नेपालगन्जको काञ्जिहाउसबाट दैलेख लैजानेक्रममा सुर्खेतको कटकुवामा पशु चौपायहरुको मृत्यु भएको विषयमा छानविनका लागि गठन भएको समितिले आइतबारदेखि काम सुरु गरेको जनाएको छ ।
समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकले निष्पक्ष र तटस्थ रही आप्mनो जिम्मेवारलिाई तोकिएको समयभित्रै पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आवश्यक सकारात्मक सल्लाह, सुझाव एवं सहयोगका लागि सबैमा अपिल गरेको हो । बैठकले सोमबार विहान काञ्जिहाउसको स्थलगत निरीक्षण गर्ने, दिउसो ३ बजे उपमहानगरपालिकामा सरोकारवालालाई आमन्त्रण गरि सल्लाह र सुझाव लिने निर्णय गरेको छ ।
समितिको प्रबक्तामा समितिका सदस्य बसन्त गौतमलाई तोकिएको छ । छानविनका लागि १५ दिनको समय पाएको समितिमा पत्रकार पूर्णलाल चुके,अधिकारकर्मी बिश्वजित तिवारी, बसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर, पशु स्वास्थ्य विशेषज्ञ जनकराम भण्डारी सदस्य र सदस्य सचिवमा उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल रहनुभएको छ ।
कयौं घटनापछि तिब्र आलोचनाको केन्द्र बनेको नेपालगन्ज उप–महानगरपालिकाले पनि छानविन समिति गठन गरेको थियो । सडक दुर्घटना बढ्दै गएपछि व्यवस्थापनका लागि गाई गोरु लगायतका चौपाया दैलेख लैजाने निर्णय उपमहानगरका लागि गलपासो बनेपछि अधिवक्ता विकास आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
गृहमन्त्रालयले गौमृत्यु प्रकरणको छानविन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सुरक्षा निकाय समेतको सहभागिता रहने चार सदस्यीय छानविन समितिलाई प्रकरणको बास्तविकता पत्ता लगाउने गरी १५ दिनको म्याद दिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विज्ञप्तिमा गृहमन्त्रालयले गाईहरुको ओसारपसार, अस्वभाविक मृत्यु तथा घाइते भएकाका सम्बन्ध यथार्थ पत्ता लगाउने जनाएको छ ।
उक्त समितिलाई कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता छ दोषीलाई प्रचलित कानुन बमोजिम कस्तो कारवाही गर्नेसम्मको अधिकार उक्त समितिलाई दिइएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई कडा कारवाही गर्ने र उन्मुक्ति नदिने गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
यता, घटनालाई लिएर नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले धारणा सार्वजनिक गरेका छन् । छाडा पशुचौपायाको व्यवस्थापन गर्न पवित्र उद्देश्यका साथ दैलेख स्थानान्तरण गर्दा भएको घटना भएको भन्दै नगर प्रमुख डा. राणाले उपमहानगरपालिकाले समिति बनाएको र गृहमन्त्रालयले बनाएको समितिलाई सहयोग पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।
उता सुर्खेत प्रहरीले जंगलमा अलपत्र छाडिएका मध्ये १६६ गाई नेपालगन्ज फर्काइदिएको छ । उनीहरु कान्जी हाउसमा पुनःस्थापन भएका छन् ।
दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगन्जतर्फ पठाइएको जानकारी सुर्खेत प्रशासनले दिएको हो । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगन्ज फिर्ता पठाइएका ेहो । यस प्रकरणमा ३४ बढी गाईको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या वा स्वाभाविक मृत्यु भन्ने रहस्य खुल्ने प्रहरीको भनाइ छ ।