नेपालगन्जबासीको सक्रियता र प्राथमिकताका सवाल

सतिश निरौला

सामाजिक सञ्जालमा सक्रिय हुने नेपालगन्जियाहरुको गएको केही महिना देखिको मुख्य ‘मसला’ गाई, दाइ र राई अनि माता बागेश्वरी नै बने । यसबाट म नि अछुतो रहन सकिन । पहिलो चर्चा बागेश्वरीबाट नै गरौं, बागेश्वरी मन्दिरमा बन्न लागेको सटरको नेपालगन्ज नगर प्रमुख डा. धवल शमसेर राणाको फेसबुक पोष्टसँगै अनेकन अनेक प्रतिक्रिया आए । क्रिया भएपछि प्रतिक्रिया हुनुलाई पनि स्वभाविक रूपमा नै लिन सकिन्छ ।

बागेश्वरी हिजो दक्षिणी मोहोडाबाट सटरले बर्षौदेखि छेकिंदा कसैले नि छेकियो सटर भत्काउ भनेनन् कारण थियो । कसैले पनि सटर भत्किएपछिको बागेश्वरी देखेकै थिएनन् । जब पुराना सटर नयाँ निर्माणका लागि भत्किए बागेश्वरीको बाटोबाटकै दर्शन बडो अलौकिक र मनमोहक देखियो, अनि बाटोबाट नै छुट्टै शान्तिको अनुभुति । सटरले आर्थिक आम्दानीको लागि हो भन्ने तर्क हो भने बागेश्वरी मन्दिरको बार्षिक खर्च कति र के मा हुन्छ त्यसको विश्लेषण गरौं, मन्दिरमा चढाइएको चढावा र भेटिलाई पारदर्शी गर्ने हो भने यसैबाट नै मन्दिर संचालन को खर्च पुर्याउन सकिन्छ होला । अनि मन्दिरका नाममा रहेको अनेकन सम्पत्ति अरुले खाएको हडेपेको समाचार आइरहेको छ त्यो फिर्ता ल्याउ । र, अहिले दक्षिण तर्फ स्टिलको अग्लो रेलिङ्ग लगाउ जसबाट सहजै माताको दर्शनबाटो बाटै पनि हुन्छ र मन्दिर परिसर खुल्ला र फराकिलो हुन्छ ।

यो बिषयमा स्थानीय स्तर (उपमहानगर)सँग नै बहस, छलफल र पैरवी गरेको भए यो बिषय सहज रूपमा ब्यबस्थापन हुन्थ्यो । तर, यस बिषयमा सोझै शहरी बिकास मन्त्रीको गुहार र मन्त्रीको प्रतिक्रिया सँगै बिषय पेचिलो बन्दै गयो र यसले कताकता राजनीतिक रुप समेत ग्रहण गर्यो । अब पनि बागेश्वरी मन्दिरको बिषयलाई टुंगोमा पुर्याउन स्थानीय सरकार कै भुमिका महत्वपूर्ण हुन्छ । यसलाई पुरातत्व महत्व र सम्पदा संरक्षण सम्बन्धि नीति अनुसार नै र मन्दिरको सुन्दरता र आकर्षण बढ्ने गरि जनभावनाको प्रतिनिधित्व हुने गरि गर्दा उपयुक्त हुन्छ ।

गाई र दाइ अनि राइ

नेपालगन्जमा मात्र होइन छाडा गाई गोरु थुप्रै सहरको समस्या हो । अझ गाई नै चुनाव चिन्ह लिएर चुनाव जितेको अनि हिन्दुबादी मुद्दा नै प्रमुख राजनीतिक मुद्दा बनाएको र सो पार्टीको उपल्लो तहमै जिम्मेवारी भएका नेपालगन्ज उपमहानगरका नगर प्रमुख डा. धवल शमसेर राणाका लागि छाडा गाई ठुलो चुनौती नै बने । कान्जिहाउसमा राखिएका गाइबस्तुले पुग्दो खुराक नपाउनु, तिनको स्वास्थ कमजोर हुनु र कमजोर पूर्वाधार (छानो नभएको) युक्त कान्जी हाउसमा राखिएको अवस्थामा दैनिक १÷२ गाई गोरु मर्न लागे, यसैबीच गाई बचाउ अभियान सुरु भयो । यही बीचमा गृह नगर नेपालगन्ज आउँदा शहरी बिकास मन्त्री इस्तियाक राइले नगद ५० हजार दिने र थप १ करोड कान्जिहाउस ब्यबस्थापनका लागि आवश्यक पहल गरिदिने कुराले चर्चा पाएसँगै यो बिषय पनि जोडतोडका साथ नेपालगन्जको हट इस्यु बन्न पुग्यो ।

सडकमा दिनहुँ हुने सडक दुर्घटनाको मुख्य कारण बनिरहेको छाडा गाई गोरु ब्यबस्थापनको लागि कान्जिहाउस खोली त्यहाँ पठाउने नेपालगन्ज उपमहानगरपालिकाको काम उपयुक्त नै थियो । तर, त्यसको प्रभावकारी ब्यबस्थापन हुन नसक्दा उपमहानगरमा समस्या पैदा भयो भने नगर प्रमुख आलोचित बन्न पुगे ।

यही बीचमा कान्जिहाउसमा रहेका गाई बस्तु दैलेख पठाउँदा केही अपरिपक्व पूर्ण काम हुँदा नगर प्रमुख आलोचित मात्र बनेनन् उनीमाथि आक्रोश पनि पोखियो । कमजोर स्वास्थ अवस्थाका गाईलाई कोचाकोच अवस्थामा लोड गरि पठाउँदाको परिणाम ठुलो संख्यामा गाईहरु मर्न पुगे भने अहिले यो राष्ट्रिय मुद्दा र बहसको बिषय बन्न पुगेको छ । सरकारले छानबिन समेत सुरु गरिसकेको छ ।

नेपालगन्ज उपमहानगरमा कार्यकारी प्रमुखका रूपमा रहेका हरि प्याकुरेल जो दैलेख कै हुन् र उनी दैलेखमा उच्च तहको जिम्मेवारी सम्हालिसकेका छन् । सम्भवत उनकै पहल पर्यत्नमा साधारण सरसल्लाहमा पठाइएका गाई बाटो मै मर्न पुग्दा विभिन्न किसिमका सन्देह र कुराहरू बाहिरिए पनि गाई भिर बाट ज्यूँदो नखसाइएको र बाटोमा नै केही गाई मरिसकेको पछि मरेका गाईलाई जङ्गल छेउ फालिएको र अन्य गाईहरु समेत त्यहीँ छाडिएको प्रतिक्रिया उपमहानगरको छ । विधि र प्रक्रियाबाट नगएर साधारण अन्डरस्टान्ड वा रातारात जङ्गल मै छाड्ने उद्देश्यले गाई पठाउँदा अहिले यो बिषय गम्भीर बन्न पुगेको छ ।

समसामयिक सवाल, निस्कर्ष र महानगरीय यात्रा

अहिले नेपालगन्जमा देखिएका समसामयिक सवाल छाडा गाइबस्तु ब्यबस्थापन र बागेश्वरी मन्दिर नै हुन् । यी बिषय बस्तुलाई गुजुल्टो पार्दै जानुभन्दा यी बिषयको सकारात्मक समाधान खोजी गरिनु जरुरी छ । यसमा उपमहानगरको बागडोर सम्हालेका नगर प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि र सम्पूर्ण दलको सार्थक प्रयासबाट उचित समाधान निस्कन सम्भव छ । हालसालै पर्यटन मन्त्री बन्न पुगेका योगेश भट्टराईले देखाएको सकारात्मक बाटो (मन्त्रालयका योजना प्रमुख विपक्ष दलका नेतासँग परामर्श) स्थानीय सरकारका प्रमुखले अपनाउन सके हाम्रो उपमहानगरले उक्लदै गरेको महानगरीय यात्राले पनि सार्थकता पाउनेछ भने देखिएका समस्याहरुको क्रमशः समाधान हुँदै जाने कुरामा दुई मत नहोला । महानगर हामी सबैको चाह हो तसर्थ अब उपमहानगरका हरेक बिशेष योजना र कार्यक्रममा सबैका सुझाव, सहभागिता र परामर्श गरेर अघि बढे हाम्रो महानगरीय यात्रा टुंगोमा पुग्नेछ । नेपालगन्जले एउटा एतिहासिक र पुरानो सहरको साख जोगाउने छ ।

प्रतिक्रिया

प्रतिक्रिया