५० वटा चोकमा हाइमाष्ट लाइट लगाउने
सहरी विकास मन्त्री मो. इस्तियाक राईले चालु आ.व.मा बाँकेका लागि झण्डै ३ अर्बका योजनाहरु स्वीकृत भएको बताएका छन् । आइतबार नेपालगन्जमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्री राईले बाँकेको विकासलाई आफुले प्राथमिकतामा राखेको बताउँदै बाँकेमा स्वास्थ्य, बाटोघाटो, धार्मिक स्थल, खेलकुद क्षेत्रका लागि झण्डै ३ अर्बको योजनाहरु स्वीकृत भएको बताएका हुन् ।
सहरी विकास मन्त्री राई करिब २ अर्बको ठेक्का सम्झौता हुने क्रममा रहेको जानकारी दिंदै विकासमा सबैले हातोमालो गर्न आव्हान गरेका थिए । उनले आफ्नो र अन्य मन्त्रालयका धेरै योजनाहरु बाँकेमा पार्न सफल भएको आशय व्यक्त गर्दै गत आ.व.मा भएका कामहरुको बारेमा जानकारी दिएका थिए ।
मन्त्री राईले स्वास्थ्य मन्त्रालय अन्तर्गत चालु आ.व.मा बाँकेको बनकट्टी, नरैनापुर, खजुरा, बैजनाथ लगायतमा १५ शैय्याको अस्पताल बन्न लागेको बताए । उनले जुंगे महादेवको सौन्दर्ययीकरण, गुरुद्वारामा आश्रय स्थल, रामलिला मैदान, मस्जिदहरुको सौन्र्दयीकरणका योजनाहरु पनि चालु आ.व.का लागि स्वीकृत भैसकेको बताएका छन् ।
बाँकेको राप्ती, सिधनीयामा १० करोड लागतमा अत्याधुनिक क्रियापुत्री भवन, स्नान गृह, शवदाह गृह बनाइने मन्त्री राईले जानकारी दिएका छन् । भज्जुपूर्वामा १० करोड लागतमा चिल्डे«न पार्क निर्माणको योजना रहेको बताउँदै मन्त्री राईले कान्ती तलाउलाई व्यवस्थित र आकर्षक बनाउन पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको बताएका छन् ।
सहरी विकास मन्त्री राई बाँकेका ५० वटा चोकमा हाइमाष्ट लाइट लगाउने योजना रहेको सुनाउँदै भने, ‘चालु आ.व.मा उक्त कामहरु सम्पन्न हुनेछन् ।’
गत बर्ष भेरी अञ्चल अस्पताल स्तरोन्नतीको काम सुरु भएको जानकारी दिंदै मन्त्री राईले ५७ करोडको लागतमा हाल रहेको २ सय वेड क्षमतालाई ५ सय पुर्याउने काम सुरु भैसकेको बताए । उनले चालु आ.व. भित्रै काम सम्पन्न हुने गरी ठेकेदारले काम अगाडि बढाएको अनुगमनका क्रममा पाएको जानकारी दिए । ‘भेरी अस्पतालको स्तरोन्नती सँगै गुणस्तरीय र सुलभ रुपमा सर्वसाधारणले सेवा प्राप्त गर्न सक्नेछन्’, उनले भने ।
सहरी विकास मन्त्री राईले एक बर्ष सहरी विकास मन्त्रालयले ल्याण्डफिल साइट सञ्चालन गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिएका छन् । ल्याण्डफिल साइट व्यवस्थापनका लागि ७ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने मन्त्री राईले बताएका छन् ।
गत बर्ष सम्झौता भएका ५० प्रतिशत काम सकिएको उल्लेख गर्दै मन्त्री राईले पत्रकार सम्मेलनमा बाँकी कामहरु पनि सञ्चालनमै रहेको बताए । गत बर्ष डेढ अर्बको योजनाहरु कार्यान्वयन सुरु गरिएको उनले जानकारी दिएका छन् ।
४५ करोड लागतमा बाँकेको भवनीयापुरमा सिटि हल निर्माणको काम अगाडि बढेको मन्त्री राईले जानकारी दिएका छन् । उनले वाटरपार्कको जग्गा र लालपुर्जाको समस्या समाधान गरिएको बताउँदै छिट्टै लालपुर्जा वितरण हुने बताए । उनले कारकाँदो र नन्दनीमिलका बाइपासको निर्माण अगाडि बढेको बताएका छन् ।
पत्रकार सम्मेलनमा क्यान्सर पीडित दुई पत्रकारलाई मन्त्री राईले नगद ५० हजारका दरले सहयोग गरेका छन् । आन्द्राको क्यान्सरबाट पीडित रहेका बाँकेका पत्रकार (हाल चितवन) बस्दै आएका बरिष्ठ पत्रकार रेशम बिरही र बोनम्यारो क्यान्सरबाट पीडित रहेका सुर्खेतमा क्रियाशिल पत्रकार डिलप्रसाद शर्मालाई उपचारका लागि ५०÷५० हजारको दरले मन्त्री राईले सहयोग गरेका हुन् । सहयोग रकम पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र पूर्व अध्यक्ष रुद्र सुवेदीले बुझेका थिए । उनीहरुले तत्कालै उपचाररत पत्रकारहरुलाई उक्त सहयोग रकम उपलब्ध गराउने बताएका छन् ।