समाचारदाता
मुलुकमा संघीय व्यवस्था लागु भएपछि जनतालाई गाउँमै सिंह दरबारको भावना अनुरुप संघ अन्तर्गत रहेका कतिपय कार्यालयहरु स्थानीय तहमा गए । संघ अन्तर्गत छुट्टाछुट्टै कार्यालयले दिने सेवा स्थानीय तहको एउटै छातामूनि प्राप्त हुने व्यवस्थाले सेवाग्राहीलाई सेवाग्राहीलाई सहज भयो ।
बाँकेमा एउटा त्यस्तो कार्यालय पनि छ, जुन गाउँका लागि स्थापना त भयो । तर, सेवा लिन भने सहर नै धाउनु पर्दै आएको छ । सरकारले जिल्ला प्रशासन कार्यालय टाढाको दुरीका रहेका ठाउँमा सेवाग्राहीले दुःख नपाउन्, सेवा सहज रुपमा प्राप्त गर्न सकुन् भनेर इलाका प्रशासन कार्यालयको व्यवस्था गर्ने गरेको छ । जिल्ला प्रशासनबाट दिइने अधिकांस सेवाहरु इलाका प्रशासन कार्यालयबाट दिइन्छ ।
बाँकेको राप्तीपारी विकट मानिन्छ । प्रशासनबाट दिइने सेवा लिन त्यहाँका बासिन्दालाई नेपालगन्ज आउजाउ गर्न कठिन र टाढाको दुरी पार गर्नुपर्ने भएकाले त्यहाँ इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । तर, इलाका प्रशासन कार्यालय कार्यक्षेत्र भन्दा ४० किलोमिटर टाढा नेपालगन्जबाट सञ्चालित छ । यसअघि नेपालगन्जको फुल्टेक्राबाट सेवा दिने गरेको इलाका प्रशासन कार्यालय नरैनापुर हाल जिल्ला प्रशासन कार्यालयको हाता भित्र सरेको छ । अचम्म मान्नुपर्ने कुरा त के भने जिल्ला प्रशासन कार्यालय बाँकेबाट दिइने सेवा दिनका लागि त्यही कार्यालय हातामा अर्को इलाका प्रशासन कार्यालय सञ्चालनमा छ ।
नरैनापुरका बासिन्दा सेवा लिनका लागि नेपालगन्ज धाउन बाध्य छन् । त्यसले इलाका प्रशासन कार्यालय नरैनापुरको औचित्य माथि नै प्रश्न उठाएको बताउँछन् नरैनापुर गाउँपालिकाका रमेश गोडिया । ‘सेवा लिन नेपालगन्ज नै जानु पर्ने हो भने जिल्ला प्रशासन कार्यालयमै पुग्न सकिन्छ’, उनले भने, ‘इलाका प्रशासन किन राख्नु पर्यो ?’
सुरक्षा र सुविधाको कारण देखाउँदै इलाका प्रशासन कार्यालयलाई नेपालगन्जबाट सञ्चालन गर्न लागिएको हो । बर्षौ नेपालगन्जबाट इलाका प्रशासन कार्यालय सञ्चालन हुँदा पनि त्यसलाई गाउँ फर्काउने तयारी भने गरेको पाइँदैन । अप्ठ्यारो बाटो, विद्युत उपलब्ध नहुँदा इलाका प्रशासनले नेपालगन्जमा राखिएको अधिकारीहरु बताउँछन् । तर, अहिले नरैनापुरको स्थिति फेरिदै गएको छ । नरैनापुरसम्म नै बाटो बनिरहेको छ । विद्युतीकरणको काम पनि भैरहेको छ । विद्युत उपलब्ध नहुँदा सम्म विकल्पमा सोलार तथा जेनेरेटरको प्रयोग गर्न सकिन्छ । तर, कार्यालय सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउने भन्दा पनि गाउँ नजाने बहाना इलाका प्रशासनको देखिन्छ ।
द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै इलाका प्रशासन कार्यालय नरैनापुर सदरमुकाम नेपालगन्ज ल्याइएको थियो । कर्मचारीहरु समेत बस्न नमानेपछि नेपालगन्ज ल्याइएको इलाका प्रशासन बर्षौ बित्दा पनि नफर्किएको हो ।
‘सुरक्षाका कारणले गर्दा नेपालगन्ज सारिएको इलाका प्रशासन नरैनापुर बाँकेले यहीबाट सेवा दिइरहेको छ’, प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, ‘भौतिक पूर्वाधार, विद्युत लगायतका समस्याले नरैनापुरमा इलाका प्रशासन सञ्चालन अप्ठ्यारो छ ।’
इलाका प्रशासन कार्यालय नेपालगन्जमै बसेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीपारीलाई लक्षित गरी प्रत्येक बर्ष शिविर राख्ने गरेको छ । शिविरका बेला सयौंले नागरिकता लिने गरेका छन् । ‘प्रशासनले राख्ने शिविरबाट राप्तीपारीका सयौंले नागरिकता लिने गर्नुभएको छ’, प्रजिअ भुजेलले भने ।
नरैनापुरबासीले नागरिकताका लागि लामो दुरी तय गरेर नेपालगन्ज आउनु पर्यो वा त प्रशासनले आयोजना गर्ने शिविर कुनुपर्यो ।
२२ हजार लिए नागरिकता
वैवाहिक अंगिकृत नागरिकता १ हजार ४८ लाई
गत आ.व. ०७५/०७६ मा जिल्लामा २२ हजार ६ सय ८९ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेबाट १३ हजार ४ सय ८७, नेपालगन्जबाटै कार्यालय सञ्चालन गर्दै आएको इलाका प्रशासन कार्यालय नरैनापुरबाट १ हजार ३ सय २५, इलाका प्रशासन कार्यालय कोहलपुरबाट ७ हजार ८ सय ६७ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
सबैभन्दा बढीले वंशज नागरिकता लिएका छन् । उनीहरुको संख्या १४ हजार ७ सय ६४ रहेको छ । वैवाहित अंगिकृत नागरिकता लिनेको संख्या १ हजार ४८ रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७ सय २, इलाका प्रशासन कार्यालय नरैनापुरबाट ३ सय २७ र इलाका प्रशासन कार्यालय कोहलपुरबाट १९ जनाले वैवाहित अंगिकृत नागरिकता लिएका हुन् ।