बागेश्वरी परिसमा व्यवसायीका पीडा : ‘समयमैं सटर बनाउ’

नेपालगन्ज – बागेश्वरी मन्दिर परिसरमा सटर नबनाउन भन्दै दबाब बढाउन खोजिरहँदा सम्बद्ध व्यवसायीहरुले भने सडक र नाली निर्माणका क्रममा भत्किएका सटरहरु तत्काल निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरुले जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन, मानवअधिकार सम्वद्ध संस्थाहरुलाई ज्ञापन पत्रसमेत बुझाउँदै आफुसँग भएका सहमति कार्यान्वयनमा इमान्दारिदाको माग गरेका हुन् ।

‘बागेश्वरी गुठी व्यवस्थापन समितिसँग भएको सहमति अनुसार सटर कोठा निर्माण गरी पेशा व्यवसाय रोजगारको हकसमेत सुरक्षित गर्न पहल गरिदिन हामीले सम्बद्धहरुसँग माग गरेका छौं,’ सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष समेत रहेकी स्थानीय व्यवसायी दुर्गा अधिकारीले दैनिक नेपालगन्जसँग भनिन्, ‘पत्रकारहरुले पनि वागेश्वरी गुठी व्यवस्थापन समितिसँगको शर्त अनुसार जाँदा हामीले भोग्नुपरेका पीडा लेखिदिनु प¥यो ।’

व्यवसायीहरुले सरोकारवालाहरुलाई मंगलवार संगठित ध्यानाकर्षणपछि पत्रकार सम्मेलन गर्दै आफुहरुले बैंक ऋण गरेर गुठीलाई धरौटी स्वरुप २÷२ लाख रुपिया बुझाएको बताएका छन् । ‘पाँच महिनासम्म पनि सटर निर्माण नहुँदा व्यवसाय डामाडोल भएको छ,’ वागेश्वरी मन्दिरको दक्षिण पश्चिमतर्फ रहेका १६ ओटा सटरमा व्यवसाय सञ्चालन गरेका उनीहरुले गुठी व्यवस्थापन समितिमा तत्काल सटर निर्माण पुरा गरी सहमति अनुसार व्यवसायी सञ्चालन गर्न निवेदनसमेत दिएको अधिकारीले जानकारी दिइन् ।

तेजु केसी, घनश्याम वैश्य, मदन श्रीवास्तव, कृष्णकुमार गुप्ता, कमला चौधरी, मनिष श्रीवास्तव, रामप्रसाद सापकोटा, सरस्वती थापा लगायतका व्यवसायीले जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टी लगायतमा निवेदन दिएका हुन् । ‘मानवअधिकार आयोग देखि नेपालगन्ज उद्योग वाणिज्य संघ सम्म गुहार लगाएका छौं,’ अधिकारीले भनिन् ।

बागेश्वरी गुठीले दशकौंदेखि पसल व्यवसाय चलाउँदै आएका १६ परिवारलाई नयाँ निर्माणपछि पनि निशर्त दिने गरि पसल भत्काएर सडक चौडा गर्न सहमत गराएको थियो । उनीहरुलाई ५ वर्षसम्म प्रति सटर १० हजार मासिक रकमको सहमतिसमेत गरेको गुठीले मासिक भाडामा आधा रकम कटाउँदै जानेगरि २ लाख रुपिया धरौटी समेत लिइसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया