भ्रमण वर्ष सफलताका मुख्य आधार

कृष्ण अधिकारी

नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरुबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो संख्या एक लाख चार हजार ७८३ रहेको छ ।

नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी विश्व पर्यटन बजारमा नेपाललाई स्थापित गराउन हवाई सेवाको सुरक्षा, विश्वसनीयता र पर्यटकीय सेवा सुविधाको गणुस्तर वृद्धि, नयाँ गन्तव्य स्थलहरूको पहिचान र विविधीकरण तथा पूर्वाधार विकासमा जोड दिन सकिएमा भ्रमण वर्ष सफल हुनुको साथै त्यसपछि पनि क्रमशः पर्यटक आगमनमा वृद्धि ल्याउन सकिन्छ ।
नेपाल भ्रमण गरी फर्किएका पर्यटकले नेपालको बारेमा दिने सन्देश तथा विदेशस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली(एनआरएन)को भूमिकाले बढीभन्दा बढी पर्यटक भित्र्याउने बलियो आधार बन्न सक्ने भएकाले भ्रमण वर्ष मनाइरहँदा यस पक्षलाई महत्व दिनुपर्ने हुन्छ । युरोपका प्रायः सबैजसो मुलुकमा नेपाली दूतावासको संयन्त्र रहेको र गैरआवासीय नेपाली सङ्घको पनि गठन भइसकेको सन्दर्भमा उनीहरुमार्फत नेपालमा बढीभन्दा बढी पर्यटक पठाउन सकिने राजदूत तथा एनएआरएनका प्रतिनिधिहरुको भनाइ छ । भ्रमण वर्षलाई सफल तुल्याउन युरोपेली पर्यटक मुख्य आधार हुनसक्ने उहाँहरुको विश्वास छ ।

युरोपस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरुले पनि भ्रमण वर्षलाई सफल तुल्याउन आ–आफ्नो देशमा प्रवद्र्धनात्मक क्रियाकलापहरु सञ्चालन गरिएको र वर्षभरि नै विभिन्न कार्यक्रमहरु राखिएको बताएका छन् । वर्षाैंदेखि साहसिक पर्यटकलाई मात्र महत्व दिने गरिँदा नेपालमा गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन नसकिएकाले आगामी दिनामा बढी पैसा खर्च गर्नसक्ने, लामो अवधि बस्न रुचाउने र फुर्स्दिला खासगरी जेष्ठ उमेरका पर्यटकलाई लक्षित गरी भ्रमण ‘प्याकेज’हरु तयार गर्नुपर्नेमा फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी जोड दिनुहुन्छ ।

नेपालको ‘हिन्दू किङ्डम’ बारेमा पुस्तक लेख्ने सिल्भा लेभी, हनी हन्टर फिल्म बनाउने यरिक भेली, अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो युरोपेली मौरिस हर्जोग, विश्वका आठ हजारभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने डा क्रिस्टिना जाना, नेपालको बारेमा विश्वभर प्रचार गराउने टोनी हेगनजस्ता व्यक्तित्वहरुको योगदानका बारेमा मात्रै प्रचार गराउन सकिएमा पनि ठूलो सङ्ख्यामा युरोपेली पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको तर्क छ ।

फ्रान्समा कूल जनसङ्ख्याको झण्डै डेढ गुणा बढी पर्यटकले भ्रमण गर्ने र विश्वका अधिकांश मुलुकका कुटनीतिक नियोगहरु राजधानी पेरिसमा रहेकाले नेपालका बारेमा गरिने प्रवद्र्धनात्मक कार्य बढी प्रभावकारी हुने हुँदा दूतावासले यसतर्फ विशेष ध्यान दिएको राजदूत अधिकारी बताउनुहुन्छ । फ्रान्समा ६०÷७० वटा नेपाली रेस्टुराँ रहेको र तीमध्ये आधाभन्दा बढी पेरिस शहरमै रहेकाले त्यहाँ खान जाने पर्यटकलाई नेपालका बारेमा परिचय गराउन सकिने सम्भावना रहेको एनआरएन फ्रान्सका पूर्व अध्यक्ष एकिन्द्र मल्ल ठकुरीको भनाइ छ ।
नेपालले पर्यटनको कुरा गरेको धेरै वर्ष भएपनि अहिलेसम्म रणनीतिक ढङ्गबाट बजारीकरण हुन नसक्दा युरोपबाट जति संख्यामा पर्यटकले नेपाल भ्रमण गर्नुपर्ने हो त्यो हुन नसकेको बताउनुहुन्छ बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा । उहाँँ भन्नुहुन्छ, ‘‘अहिलेसम्म पनि हामीले युरोपेली पर्यटकहरुको रुचीका बारेमा बुझ्ने कोशिस गरेका छैनौं । कुनै अध्ययन भएको छैन । एउटै देशभित्र पनि फरकफरक रुची राख्ने पर्यटक हुने हुँदा उनीहरुको चाहनाअनुसार प्रवद्र्धनात्मक रणनीति बनाउने हो भने धेरै युरोपीय नेपाल भ्रमणमा जानेछन् ।’’

युरोपबाट नेपाल जान हवाई भाडा महङ्गो पर्ने, सिधा हवाई उडान नभएको, नेपाल गोर्खा भूकम्पले ध्वस्त भई पुनःनिर्माणमा जुटेको छ भन्ने जस्ता तर्क उपयुक्त नभएको बताउँदै उहाँँ भन्नुहुन्छ, ‘‘हवाई भाडा केही महङ्गो भएपनि यहाँँ खाना र बस्न सस्तो छ, सिधा उडान नभएपनि ‘कनेक्सन’ उडान प्रयोग गर्न सकिन्छ र भूकम्पले पर्यटन क्षेत्रमा कुनै असर नपारेको भन्ने जस्ता सन्देश विस्तार गर्नु आवश्यक छ ।’’

नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै जर्मनी सरकार र जनस्तरबाट नेपालको विकासमा सहयोग रहँदै आएको बताउँदै नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन सहयोगका क्षेत्रहरु अझ विस्तार गरिनेछ भन्नुभयो । उहाँले जर्मनी पर्यटकका लागि नेपाल एक मुख्य गन्तव्य स्थल रहेकाले पर्यटकीय पूर्वाधार, सुरक्षा र नयाँ सम्पदाहरुको प्रवद्र्धन हुन सकेमा ठूलो सङ्ख्यामा पर्यटक जाने सम्भावना रहेको उहाँको भनाइ थियो ।
नेपालका लागि जर्मनीका महावाणिज्य दूत रामप्रताप थापाले नेपालको पर्यटन प्रवद्र्धनका लागि जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरु इच्छुक रहेकाले उनीहरुलाई यसबारेमा जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सकिने बताउनुभयो । जर्मनीबाट मात्र हाल वर्षमा करीब १७÷१८ हजार पर्यटक नेपाल जाने गरेको र यसलाई दोब्बर बनाउन सकिने उहाँको विश्वास छ ।

विश्वका ८० भन्दा बढी देशमा वसोवास गर्ने गैरआवासीय नेपालीहरु आफ्नो जन्मभूमिको विकासप्रति निकै अभिप्रेरित रहेको बताउँदै ती देशहरुमा रहेका गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी नेपाल भ्रमणमा जान पर्यटकलाई अभिप्रेरित गराउने क्रियाकलापहरुमा जोड दिइएको एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने बताउनुहुन्छ । युरोपका प्रायः सबैजसो देशमा नेपाली पुगेका छन् र अधिकांशले रेस्टुराँ व्यवसाय सञ्चालन गरेका छन् ।

नेपालीले सञ्चालन गरेका रेस्टुराँमा ‘मिनी नेपाल’को झल्को आउने हुँदा खानेकुरादेखि आतिथ्य सत्कारमा नेपालीपन देखाउनुपर्ने एनआरएन अन्तर्रा्ष्ट्रिय महिला संयोजक रजनी प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘ती रेस्टुराँमा नेपाल झल्किने पर्चा–पम्लेट राख्ने र पर्यटकलाई नेपाली हस्तकलाका सामग्री उपहार दिने गरिएमा त्यसले सकारात्मक सन्देश जानेछ ।’’

नेपाल भ्रमण गरी फर्केका वा नेपाली खानाको स्वाद लिइसकेका युरोपेली नागरिकहरु नेपाली रेस्टुराँमा खान जाने वा नेपाली उत्पादनहरु खरिद गर्न रुचाउने हुँदा उनीहरुको आवश्यकता अनुसार युरोपभरि नै नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै आउनुभएका रबिन्द्रमान श्रेष्ठ भन्नुहुन्छ, ‘‘नेपाली वस्तुको अलग्गै ‘ब्राण्ड’ बनाउन सकिएमा यसले पनि नेपालको पहिचान बढाउन सकिन्छ ।’’ नेपालका मःमः, वियर, चाउचाउ, सेलरोटीलगायतका वस्तुको ‘ब्राण्डिङ’ गर्न सकिने उहाँको तर्क छ । (रासस)

प्रतिक्रिया

प्रतिक्रिया