मृत भेटिए २२ गाई
नेपालगन्ज– २१ विर्तामा रहेको कान्जी हाउसबाट दैलेखको श्रीस्थानका लागि बिहीबार राती लगिएका गाई, बाछाबाछी मध्ये केही सुर्खेतको कटकुवास्थित जंगलमा मृत फेला परेका छन् । दैलेखको श्रीस्थानका कृषकले गाई पाल्ने बताएपछि नगरपालिकाले प्रक्रिया पुर्याएर आठ वटा ट्रक मार्फत २ सय ९१ गाईगोरु पठाएको थियो । तर, केही गाई जंगलमा मृत फेला परे भने कतिपय अलपत्र अवस्थामा । प्रारम्भिक जानकारी अनुसार, २२ वटा गाई मृत फेला परेका छन् भने घाइतेको संख्या एकिन छैन । भीरबाट लडेका कारण पशुहरु मरेको अनुमान गरिएको छ ।
दैलेख पुग्नु अघि नै गाईहरु बीचैमा छाडिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । केही दिनयता कान्जी हाउसमा रहेका गाई संरक्षणका लागि नेपालगन्जमा अभियान पनि सञ्चालन भैरहेको थियो । यसैबीच पठाइएका गाई सुर्खेतको जंगलमा मृत फेला परेपछि नेपालगन्जमा आक्रोश व्यक्त गरिएको छ । गाईको मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा नेपालगन्ज उपमहानगरपालिकाको कडा आलोचना गर्दै छानविन गर्दै दोषीलाई कारवाही माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाई मृत्युको घटनामा अनुसन्धान गरिरहेको छ । वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले सञ्चारमाध्यमलाई बताएका छन् । तीमध्ये ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा परिसकेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले असल नियतका साथ गाई दैलेख पठाइएको प्रतिक्रिया दिंदै भने, ‘के कति कारणले यो अवस्था आयो सम्बद्ध निकायबाट बुझ्ने काम भैरहेको बताए ।’ उनले कुनै पनि किसिमको भ्रम र अफवाहबाट जोगिन आग्रह समेत गरेका छन् ।
गाई मृत्युको घटना बाहिर आएपछि शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले विज्ञप्ति जारी गरी प्रशासनसँगको समन्वयमा घटनाको जाँचबुझका लागि समिति गठन गर्ने जानकारी दिएको छ ।
‘पशु चौपायाहरुलाई सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही पशु चौपायाहरु मरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक भएका समाचारहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, कार्यवाहक नगर प्रमुख सुनिल सिंह हमालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुर्खेतको कटकुवा सम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पु¥याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले सो पशु चौपायहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने जानकारी गराउँदछौं ।’
‘सीमावर्ती भारतीय क्षेत्र समेत बाट दैनिक रुपमा भित्रिने छाडा पशु चौपायका कारण नेपालगञ्ज क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना भइरहेको र किसानको बालीनालीमा क्षति पुगिरहेको अवस्था छ’, उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी भित्रिने पशुहरु अधिकांश रोगी, वृद्ध, अशक्त, घाइते अवस्थाका हुने भएका कारण आफै र उपचारको क्रममा समेत मर्ने गरेका र मृत्यू पश्चात समेत उचित व्यवस्थापन गर्ने गरिएको छ ।’
नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुको उचित व्यवस्थापनको लागि नेपालगन्ज उपमहानगरपालिका वा.नं.२१ स्थित पुरैनामा स्थायी कान्जीहाउस निर्माण गरिरहेको छ । काञ्जिहाउसको निर्माण कार्य सम्पन्न नहुँदा सम्मको लागि सोही स्थानमा अस्थायी रुपमा छाडा पशु चौपायाको संरक्षण र उचित व्यवस्थापनको लागि सोही स्थानमा पशु प्राविधिक सहित थप अन्य ५ जना कर्मचारीहरु खटाइएको कार्यवाहक नगर प्रमुख हमालले बताएका छन् ।
‘छाडा पशु चौपायाका कारण दिनहु जसो हुने सवारी दूर्घटनाको न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि छाडा पशु चौपायाको सुरक्षित स्थानमा स्थानान्तरण अत्यावश्यक रहेकाले स्थानीय प्रशासन समेतको समन्वयमा कान्जिहाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेत हुँदै दैलेख जिल्लाको सुरक्षित स्थानमा पुर्याउने पवित्र उद्देश्य बमोजिम सुरक्षित साथ छाडा पशु चौपायालाई पठाइएको हो’, कार्यवाहक नगर प्रमुख हमालले विज्ञप्तिमा भनेका छन् ।
कान्जी हाउसमै पनि पशु, चौपायाको उपचार अभावमा मृत्यु हुने गरेको थियो । उपचार र आहाराका अभावमा यसअघि कान्जी हाउसमै पनि ४० बढी पशुको मृत्यु भैसकेको छ । पशुलाई आहाराको अभाव भएपछि नेपालगन्जमा गाई संरक्षण अभियान सञ्चालन गरी उपचार र आहाराको व्यवस्था पनि गरिएको थियो । आर्य समाज, नेपालगन्ज ग्यालेरी गाई संरक्षणका लागि सक्रिय थियो । त्यसैलाई आधार बनाई नेपालगन्ज उपमहानगरपालिकाले गाई संरक्षण कोष स्थापना गर्दै त्यसका लागि संरक्षणमा सक्रिय युवाहरुको सहभागितामा समिति गठन गरेको थियो । बिहीबारको घटना पछि समितिका उपाध्यक्ष डा. विनोद कर्ण, सचिव समिर मान श्रेष्ठ र कोषाध्यक्ष श्यामकाजी श्रेष्ठले पदबाट राजिनामा दिएको फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।