गैडाको आक्रमणबाट तीन घाइते

भावुक योगी÷बर्दिया
बाटो बिराएर गाउँमा पसेको बर्दिया राष्ट्रिय निकुञ्जको गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिकामा तीन जना घाइते भएका छन् । बारबर्दिया नगरपालिकाको नवनिर्मित कुसुम्बाघाट झोलुङे पुल हेर्न गएका स्थानीय बासिन्दालाई कुसुम्बाघाटको झोलुङे पुल नजिक रानीपुरमा गैंडाले आक्रमण गर्दा तीन जना घाइते भएका हुन् ।

गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिका ४ का ६५ वर्षीय जङ्गली थारु, ३९ वर्षीय रामप्रसाद थारु र १० वर्षीया शिखा थारु घाइते भएको ४ नम्बर वडाका वडाध्यक्ष मानबहादुर थारुले बताएका छन् । शनिबार विहान बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुर गाउँको मकै बारीमा गैंडा निस्किएको थियो । स्थानीय बासिन्दाले गाउँमा गैँडा देखेपछि प्रशासनमा खबर गरेका हुन् ।

जिल्ला वन र बर्दिया निकुञ्जको टोलीले गैडा धपाउने प्रयास गरिहेका बेला भाग्दै गरेको गैँडाले कुसुम्बाघाटको झोलुङे पुल नजिक तिन जनालाई घाइते बनाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् । गैँडाले आक्रमणबाट घाइते भएका मध्ये दुई जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

निकुञ्ज भित्रबाट गाउँमा पसेको गैँडालाई राख्ने खोर चितवनबाट मगाइएको र खोर आएपछि डार्ट गरेर गैँडालाई बर्दिया निकुञ्जभित्र पठाउने तयारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । जेठको अन्तिम सातादेखि बर्दिया निकुञ्ज भित्रबाट बाहिर निस्किएर बाटो बिराएको गैडा अझैँ निकुञ्ज भित्र प्रवेश गर्न सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया