टीएस ठकुरी
विश्व मानचित्रकै महान हस्ती नेल्सन मण्डेला भन्छन् –‘जबसम्म कुनै काम गरिन्न, तबसम्म त्यो असम्भव जस्तो देखिन्छ ।’
नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज नजिकैका केही बस्ती यस्ता छन्, जहाँ विकास र समृद्धि अझै पनि सपना झैं लाग्छन् । जिल्ला सदरमुकाम नेपालगन्जसँग ती बस्तीको नाता जोड्न लामो समय असम्भव जस्तै देखिए । सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिएका सिंगो नरैनापुर र राप्ती सोनारीका केही बस्तीहरु अहिले पनि विद्युतीय सञ्जालसँग जोडिन सकेका छैनन्, यो तीतो यथार्थ हो । शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सडक सञ्जालको आधारभुत सेवाबाट स्थानीय बासिन्दा बर्षौंदेखि बञ्चित रहँदा ती बस्ती राज्यको मुल प्रवाहमा आउन सकेनन् । यो सत्य हो । यद्यपी पछिल्लो समय देशको संघीय संरचनाले राज्यको मुलधारमा जोड्न खोजेको आभाष हुन थालेको छ ।
प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) सबैभन्दा पछाडि परेका बाँकेका नरैनापुर लगायत ठाउँलाई साँच्चिकै नमुना बनाउने अभियानमा जुटेकी छन् । उनी हरेक अवरोध पन्छाउँदै सम्भावना उजागर गर्ने अभियानमा छिन् । मरुभूमि जस्तै फाँट छन् । हरियाली बनाउनु चुनौति छ । चुनौतिका माझ नै अवसरहरु पर्खेर बसेका हुन्छन् । सायद नमुनालाई यो राम्रोसँग थाहा छ । २०५२ सालमा राज्यविरुद्ध बन्दुक उठाउनु चुनौति हैन, असम्भव झैं थियो । असम्भवलाई सम्भव तुल्याउन आँट र हिम्मत चाहिन्छ, मेहनत गर्नुपर्छ, लगनशील बन्नुपर्छ । सम्भवतः राजनैतिक स्कुलिङमा पनि यो सिकाइन्छ ।
जब काम गरिन्छ, तब मात्र सम्भव हुन्छ । नमुना यसमा सहमत छिन्, दृढ छिन् । सदन चलेका बेला प्रदेश अस्थायी मुकाम बुटवल हुन्छिन्, अन्यथा गृहजिल्ला उनको पहिलो रोजाइ हो । अझ आफ्नो निर्वाचित क्षेत्र प्रमुख प्राथमिकता । ‘जब त्यहाँ पुग्छु, संसार बिर्सन्छु ।’ उनी सुनाउँछिन्–‘जनताका समस्या देख्छु, निकै भावुक हुन्छु । अनि जिम्मेवारीबोधको ठुलो भारी बोकेर फर्कन्छु ।’
एक समय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नीजि सचिवालयमा बसेर कार्यानुभव सँगालेकी नमुना विकास बजेट विनियोजनका धेरै पाटाहरुका बारेमा जानकार छिन् । उनी प्रचण्डकी विश्वासपात्र मध्ये हुन् । त्यसैले त सचिवालयमा कोर टिमभित्र रहेर काम गरिन् । यो समयको अनुभवले उनलाई देश दुनियाँ बुझ्न र काम गर्न पक्कै सघायो । त्यसैले उनले पिछडिएको ठाउँलाई निर्वाचन क्षेत्रका रुपमा स्वीकार गरिन् । त्यहाँ चुनौतिका चाङ मात्र थुप्रिएका थिए, छन्, त्यसलाई उनले अवसरका रुपमा लिइन् । पार्टीको सांगठनिक संरचना बलियो नहुँदा पनि जनतामाफ परीक्षा दिने आँट गरिन्, उत्तीर्ण पनि भइन् ।
कुनैपनि दलबिशेषको पकड नभएको त्यस क्षेत्रमा काम गर्नुको मजा बेग्लै छ । निर्वाचित भएपछि उनी निरन्तर निर्वाचन क्षेत्रमा समर्पित छिन् । त्यसैले त मतदातालाई रिझाउन सफल छिन्, धेरै कामको फेहरिस्त दिन सक्ने आधार तयार गरिसकेकी छिन् । जनप्रतिनिधिका हैसियतमा कतै न कतै उनको भुमिका पक्कै हुने गर्छ, तर उनी क्रेडिट नलिइ काम गरेर देखाउने मुडमा छिन् । उनको निर्वाचन क्षेत्रअन्तर्गत नरैनापुर र राप्ती सोनारी दुवै पालिका उनीभन्दा फरक विचारका हुन् । तर उनी दुवै पालिका प्रमुखलाई सघाएर अघि बढिरहेको बताउँछिन् । ‘विकास र सेवाका क्षेत्रमा मलाई दलगत स्पर्धा गर्नुछैन ।’ उनी भन्छिन्–‘जसरी हुन्छ, जनताको सेवा गर्ने हो । विकासको मुल फुटाउने नै हो । यसमा सबैलाई मिलाएर अघि बढ्न सकियो भने नै जनताले विकासको अनुभुति गर्न सक्छन् ।’
विकास र सेवा दलगत राजनीतिक स्वार्थभन्दा माथि उठ्न सकेमात्र जनताको वास्तविक सेवा हुन्छ भन्नेमा उनी प्रस्ट छिन् । सायद यो कुरा उनले पालिका प्रतिनिधिहरुलाई पनि बुझाउन सफल छिन् । बाँकेको पुर्वी क्षेत्रमा रहेका दुई प्रदेश निर्वाचन क्षेत्रमध्ये नमुना र आरती पौडेल निर्वाचित भएका थिए । आरती हाल कृषि तथा सहकारी मन्त्री छिन् । नमुना भने गाउँ बस्ती पुगेर जनताका समस्या पहिचान गर्दै कसरी समाधान गर्न सकिन्छ भनेर चिन्तन गरिरहन्छिन् । जनताका समस्या समाधानमा तल्लीन छन् । स्थानीय र राज्यबीच सेतु बनिरहेकी छिन् ।
नरैनापुर पुग्न सजिलो छैन । बर्षायाममा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले नमुना मोटरसाइकलमै नरैनापुर र राप्ती सोनारी पुगिहाल्छिन् । उनलाई गाडी नै चाहिंदैन । जनताको घरदैलो पुग्न पाए हुन्छ । सदनबाहेक समय जनताका घरदैलो पुगेर उनीहरुका हरेक समस्यासँग साक्षात्कार गर्ने उनको बानी भइसक्यो ।
साउन २४ गतेदेखि सदन स्थगित छ । त्यसयता उनको दिनचर्या गाउँ बस्ती डुल्दैमा बित्ने गरेको छ । मतदातामाझ पुगेर उनीहरुका समस्या सुनिदिने र समाधानका उपाय पहिल्याउने उनको दैनिकी बनेको छ । ‘यो समय मैले आफुले पारेका योजना अनुगमन र निरीक्षण गर्नमै व्यस्त छु,’ उनले भनिन्, ‘छनोटमा परेका योजना कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भनेर सरोकारवालासँग परामर्श गरिरहेकी छु ।’ ‘जनता उत्साहित छन्,’ उनीहरु नै भन्छन्– ‘तपाईंको प्रयास सकारात्मक छ, प्रयास गरिरहनुभएको छ ।’
यही भदौ ६ गतेसम्म घरदैलो अभियान टुंग्याएर उनी नेपालगन्ज तथा नजिकै हुने गरेका हरितालिका तीजका कार्यक्रमहरुमा उपस्थिति जनाउन थालेकी छिन् । ‘तीज नजिकिंदै छ, टाढा भएका महिला दिदी बहिनीलाई आत्मीयता भावना साटासाट गर्ने काममा पनि लागेकी छु ।’ महिलाहरुको महान पर्व हरितालिका तीजका दर खाने कार्यक्रमहरुमा सरिक भइरहेकी नमुना यसलाई सभ्य र समृद्ध बनाउनुपर्नेमा जोड दिन्छिन् ।
तीज बर्षेनी भड्किलो बन्दैछ । यो बिशुद्ध संस्कृति हो, यसको जगेर्ना आवश्यक छ । तर स्वयं महिलाहरु यसलाई चाड वा संस्कृति भन्दा पनि आपसमा आर्थिक हैसियत स्पर्धा गर्ने थलोका रुपमा लिन थालेका छन् । यो डरलाग्दो पक्ष हो । नमुनाको चिन्ता पनि यसैमा छ । नेपालीको संस्कृतिका रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ । कम्तीमा चेतनशील महिलामाझ आफैं उपस्थित भएर त्यसलाई सरलीकृत गर्दै जाने उनको प्रयास छ ।
चाडपर्वमार्फत पनि समाज रुपान्तरणको दिशामा नेपाली महिलालाई लैजान सकिन्छ । उनको धारणा पनि यस्तै छ । त्यसकै लागि केही दिन तीजका कार्यक्रममा भाग लिने उनी बताउँछिन् ।
आम मानिसका झैं उनका पनि दुई रुप छन् देखिने र नदेखिने । गम्भीर र चिन्तनशील स्वभाव उनको खास परिचय हो । धेरै नहाँस्ने र कम बोल्ने उनको देखिइने परिचय हो । जनताका काम र परिणामका लागि सम्बन्धित निकायहरुमा दौडिरहने उनको नदेखिइने परिचय हो । सायद यही परिचयका कारण उनीप्रति जनताको आशा र भरोसा दुवै छ । विद्युतीकरणका लागि उनले लिएको पहलकदमी देखिन लायक छ । उनको सक्रियतामा त्यस क्षेत्रका जनताले विद्यतीय सेवा चाँडै पाउने अपेक्षा गर्न सकिन्छ । ‘क्षेत्रीय विद्युत प्राधिकरण आफैं काम गरिरहेको छ, मुख्य लाइन डेढ महिनाभित्र पुरा हुन्छ । ’ उनी भन्छिन्–‘साइड लाइनका लागि पनि काम अगाडि बढिसकेको छ, ३० करोडको टेन्डर खोलेर जनताका घरघरमा बिजुली पुराउनेगरी काम बढेको छ ।’ विद्युतीकरणको योजना अहिले पारिएको हैन । जब उनी प्रधानमन्त्रीको नीजि सचिवालयमा थिइन्, त्यतिबेला जनार्दन शर्मा प्रभाकर उर्जामन्त्री थिए । जिल्लावासीका नाताले नमुनाले उर्जामन्त्रीसामु अवगत गराइन्, त्यतिबेलैदेखि यसको काम सुरु भएको थियो ।
राप्तीपारिका जनताको अर्को प्रमुख चुनौति बाढी हो । कटान रोक्न सकिन्छ, डुबानको उपाय छैन । २०७४ मा बाढी आयो । उनी पार्टीको जिम्मेवारीमा मात्र थिइन् । त्यतिबेला नै जनताका समस्यासँग साक्षात्कार गर्ने अवसर पाइन् । त्यतिबेलादेखि त्यहाँको जनताको समस्यालाई पहिचान गरेकी नमुनाले ‘जनताको तटबन्धन’ परियोजना त्यहाँ अगाडि सारेकी छिन् । ‘डुबान र कटानबाट भयमुक्त गराउन म लागिपरेकी छु ।’ उनले भनिन्–‘संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छु, एडिबीले पनि रुचि देखाएको छ ।’
हरदम गम्भीर मुद्रामा देखिनु उनको बिशेषता हो । यो देखावटी हैन । देश र जनताप्रति उनको भावनात्मक सम्बन्ध हो । ‘जब पारी जान्छु, साँच्चिकै भावुक हुन्छु ।’ उनी भन्छिन् –‘जनताका समस्या बग्रेल्ती छन्, जनप्रतिनिधिबाट अपेक्षा धेरै छन् । मबाट नै पनि धेरै अपेक्षा गरेका छन्, कसरी पुरा गर्ने भन्नेमा निकै चिन्तित हुन्छु , भारी बोकाएको महसुस गर्छु । वास्तवमा आफुलाई जनताको चौकीदार ठान्छु । अनि पुरा गर्ने सकिने नसकिने बिषयले मलाई छुन्छ ।’
भावनाले मात्र पुग्दैन । स्रोत साधन प्रमुख कुरा हो । संघीयता भनेको सबैको समान र सहज पहुँच भन्ने हो । तर राप्तीपारीका बासिन्दाका लागि अब बिस्तारै संघीयताको प्रत्याभुति हुँदैछ । पहिले बैंक थिएनन् । भारतीय मुद्रा प्रचलनमा थियो । अहिले केही प्राइभेट बैंक पुगेका छन् । स्थानीयले नेपाली पैसा चलाउन सहज मान्न थालेका छन् । ‘सरकारी बैंकहरुलाई पनि कारोबार बढाउन अनुरोध गरिरहेका छौं ।’ नमुनाको जोड छ–‘राज्यका हरेक तह र तप्काले जिम्मेवारीबोध गरिदिए संघीयता कार्यान्वयन गारो छैन ।’ मरुभुमि जस्तो ठाउँलाई हराभरा बनाउँदै सबैलाई साँच्चिकै हेर्नलायक ठाउँ बनाउन उनले दुढसंकल्प पनि गरिसकेकी छन् । कृषि तथा पशु सम्बन्धि कलेज स्थापनादेखि लिएर स्मार्ट कृषि गाउँ परियोजनाका साथै प्राविधिक शिक्षालय, अस्पताल, टेलिफोन लगायत सुविधा पुराउन उनको संकल्पले सायद काम गरिरहेको छ । लक्ष्मणपुरमा १५ सय शैयाको अस्पताल बनिसकेको छ । स्थानीय स्वास्थ्य चौकीहरु व्यवस्थित भइरहेका छन् । प्रदेश सरकारसँग एम्बुलेन्स माग गरिएको पनि उनले बताइन् ।
ग्रामीण किशोरीहरुलाई स्कुल पठाउने वातावरण बनाउन मुख्यमन्त्री शिक्षा अभियानसँग जोडेर घरदैलो अभियान चलाउन लागेको पनि उनले जानकारी दिइन् । हराएका गाउँ भनेर चिनिएका बस्तीमा तत्काल सोलार प्लान्ट जडान गरेर उनीहरुलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान लागिएको पनि उनको भनाइ छ । उनी आफ्नो प्रदेशमा मात्र हैन, नेपालगन्ज वा आसपासका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छिन् । नेपाल टेलिकमको क्षेत्रीय कार्यालयसँग समन्वय गरेर महेन्द्र राजमार्ग क्षेत्रमा चप्परगौडीदेखि कुसुम पुर्वसम्म आधा दर्जन ठाउँमा कतै नयाँ टावर निर्माण र कतै अपग्रेड गरी राजमार्ग वा आसपासमा टेलिफोन सेवा सहज आपुर्ति हुने काममा पनि उनको बिशेष चासो रहेको छ । साथै राप्ती सोनारी र नरैनापुरका कतिपय सडक सञ्जाललाई नेपालगन्जसँग जोड्ने काममा पनि उनको जोड रहेको छ । राजमार्गको सुरक्षित यात्राका लागि तत्कालीन रथी अनन्त कार्कीसँग परामर्श तथा समन्वय गरेर समशेरगन्जमा सर्पदंश केन्द्र स्थापना गर्न सफल भएको बताउँदै उनले प्रदेश सरकारबाट एम्बुलेन्स पनि ल्याएर सञ्चालन गर्न सकेकोमा सन्तुष्ट रहेको बताउँछिन् । साविक मध्य र सुदुरपश्चिमकै हब मानिएको नेपालगन्ज त्यसमा पनि महेन्द्र बहुमुखी क्याम्पस र भेरी अञ्चल अस्पतालमा योगदान दिन सकेकोमा उनलाई कम्ता सन्तुष्टि छैन । ‘प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट साढे सात करोड बजेट ल्याउन सफल भयौं, यसले सबैलाई बिशेषज्ञ सेवा लिन सघाउनेछ ।’ उनी भन्छिन् ।
नेपालगन्ज प्रदेश ५,६ र ७ को केन्द्र हो । यो नमुनाले पनि राम्रोसँग बुझेकी छिन् । त्यसैले त नेपालगन्ज विमानस्थललाई स्तरोन्नति गर्ने सवालमा उनी चनाखो बनेकी छिन् । साथै प्रादेशिक विश्वविद्यालय बनाउने सवालमा पनि आफु दुई कदम अगाडि रहनेमा उनी सबैलाई बिश्वास दिलाउन चाहन्छिन् । आफु प्रधानमन्त्रीको नीजि सचिवालयमा रहँदा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका लागि देखाएको चासो र चिन्ता अहिले पनि उनको मस्तिष्कमा ताजै छ । माओवादी नेता कृष्णबहादुर महरा (हाल सभामुख) अर्थमन्त्री थिए । उनले त्यो सम्बन्धलाई क्याम्पससँग जोडिन् । स्वयं महरा पनि यसै क्याम्पसका पुर्व विद्यार्थी थिए । अनि नमुना पनि यसै क्याम्पसमा पढेकी थिइन् । क्याम्पसको स्तरोन्नतिमा काम गर्न पाएकोमा उनी सन्तुष्ट छिन् । ‘अब बिज्ञानमा स्नातकोत्तर(एमएससी)को अध्यापनका लागि आवश्यक सुविधा उपलब्ध गराउन प्रदेश सरकारसँग लबिङ गरिरहेकी छु ।’ उनी भन्छिन्–‘मेरो एउटै सपना हो समग्र बाँकेको विकास, र एउटा सच्चा समाजसेवीको पहिचान ।’
आफ्नो नाम जस्तै ती नरैनापुर र राप्ती सोनारीका बस्तीलाई पनि नमुना बनाउने अभियानमा जुटेकी छन् । उनलाई निर्वाचित गराएर प्रदेश संसदमा पठाउने यी ठाउँका बासिन्दाले उनीबाट सायद धेरै अपेक्षा गरेका छन् । नेपालगन्जको महानगरीय परिकल्पनालाई सार्थक बनाउने अभियानसँग यी सबैको सम्भाव्यता जरुरी छ ।
हितोपदेशका अनुसार उन्नति चाहने व्यक्तिले निद्रा, थकाइ, झुट, क्रोध, अल्छीपन र रिस जस्ता अवगुणहरुलाई त्याग्नुपर्दछ ।
हो, दश बर्षे माओवादी जनयुद्ध पृष्ठभुमिबाट उदाएकी कृष्णा केसी (नमुना) पनि हितोपदेशलाई अनुशरण गर्दै अघि बढेकी छिन् भन्न सकिन्छ । उनको सक्रियता, निरन्तरता, सम्पर्क, सम्बन्ध र व्यवहारलाई नजिकैबाट नियाल्दा उनले यी अवगुण जति त्याग्ने प्रणका साथ अघि बढ्न खोजेको देखिन्छ । उनीसँग न निद्रा छ, न त थकाइ भन्ने शब्दावली छ । उनको दिनचर्याले आलस्य सबै त्यागेको जनाउ दिन्छ । केही बर्षअघिसम्म माओवादीप्रति आम मानिसको बुझाइलाई उनले पुर्णत तोडिसकिन्, क्रोध र रिस कस्तो हो, स्वयं उनलाई नै थाहा छैन । ‘काम र परिणाम’ मात्र उनको एउटै लक्ष्य हो । महानगर गाथाका लागि न्युरोडनजिकै क्याफेमा उनीसँग भेट्दा यस्तै अनुभुति भयो । कफीमा अमेरिकानो मेरो रोजाइ हो । उनको कुनै च्वाइस छैन । एउटा सरलता यही थियो । इष्टमित्र साथीभाइका अगाडि सांसद पद उनका लागि जहिल्यै गौण हो । सम्बन्ध प्रमुख हो, उद्देश्य र लक्ष्य प्रमुख प्राथमिकता हो । सरलता र शिष्टता उनको अर्को परिचय बनिसकेको छ । सायद एक दशक भुमिगत आन्दोलनबाट उदाएकी नमुना साँच्चिकै नमुना बन्ने लाइनमा छिन् ।