाले सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।