संकटमा घसियाराको पेशा

मन भण्डारी / नेपालगन्ज – नेपालगन्जका घसियारा समुदायले जीविकोपार्जनको रुपमा समाल्दै आएको घाँस बेच्ने पेसा संकटमा परेको छ । अत्याधिक मात्रामा टाँगा चल्ने विशेषता बोकेको नेपालगन्जमा टाँगाहरु बिस्थापित भएपछि घसियार समुदायको पुख्र्यौली पेशा संकटमा परेको हो । विभिन्न ठाउँमा धाएर दिनभरि खोजेर ल्याएको घाँस विस्तारै बिक्री हुन छाडेपछि आर्थिक अभावले अहिले जीवन धान्न धौधौ भएको छ ।

कुनै समय नेपालगन्ज टाँगाहरुको सहर भनेर चिनिने गरेको थियो । टाँगा चढ्नकै लागि बिभिन्न ठाउँबाट मान्छेहरु नेपालगन्ज आउने गरेको देख्न पाइन्थ्यो । परम्परागत रुपमा नेपालगन्जमा गुड्दै आइरहेका टाँगालाई इरिक्सा र माइक्रोबसले विस्थापित गरेपछि टाङ्गाको संख्या घट्नुका साथै घाँसको व्यापार पनि घटेको छ । नेपालगन्जमा टाँगाहरु चल्ने समयमा घाँसको माग पुरा गर्न मुस्किल पर्ने गथ्र्यो भने अहिले थोरै मुल्यमा समेत घाँस बिक्री गर्न मुस्किल भएको घसियारा समुदायको गुनासो छ । कतिपय घसियारा समुदायले विस्तारै पेशा परिवर्तन गर्न खोजेको भएपनि पेशा परिवर्तन गर्ने विकल्प भने केही नभएको उनीहरुको भनाइ छ ।

घाँस बेचेरै आफ्नो परिवार बाल्दै आएकी नेपालगन्ज वडा नं. ८ मा रहेको घसियारा टोलकी कामना घसियाराले अहिले पुरै समुदायको पेशा नै संकटमा परेको बताइन् । पढ्ने लेख्ने उमेरमा पढ्न लेख्न नपाउँदा अहिले दुःख पाइरहेको बताउने उनले आफ्नो रोजी रोटीको साहारा बनेको घाँसको व्यवसाय पनि कम हुदै गएको दुखेसो पोखिन् । घास बेचेरै जीविकोपार्जन गर्ने कामनाले पहिले जस्तो घाँस बिक्री हुन छाडेपछि वैकल्पिक पेशाको खोजीमा रहेको बताइन् । आफ्नो विगतलाइ स्मरण गर्दै उन्ले भनिन् ‘पहिले टांगाहरु प्रशस्त चल्ने भएकाले घोडाको लागि घाँस खोज्दै धेरै ग्राहक आउने हुन्थ्यो र घाँसको व्यवसाय राम्रै हुन्थ्यो र आम्दानी पनि राम्रै हँुदै आएको थियो ।’
अहिले टांगाहरु चल्न बन्द भएपछि घाँस बिक्री हुन छाडेको र जस्को कारण आम्दानी पनि हुन छाडेपछि बिहान साँझको छाक टार्न समेत धौधौ हुने गरेको तारा घसियाराले दुःख ब्यक्त गरिन् । पहिले पुरै समुदायको पेशा नै घाँस बेच्ने भएपनि अहिले धेरैले त्यो पेशा छोड्न थालेका छन् । आदिवासी मधेशी समुदायअन्तर्गत पर्ने घसियारा समुदाय नेपालगन्ज उपमहानगरपालिका ८ घँसियाराटोलमा करिब ३५÷४० घरधुरीमा बसोवास गर्दछन् । सहरमा बस्ने भए पनि यो समुदाय शिक्षा, स्वास्थ्य, सरसफाइको क्षेत्रमा पछाडी छ । आर्थिक अभावका कारण घसियारा समुदायका बालबालिका पनि कमै मात्रामा विद्यालय जान्छन्, विद्ययालय गएपनि सामुदायिक विद्यालयमा मात्र पढ्ने गरेको पाइन्छ । बस्ने घर बाहेक जग्गा जमिन नभएको घसियारा समुदायको समस्या समाधानका लागि कुनै पनि निकायले कुनै प्रकारको सहयोग नगरेको उनीहरुको गुनासो छ । घसियारा समुदायका ब्यक्तिहरू दिनभरि घाँस खोजेर बेलुका बेच्ने गर्छन् । पहिले पहिले सडक किनारमा घाँसका थुप्रा राखेर बस्ने उनीहरु पछिल्लो समय उनीहरुको टोलमै रहेको घाँस मण्डीबाट घाँस बेच्ने गर्छन् । पहिले पहिले घाँसको ब्यापार राम्रो हुने समयमा दिनमा ४÷५ सय सम्म आम्दानी हुने गरेकोमा पछिल्लो समय घाँसको माग घट्न थालेपछि एक दिनमा १ सय देखि १ सय ५० रुपियाँसम्म मात्र घाँसबाट आम्दानी हुने गरेको उनीहरु बताउँछन् ।

एक दिनमा २५ किलोसम्म घाँस काट्दै आएको बताउने मिना घसियाराले २५ किलो घास १ सय पचास देखि २ सय रुपैयाँ सम्म बिक्री हुने गरेकोे बताइन् । बिहानदेखि साँझसम्म खाइ नखाइ गरि दिनभरी दुःख गरे पर्याप्त आम्दानी नहुँदा परिवारको खर्च धान्ने समस्या रहेको मिनाले बताइन् । ‘आफ्नो मुख्य पेसा नै घाँस काट्ने भएकाले अझै पनि यसैलाई निरन्तरता दिदै आएको भएपनि अब घाँस बेचेरै जीवन जीउन कठिन जस्तै लाग्न थालेकोे छ’, मिनाले भनिन् ।

राज्यको आँखा आफुहरु माथि कहिलै नपरेको र आफ्नो दुःखमा साथ दिने कोही नभएको घसियाराहरुको गुनासो छ । बिभिन्न संघ संस्थाहरुले घसियारा समुदायलाई सिपमुलक लगायतको विषयमा बिभिन्न तालिमहरु दिएको भएपनि आफ्नो पेशा छोड्न सकेका छैनन उनीहरुले । घाँस बेचेर राम्रो आम्दानी गर्दै आएका घसियारा समुदायका ब्यक्तिहरु केहि बर्ष यता आफ्नो व्यवसाय घट्दै गएको बताउदै अब पेशा नै संकटमा पर्नेमा चिन्तित छन् । आफ्नो समुदाय धेरै पछि परेको र स्थानीय सरकाले पनि आफुलाई बेवास्ता गरिरहेको बताउँदै आफ्नो समुदायको समस्यालाई समाधान गर्न स्थानीय सरकारको ध्यान जानुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

प्रतिक्रिया