बागेश्वरीको कब्जा जग्गा खोज्दै आयोग


प्रसिद्ध शक्तिपीठ, बागेश्वरी मन्दिरको सम्पत्ति कब्जा भएका विषयमा सञ्चारमाध्यमहरुले चर्चा गरेपछि सार्वजनिक सरकारी गुठी जग्गा छानबिन आयोगले गम्भीर चासो राखेको छ ।
पूर्व न्यायाधीश मनोरमण भट्टराईको अध्यक्षतामा गठित अधिकार सम्पन्न आयोगले बागेश्वरीको सम्पत्ति छानविनका लागि गम्भीर चासो देखाएको हो । ‘सञ्चारमाध्यममा आएका विषयवस्तुहरु सुक्ष्म ढंगले अध्ययन गर्दैछौं’, आयोगका अधिकृत जनक पोखरेलले दैनिक नेपालगन्जसँग भने, ‘आयोगका अध्यक्ष र आयुक्तज्यूहरुबाट बागेश्वरी गुठीको सम्पत्तिबारे बिस्तृत अध्ययनको ध्यानाकर्षण भएको छ ।’
आयोग स्रोतका अनुसार, मालपोत तथा भूमिसुधार कार्यालयबाट बागेश्वरी गुठीको सम्पूर्ण सम्पत्ति विवरण, जग्गाको फेहरिस्त माग भएको छ । ‘हामीसँग प्राप्त प्रमाणहरुको आयोगले माग गरेको छ’, बागेश्वरीको सम्पत्तिबारे कानुनी वकालत गरिरहेका अधिवक्ता लोक बहादुर शाहले दैनिक नेपालगन्जसँग भने, ‘हामीसँग प्राप्त प्रमाण आयोगलाई उपलब्ध गराइसकिएको छ ।’
प्रमाणको अध्ययन र समाचारहरुको विश्लेषणपछि आयोगको टोली स्थलगत अध्ययनका लागि नेपालगन्ज आउने भएको छ । ‘छिट्टै स्थलगत अनुसन्धानका लागि आयोगको टोली नेपालगन्ज आउने छ’, केन्द्रीय गुठी संस्थानका कानुन अधिकृतसमेत रहेका आयोगका अधिकृत पोखरेलले भने ।
बागेश्वरीको सय विगाह बढी जग्गा रहेको दाबी विभिन्न कोणबाट गरिंदै आएको छ । तर, ८४ विगाह जग्गा बागेश्वरी गुठीका नाममा रहेको दस्तावेजले पुष्टि गरेको छ । ‘उक्त जग्गा तीन सय बढी जनालाई बिक्री, वितरण गरिसकिएको खुलासा भएको छ’, अधिवक्ता शाहले भने ।
कानुनविद्का अनुसार, राजगुठीको सम्पत्ति रैकर बनाएर बिक्री वितरण गर्न पाइँदैन । ‘बागेश्वरीको जग्गा कसरी रैकर बनाएर बिक्री वितरण गरियो ?’, कानुनी लडाईका लागि आवश्यक योजना बनाइरहेका नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले भने, ‘पवित्र धार्मिक आस्थाको सम्पत्तिमा लुट मच्चाउनेहरु अपराधी हुन् ।’ उनीहरुलाई सम्पत्ति फिर्तासँगै कडा कानुनी कारवाहीको माग सम्बद्धहरुबाट गरिंदै आएको छ ।
बागेश्वरी मन्दिर, गुठी व्यवस्थापन समितिले समेत बागेश्वरी मन्दिरको जग्गा फिर्ताका लागि हदैसम्मको लडाई लड्ने जनाएको छ ।

गुठी–दल विमर्श

बागेश्वरी गुठी व्यवस्थापन समितिले बाँकेका राजनीतिक दलसँग विमर्श गरेको छ । गुठीले बागेश्वरीमा निर्माण हुन लागेको व्यापारिक कम्प्लेक्स (सटर) र दीर्घकालीन विकासका प्रयासहरुबारे आफुले गरिरहेको पहल बारे दलहरुसँग औपचारिक विमर्श गरेको हो ।
‘बागेश्वरीको बृहत्तर विकासका लागि सर्वदलीय निर्णयका आधारमा गुठी चल्ने हो’, गुठी अध्यक्ष डा. धवल समशेर राणाले सर्वदलीय बैठकमा सटर बनाउने वा नबनाउने कुरालाई आफुले ‘ईगो’ नबनाएको प्रष्ट पार्दै भने । नेपाल कम्प्युनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी लगायतको सहभागितामा भएको छलफलमा गुठीले गरिरहेका कामहरुका बारेमा जानकारी गराइएको थियो ।
गुठीले छिट्टै बागेश्वरीको सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी पनि बैठकमा दलहरुलाई जानकारी गराइएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया