अवैध बस सञ्चालनले तनाव , प्रहरी प्रशासनकै मिलेमतोको आशंका

नेपालगन्ज – नेपालगन्ज हुँदै भारतका विभिन्न ठाउँमा अवैध बस सञ्चालन हुँदा तनाव उत्पन्न भएको छ । पर्यटकीय इजाजत लिएर यात्रु ओसारपोसार गर्ने ती बसलाई स्थानीय यातायात व्यवसायी र होटल तथा पर्यटक व्यवसायीहरुले रोक्न खोजेपछि तनाव उत्पन्न भएको हो ।
स्थानीय प्रहरी, प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक लगायत सरोकारवालाहरु बीच पटकपटक गैर कानुनी यातायात सञ्चालनका लागि रोक्न गरिएका पहलमा चासो नदेखाइएपछि व्यवसायीहरु नै सडकमा उत्रिएका हुन् । शुक्रबार विहान भारतको सिमलाबाट नेपालगन्ज हुँदै राप्तीका विभिन्न ठाउँमा जान लागेका चार वटा बस व्यवसायीहरुले रोके । उनीहरुले यात्रुहरुसँगको टिकटमात्र चेकजाँच गरेनन् गाडी नै ट्राफिकको जिम्मा लगाए ।

‘राज्यका सम्बन्धित जिम्मेवार निकायले अवैध कार्य नरोकेपछि अब हामी नै सडकमा उत्रनु पर्ने अवस्था आयो’, विहान साढे आठ बजेदेखि भारतबाट आएका अवैध बस रोक्न तल्लिन व्यवसायीहरुले भने, ‘तलदेखि माथिसम्म सेटिङ्ग गरेर अवैध रुपमा बस सञ्चालन भैरहेका छन् ।’ हुनपनि उनीहरुले लगाएको आरोप त्यहाँ नेर पुष्टि भयो जब ट्राफिक कार्यालयले ‘नियम विपरित सञ्चालित’ भन्दै पठाएको गाडीलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले २ हजार ५ सय ‘नगद’ बुझेर पठाइदिए । ‘व्यवसायीहरु पुगेपछि उक्त रकमलाई जरिवाना भनि बताइयो’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीम लाल कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘रसिद नै नकाटिएको रकमलाई राजश्वका लागि बुझेको हो भनेर कसैले विश्वास गरेनन् ।’

शुक्रबार पुष्पलाल चोक नेपालगन्जमा पर्यटकीय बस भनि यात्रु ओसारपोसार गरेको प्रमाण फेला परेपछि स्थानीय व्यवसायीहरुले नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाएको गाडी । (तस्विर ः दैनिक नेपालगन्ज)

होटल व्यवसायी संघ बाँके नेपालगन्जले बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलको नेतृत्वमा सरोकारवालाहरु बीचको बैठक राखेर यसखाले गैर कानुनी बस सञ्चालन रोक्ने निर्णय गरेको थियो । बाँके प्रहरी प्रमुख, जिल्ला ट्राफिक प्रमुख, यातायात व्यवस्था कार्यालयका अधिकृत सम्मिलित उक्त बैठकले विभिन्न जिल्लाबाट सोझै भारतका सहरहरुमा सञ्चालित गाडीहरुको अध्ययन गरेर वैध, अवैध पहिचान गरी आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो । ‘त्यसको कुनै पनि कार्यान्वयन गरिएन’, भेरी बस व्यवसायी प्रा.लि.का वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘यसले नेपालगन्जका लागि धेरै ठूलो नोक्सान गरिरहेको छ ।’

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिंदा यातायात व्यवसायीहरुका लागि मात्रै होइन सिङ्गो नेपालगन्ज बजार प्रभावित छ । ‘यात्रुहरु एकरात होटल बस्नेदेखि अटो चढ्नेसम्मका सुविधाबाट वञ्चित गरिएका छन्’, होटल व्यवसायी संघका अध्यक्ष कंडेल भन्छन्, ‘भारतबाट आउँदा नेपालगन्ज बजारमा किनमेल गरेर जाने यात्रुहरु सोझै भेडा खाँदेझै रुकुम, रोल्पा, प्युठान, सल्यान पुर्याइने गरिएको छ ।’

शुक्रबार विहान पुष्पलाल चोकमा व्यवसायीहरुले नियन्त्रणमा लिन खोजेका चार मध्ये तीन वटा फुत्कन सफल भए । व्यवसायीले ना ५ ख ६६२७ नम्बरको यात्रुवाहक बसलाई ट्राफिकको जिम्मा लगाए । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको टिकट काटेका यात्रुहरुलाई सिम्लाबाट सोझै तुल्सीपुर पुर्याइँदै थियो । ‘टिकट पनि अस्पष्ट र केरमेट गरिएको अवस्थामा यात्रुलाई दिइएको छ’, भेरी यातायात व्यवसायी प्रा.लि.का वरिष्ठ उपाध्यक्ष पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘पर्यटक ओसारपोसारका लागि भारतीय राजदुताबासबाट इजाजत लिइएको बसले कसरी टिकट काटेर यात्रु ओसारपोसार गर्न पाउँछ ?’

अवैध कार्य रोकथामको जिम्मेवार निकाय ट्राफिक, प्रहरी, यातायात व्यवस्था कार्यालय र नियामक निकाय जिल्ला प्रशासन कार्यालय बाँके यस कार्यमा मौन रहेको विषय प्रति व्यवसायीहरु आक्रोशित छन् । ‘दैनिक १२ वटा बस यसरी ओहोरदोहोर गर्दा कम्तिमा ४ सयदेखि ६ सय यात्रु नेपालगन्ज नटेकी जान्छन्’, होटल व्यवसायी संघका अध्यक्ष कंडेल भन्छन्, ‘तपाई सामान्य अनुमान गर्नुस् नेपालगन्ज बजार सुनसान हुँदै जाँदा यो अवैध कार्यले कति ठूलो नोक्सान पारिरहेको छ ।’ व्यवसायीहरुले प्रहरी, प्रशासनको मिलेमतोमा अवैध कार्य भैरहेको भन्दै त्यसविरुद्ध सडकमै आएर आफुहरु नै सर्वपक्षीय निर्णय कार्यान्वयनमा उत्रने तयारी गरिरहेको बताउँछन् । ‘पहिलो दिन शान्तिपूर्ण ढंगले अवैध कार्य बारे प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई प्रमाणसहित जानकारी गराइएको छ’, कंडेलले भने, ‘यस्तै अवस्था रह्यो भने नेपालगन्जका २ हजार होटल व्यवसायी एकैचोटी सडकमा आउँछौं ।’ कंडेलले यो समस्या यातायात, होटल तथा पर्यटन व्यवसायीको मात्र नभई नेपालगन्जका ठेला, रिक्सादेखि गहना, कपडा पसलसम्मलाई प्रभावित पार्ने खालको भएको बताए ।

व्यवसायीहरुले सरकारसँग इजाजत लिएर भारतका विभिन्न ठाउँमा सञ्चालन हुने ‘मैत्री बस’बारे आपत्ति जनाएका छैनन् । ‘यहाँ त पर्यटकीय बस भन्दै दैनिक दर्जन बढी यात्रुवाहक अवैध रुपमा सञ्चालन भएको प्रति हाम्रो आपत्ति हो’, यातायात व्यवसायी पौडेलले भने, ‘सबै पहाडी जिल्लाबाट भारतका सहरमा सोझै बस सञ्चालन गर्ने हो भने भारतीय गाडीसँग न त प्रतिस्पर्धा गर्न सकिन्छ न त सुरक्षाको जोखिम नै टार्न सकिन्छ ।’ उनले सीमावर्ती सहरबाट यातायात सञ्चालनको व्यवस्थित गरिनुपर्ने सुझाव सम्बद्धहरुलाई दिइएको बताए । ‘तर, यातायात क्षेत्रका माफियाहरु नै यो अवैध कार्यलाई प्रोत्साहन दिन तल्लिन छन्’, पुष्पलाल चोकमा विहान भेटिएका यातायात व्यवसायीहरुले पत्रकारलाई त्यसको खोजी गर्न सुझाउँदै भन्छन्, ‘राज्य संयन्त्र गम्भीर नभएसम्म यो कार्य रोकिंदैन ।’

भारतीय सीमावर्ती बजारसम्मका वैधानिक बस सञ्चालकहरु पनि अवैध हर्कतबाट आफुहरु परेसान रहेको बताउँछन् । ‘दुतावासबाट एक महिनाका लागि ल्याइएको इजाजतबाट दर्जनौं पटक ओहोरदोहोर गरिने गरेको छ’, भारतको चण्डिगढ, सिमला र कुनुमैनालीबाट दैनिक रुपैडिहासम्म बस सञ्चालन गरिरहेका नेपाली व्यवसायी दिपक राज चन्द भन्छन्, ‘त्यति मात्रै होइन उनीहरु नक्कली इजाजत पत्र बनाएर पनि यात्रु ओसारपोसार गरिरहेका छन् ।’

चन्दको कम्पनीले २२ बर्षदेखि यसरी यातायात सञ्चालन गर्दै आएको छ । ‘आठ बर्षदेखि ५० वटा गाडी हाम्रो कम्पनीले नेपालसँग जोडिएका सीमावर्ती नाकासम्म दैनिक नेपाली यात्रुलाई सुविधा दिइरहेका छौं’, चन्दले दैनिक नेपालगन्जसँग भने, ‘नेपाली पुलिस प्रशासन मात्रै होइन, सीमावर्ती भारतीय पुलिस, प्रशासनलाई समेत पैसा यसरी अवैध कारोबार भैरहेको छ ।’ चन्द रुपैडिहासम्म मात्र बस सञ्चालन गर्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया