टीएस ठकुरी
जैन धर्मले संसारिक सत्यलाई स्वीकार गर्छ । सृष्टिकर्ता ईश्वर हैन, संसार त जीव, भौतिक तत्व, धर्म, अधर्म, आकाश र काल गरी ६ द्रव्यबाट बनेको हुन्छ । जैन धर्मले यही भन्छ ।
पूर्व जन्मका कर्तुतहरु समाप्त गरी यो जन्ममा पुन्य कमाउन केही शर्त अघि सारिएको हुन्छ । यसलाई त्रिरत्न भनिन्छ । त्रिरत्नअन्तर्गत सम्यक दर्शन, सम्यक ज्ञान र सम्यक आचरण पर्छन् । यी मध्ये पनि सम्यक आचरणमा बिशेष जोड दिने गरिन्छ । आचरणका सम्बन्धमा पाँच महाव्रत पालना गर्नुपर्ने भनिएको छ । जसमा १. अहिंसा, २. सत्य, ३. अस्तेय, ४. अपरिग्रह र ५. ब्रह्मचर्य गरी पाँच नियमको पालना गर्नुपर्ने हुन्छ ।
पहिलो अहिंसा हो । यो जैन धर्मावलम्बीहरुको मुल मर्म हो । दोस्रो सदैव सत्य र मिठो बोल्नु हो । यस धर्मका अनुयायीहरु पनि महावीर जस्तै कर्ममा बिश्वास गर्छन् । शान्त र सौम्य स्वभावका चम्पालाल बोथराको बिशेषता पनि यही रहेछ ।
यसअर्थमा नेपालगन्जका प्रतिष्ठित उद्योगपति चम्पालाल जैन धर्मका खास अनुयायी हुन् । जैन धर्मका हरेक शर्त पालना गर्दै उनले आफ्नो व्यवसायिक यात्रालाई अघि बढाएका छन् । सत्य र मिठो बोल्नु उनको धर्म हो । नेपालगन्जस्थित औद्योगिक क्षेत्रभित्र शिखर प्लाइउड उद्योग छ । त्यही उद्योगभित्र उद्योगपति चम्पालालको साँघुरो तर वातानुकुलित र सुविधा सम्पन्न कार्यालय छ । जहाँबाट उनी दैनिक करोडौं कारोबारको क्यालकुलेटर थिच्छन् । त्यहाँबाट कारोबारको अंकगणित मात्र हेर्दैनन्, देशको आर्थिक वृद्धिदर र समृद्धिको सपना पनि देख्छन् । आम मानिसको दैनिक जीवनसँग उद्योग, कलकारखानाको सम्बन्धका बारेमा पनि हरदम सोच्छन् । आम नागरिकलाई उद्योगबाट लाभ दिलाउने सम्बन्धमा चिन्तन पनि गरिरहन्छन् । उनको प्रमुख व्यवसाय प्लाइउड उद्योग नै हो । विद्युतीय तार उत्पादन उनको अर्को व्यवसाय हो । आम उद्योगी व्यापारी जस्तो महानगरको भेटमा उनले कुण्ठा पोखेनन्, असन्तुष्टिको भाव कतै झल्काएनन् । उद्योगको ग्राफ उकालो चढ्दो रहेको उनले सगर्व सुनाए । व्यवसायिक सन्तुष्टि र खुशी लुकाएनन् । यति गफिंदै गर्दा टेबलमा चिया आइसकेको थियो । चियाको चुस्कीसँगै हामीले उनका व्यवसायका विविध पाटा केलाउने प्रयत्न गर्यौं । छेउकै सानो कुर्सीमा एक किशोर थिए । उनका तीन सन्तानमध्ये कान्छो सन्तान । ब्राइटल्याण्ड स्कुलमा कक्षा १० मा अध्ययनरत उनी बिदाको समय पिताको व्यवसायमा चाख दिंदा रहेछन् । यसअर्थमा चम्पालालले पनि छोरालाई अहिलेदेखि नै आफ्नो उद्योग व्यवसायसँग साक्षात्कार गराउँदै लगेका छन् । ‘सिसिटिभी क्यामेरा उसले नै ह्याण्डल गर्छ ।’ छोरातर्फ संकेत गर्दै ५२ बर्षीय चम्पालालले सुनाए, ‘म प्रविधिसँग त्यति अपडेट छैन, जति अहिलेको पुस्ता नजिक छ ।’
नेपालगन्जका अधिकांस उद्योगी व्यवसायीका सन्तान भारतीय सहर वा संघीय राजधानीमा अध्ययन गर्छन् । चम्पालालले भने तीन सन्तानलाई हाइस्कुलसम्मको शिक्षा गृहनगरमै दिलाए । उच्च शिक्षाका लागि मात्र उनीहरुको इच्छा बमोजिम बाहिर पठाए । यसमा उनको आफ्नै तर्क छ, ‘स्कुले जीवन जति बलियो, मिठो र अविष्मरणीय अरु बेलाको हुँदैन, तसर्थ आफ्नो भाषा, संस्कृति, सभ्यता, इष्टमित्र र साथी संगत जरुरी हुन्छ । यो जीवनभर यादगार रहन्छ ।’ उनकी जेठी पुत्री एमबीए सकेर संघीय राजधानीमा बिजनेस थालिसकिन् । अर्की छोरी चेल्सी बेंगलोरमा स्नातकोत्तर तहमा आम सञ्चार तथा पत्रकारिता अध्ययनरत छिन् । उनी आर्टमा पनि पारङ्गत छिन् । उनका आर्टले देश विदेशमा चर्चा बटुल्न सफल भएको पनि चम्पालालले जानकारी दिए । सन्तानको रोजाइमा उनको हस्तक्षेप हुँदैन । मार्सा सिनेटरको भनाइ छ नि, ‘जुन कामप्रति तिमीलाई प्रेम छ, हो त्यही गर, त्यसपछि पैसा उर्लेर आउँछ ।’ उनले आफुले इच्छाएको काम गरे, सन्तानलाई पनि आफुले इच्छाएको काममा प्रेरित गर्छन् ।
बिरुवाको परियोजनामा सबै फाइदै फाइदा छ, घाटा छैन । सबै किसानले चम्पालाल बोथराको यो अवधारणा अनुशरण गरिदिए ‘हरियो वन नेपालको धन’ भन्ने नेपालको साख चाँडै फर्कनेमा उनी विश्वस्त छन् । यो सब उनको ब्रह्मले भनिरहेको छ । कोही विज्ञले अहिलेसम्म यसको सर्वपक्षीय घाटाका बारेमा पुष्टि गर्न सकिरहेको छैन ।
उनको आफ्नै दैनिकी भने निकै अनुशासित छ । बिहान ४ बजे उठ्छन् । नित्यकर्म सकेर ५ बजे जिम फिटनेस सेन्टर पुग्छन् । दुई घण्टा शारीरिक तन्दुरुस्तीको नियमित अभ्यास सकेर पासाङल्हामुमार्गस्थित निवास फर्किसक्छन् । नुहाइुधुवाई गरी पुजा कोठामा पस्छन् । डेढ घण्टा पुजा आरधनामा बिताउँछन् । अनि बिहानको नास्तापछि ९ बजे अफिस पुगिसक्छन् । दिउँसो १ बजे खाना खाने र दिनभर अफिसियल काममा बिताएर बेलुकी ७ बजे रात्री भोज लिने उनको दैनिकी हो । ‘९ बजे सुतिसक्छु ।’ उनी भन्छन्, ‘पुजा अर्चना हाम्रो नियमित कर्म हो ।’ स्वास्थ्य प्रति उनको सजगता देख्दा गौतम बुद्धलाई सम्झिन मन लाग्यो । उनले कतै भनेका छन्, ‘स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो सम्पत्ति हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।’ गौतमबुद्धका यी भनाइ चम्पालालको जीवनमा लागु हुन्छ ।
तीन दशक अघि भारतीय सहर आसाममा प्लाइउड उद्योगका जागिरे चम्पालाल अहिले स्थापित उद्योगपति हुन् । उनको फैलिदो व्यापार साँच्चिकै लोभलाग्दो छ ।
नेपालगन्ज र पार्वतीपुरमा गरी दुई वटा प्लाई उद्योग सञ्चालनमा छन् । यी दुवै उद्योगका लागि आवश्यक कच्चा पदार्थ भनेको रुख बिरुवा हो । त्यो पनि कुकाठ । युकिलिप्टिस र लहरे पिपल प्लाइ उद्योगका प्रमुख स्रोत मानिन्छ । यी दुई बिरुवालाई कृषिजन्य पदार्थसँग सुचिकृत गर्न उनको बिशेष जोड छ । किसानले यी बिरुवाबाट अन्य परम्परागत खेतीभन्दा पाँच गुणा फाइदा लिन सक्ने उनको दावी पनि छ । किनभने यी बिरुवा जंगलमा हुँदैन, साथै रोपेपछि हत्तपत्ती नमर्ने यी मर्दैनन् । यी प्रजातिको प्रमुख बिशेषता यही हो ।
यसका लागि उनले कैयनपटक वनमन्त्रीलाई बुझाउने पर्यत्न पनि गरिसकेका छन् । तर, अहिलेसम्मका मन्त्रीले यसको गाम्भीर्यता बुझ्न सकेका छैनन् । ‘हार मानेको छैन’, मुस्कुराउँदै उनी भन्छन् । किसानलाई देखाउनकै लागि गृह जिल्लामा उनले दुई लाख भन्दा बढी युकिलिप्टिसका बिरुवा रोपेका छन् । त्यो देखेर कतिपयले अनुशरण गरिरहेका छन् । नेपालगन्ज नगरभित्र पनि यस प्रजातिका बिरुवा रोपेका छन् । ‘यो सबै देखाउनका लागि मात्र हो ।’ उनी भन्छन्, ‘यसको वृद्धिदर र बिक्री मुल्य थाहा पाएर यसको उत्पादनमा आममानिसलाई अभिरुची जगाउनु मेरो प्रमुख उद्देश्य हो ।’ उन्नत जातको युकिलिप्टिस बढीमा सात बर्षमै तयार हुने उनी बताउँछन् । ‘सात बर्षमा काटेर बिक्री गर्दा किसानले कृषिजन्य चिजको मुल्यभन्दा पाँच गुणा बढी पाउँछन् ।’ उनले सुनाए, ‘हरेक नेपाली किसानका लागि आर्थिक उन्नतिका लागि लिप्टिस क्रान्ति आवश्यक छ ।’
कतिपयले यस प्रजातिको बृक्षारोपणको आलोचना गर्ने गरेका छन् । यसले पानीको मुहान सुकाउने र त्यसले समग्र वातावरणमा प्रतिकुल असर गर्ने ती आलोचकहरुको दावी छ । यद्यपी नेपालमा बर्षौंदेखि निरन्तर युकिलिप्टिसको वकालत गरिरहेका उद्योगपति बोथरा यो मान्न तयार छैनन् । संसारमा यो प्रजातिको बिरुवाका कारण वातावरणमा प्रतिकुल असर गरेको पुष्टि कतै नभएको उनी बताउँछन् । ‘हो, युकिलिप्टिसले पानी बढी खोज्छ, तर वातावरणमा प्रतिकुल असर चाहि गर्दैन ।’ उनी भन्छन्, ‘त्यसो हो भने विकल्पमा लहरे पिपललाई प्रवद्र्धन गरौं, तर किसानलाई यी रुख रोप्न प्रेरित गरौं ।’
किसानलाई पनि यी रुखबाट मनग्गे फाइदा लिनसक्ने जानकारी छ । तर उनीहरु सहजै खेतीको विकल्पमा रुख रोप्न तयार छैनन् । किनभने नेपालको कानुनप्रणाली निकै झन्झटिलो छ । रुख कटानका लागि वन कार्यालय धाउनुपर्ने आदि कानुनी झन्झटमा फस्न किसान उत्सुक हुँदैनन् । तसर्थ यी रुखबिरुवालाई कृषि उपजसँग जोड्न सकियो भने धेरै किसान आकर्षित हुनेमा उनी धेरै आशावादी छन् । उनी देशविदेश घुमिरहन्छन् । झण्डै डेढ दर्जन देशको भ्रमण गरिसके । अन्य देशले गरेको अनपेक्षित प्रगति देखेर उनी आत्तिएका छन् । विकास र प्रविधिका क्षेत्रमा जतिसक्दो चाँडो काम नगरे पछि परिने उनको राय छ । ‘बर्षौंदेखि हाइड्रो पावरको चर्चा परिचर्चा मात्र छ, अब पनि यथाशक्य चाँडो उत्पादन गरेर बेच्न सकिएन भने लगानी बालुवामा पानी निश्चित छ ।’ उनी भन्छन्, ‘भारतीय बजार नै हाम्रो बिजुली खपत हुने ठाउँ हो, उनीहरु वैकल्पिक अन्वेषणको काममा जुटिसके, अब पनि ढिला गरियो भने प्रविधिले फड्को मारिसक्नेछ र हाम्रो उत्पादन त्यसै खेर जाने निश्चित छ ।’ उनले प्रवद्र्धन गर्न खोजेको युकिलिप्टिस, लहरे पिपल प्रजातिका बिरुवाहरु मलेसिया, भियतनाम, इन्डोनेसिया र चाइनाले आक्रामक ढंगले प्रवद्र्धन भइरहेको उनले देखेका छन् । त्यहाँको भ्रमणका क्रममा उनले यो थाहा पाए । नेपालले प्लाइ तयारीका लागि कच्चा पदार्थ भारतीय बजारबाट आयात गर्नु परिरहेको बाध्यता छ । करोडौं रुपैयाँ विदेश जान्छ । उनको मन यसैमा कटक्क खान्छ । यहाँको खाली जमिनभरि यी युकिलिप्टिस र लहरेपिपल रोपेर उत्पादन बढाउन सके नेपाली किसानको हातमा पैसा जाने र नेपालीलाई आत्मनिर्भरको बाटोमा लैजान सकिने पर्याप्त आधार रहेको उनी देख्छन् । अहिले सात सय करोडमात्र माल निर्यात भइरहेकोेमा अबको दश बर्षमा पाँच हजार करोड रुपैयाँको प्रतिबर्ष निर्यात गर्न सकिने उनको आँकडा छ । यस्तो प्रकारको बृक्षारोपणले वन जोगाउन पनि मद्दत गर्छ । वन जंगलमा काठ र कुकाठ गरी दुई प्रजातिका रुख हुन्छन् । घरायसी सामान अधिकांस पहिले काठबाट निर्माण हुन्थे । डेढ सय बर्षदेखि काठ मात्र प्रयोग गरिंदै आउँदा वनजंगल सखाप हुने अवस्था सिर्जना भयो । यसको विकल्पमा प्लाइ उत्पादन सुरु भएको हो ।
प्लाईलाई कु–काठ भए पुग्छ । दररेटमा काठभन्दा प्लाई ६ गुणा सस्तो पर्छ, तसर्थ माग दिनहुँ बढ्दो छ । विकास निर्माणको कामले गति लिएसँगै प्लाई आवश्यक भइरहन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा भौतिक पुर्वाधारका कामहरु धमाधम भइरहेका छन् । यहाँ प्लाईको माग थेगिनसक्नु छ । संयोग के भने पुर्वाधार निर्माणमा काम लाग्ने प्लाई यिनै बोथराको शिखर प्लाईकै उत्पादन हुन् । उत्पादन क्षमताका हिसाबले नेपालमा सञ्चालित ६५ उद्योगमध्ये शिखर प्लाई शिर्ष स्थानमा छ । करिब ७० किसिमका प्लाई यो उद्योगले उत्पादन गर्छ । दैनिक सय टन भन्दा बढी प्लाई उत्पादन भइरहेको उनले जनाए । यिनका यी दुई प्लाई उद्योग र शिखर ब्रान्डकै अर्को विद्युतीय तार उत्पादक उद्योग गरी तीन वटा उद्योगमा दक्ष र अदक्ष गरी पाँच सय बढी कामदारलाई रोजगारी दिएकोमा उनी सन्तुष्ट छन् ।
स्कुल पढ्दा चम्पालाल बोथरा जहिल्यै नम्बर एक हुने कल्पना गर्थे । प्लाई उद्योगमा उनी नम्बर एकमै पर्छन् । अबको योजना प्लाई उत्पादनका लागि स्वचालित मेसिन जडान गर्ने र शिखर ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा छ्यापछ्याप्ती बनाउने तयारी हो । एकदिन एशियाकै नम्बर एक प्लाउड उत्पादक कम्पनी बनाउने उनको सपना छ । यसका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ नेपालमै उत्पादन हुन जरुरी छ । उनी भन्दैछन्, ‘देशका सबै भएभरका जमिनमा बिरुवा रोपौं, आत्मनिर्भर बनौं ।’
प्लाइउड फ्याक्ट्रीको जागिरे जीवनमा राति उद्योगमै सुत्नुपर्दा उद्योगको सपना देखेका चम्पालालको जीवन संघर्ष, सफलता र प्रेरणाले भरिपूर्ण छ । प्रादेशिक राजधानी नेपालगन्ज नहुँदा पनि नेपालगन्जले आफ्नो मौलिक पहिचान जोगाउन सके सम्भावना जिवितै रहेको उनको निष्कर्ष छ । नेपालगन्जलाई औद्योगिक सहरका रुपमा स्थापित गर्ने प्रदेश सरकारको योजनामा उद्योगपति चम्पालालको आफ्नै तर्क छ । उद्योग स्थापनाका लागि दुई कुरा आवश्यक हुन्छ । अर्थात् उद्योग चल्ने आधार हुन्, पहिलो कच्चा पदार्थको सहज उपलब्धता, अर्को स्थानीय बजारमा खपत र माग दिनप्रतिदिन बढ्दो अनुपात ।
सरकारले नेपालगन्जको सम्भाव्यता अध्ययन गरेर लगानीको बाटो देखाउन सक्नुपर्दछ । आफ्नो परियोजनामा भने उनी ढुक्क छन् । र, अरुलाई पनि यो अनुशरण गर्न सुझाउँछन् । बिरुवा, जमिन र उद्योग उनको एकिकृत परियोजना हो । उनी भन्छन्, ‘उद्योगबाट तयारी सामान बेच्छु, त्यसका लागि कच्चा पदार्थ आफैं उत्पादन गर्छु । त्यो भन्दा पनि महत्वपूर्ण कुरा म सुदुर भविष्यमा जमिन किनबेच गर्न सक्छु । तसर्थ बिरुवाको परियोजनामा सबै फाइदै फाइदा छ, घाटा छैन ।’ सबै किसानले चम्पालालको यो अवधारणा अनुशरण गरिदिए ‘हरियो वन नेपालको धन’ भन्ने नेपालको साख चाँडै फर्कनेमा उनी विश्वस्त छन् । यो सब उनको ब्रह्मले भनिरहेको छ । कोही विज्ञले अहिलेसम्म यसको सर्वपक्षीय घाटाका बारेमा पुष्टि गर्न सकिरहेको छैन ।
आज (मंगलबार) जैन धर्मावलम्वीको उपवास बस्ने दिन हो । उनीहरुका लागि यो दिन निकै महत्वपूर्ण छ । भोलि बुधवार आत्मालोचना गर्ने दिन । यदि कसैलाई कुनै कारणवश बर्षदिनमा मन दुखाउने काम गरिएको छ भने क्षमायाचना गर्ने दिन हो ।
त्रिरत्न अन्तर्गत सम्यक आचरणमध्ये सत्य र मिठो बोल्ने गुणलाई सबैले अनुशरण गर्न सके साँच्चिकै सभ्य र समृद्ध समाज निर्माण हुनसक्छ । एउटा समृद्ध समाज इमान्दार उद्योगी व्यवसायी, साँचो पत्रकार, आचरणयुक्त शिक्षक, कुशल डाक्टर वा इन्जिनियर आदि मिलेर बनेको हुन्छ । त्यो भन्दा पनि बढ्ता असल मानिसहरुको सामुहिक कर्मले बन्छ । नेपालगन्जलाई ब्रान्डिङ गर्ने सवालमा यहाँको खेलकुद, सिनेमा र साहित्यको प्रवद्र्धन जरुरी छ । यस्ता काममा सबैको हातेमालो अपरिहार्य छ ।