नेपालगन्ज – नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर ‘सटर’ का कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकाँशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ नै भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने ?,’ बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अहिलेको टाउको दुखाई यत्ति हो ।
बागेश्वरी मन्दिर क्षेत्रको सडक चौडा गर्ने क्रममा पुराना सटरहरु भत्किए पछि नयाँ बनाउने योजना बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले अगाडी सारेको थियो । ब्यवस्थापन समितिको यो निर्णय कार्यान्वयन हुन नपाउँदै सटरको विषय सबैको चर्चाको विषय बन्यो । मन्दिर ब्यवस्थापन तथा आवश्यक खर्च ब्यवस्थापन गर्नका लागि सटर भाडा बापत आम्दानी हुने रकम मुख्य हो । मन्दिर ब्यवस्थापनका लागि आवश्यक पर्ने बिभिन्न खर्च ब्यवस्थापन गर्ने मुख्य आम्दानीको स्रोत सटर भाडा बापतको रकम भएको बागेश्वरी गुठी ब्यवस्थापन समितिका अध्यक्ष डा. धवल समशेर राणाले बताए ।
आर्थिक स्रोतकै अभावले लामो समयदेखि मन्दिरले बिभिन्न शिर्षकको भुक्तानी गर्नुपर्ने रकम बाँकी थियो । डा. राणा नेतृत्वको वर्तमान समितिले सटर भाडा बापतको रकम असुली गरि मन्दिरको ऋण तिरिसकेको जनाएको छ । धेरै मेहनत गरेर सटरको भाडा उठाउन सफल भएको जानकारी दिंदै अध्यक्ष डा. राणाले विभिन्न स्रोतबाट व्यवस्थापन धान्नु परेको बताए ।
पुरानो सटरहरुबाट भाडा वापत मात्रै मासिक ५०÷६० हजारको हाराहारीमा भाडा उठ्ने गरेको र सो भाडाको रकम मन्दिरको मुख्य आम्दानीको स्रोत भएको समितिको भनाइ छ । अब नयाँ बन्ने सटरको भाडा दर १० हजार कायम गरि सम्झौता भइ निर्माणको क्रममा कामको सुरुमैं विवाद उत्पन्न गराइएको हो । ‘हजार÷पाँचसय भाडामा चलेका सटरहरुलाई कम्तिमा १० हजार मासिक भाडा सम्झौता गरिएको छ,’ गुठीका सचिव गोपाल अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘१६ वटा पुरानै व्यवसायीलाई दिने सम्झौता छ, एउटा भने खुला प्रतिष्पर्धामा भएकाले ५१ हजारमा गएको छ ।’ उनीहरुसँग् सटर निर्माणका लागि २ लाख प्रति सटर पेश्की समेत लिइएको छ ।
बागेश्वरी मन्दिरदेखि करिब ३०० मिटर नजिकै रहेको सिख धर्मावलम्बीहरुकोे आस्था केन्द्र गुरुद्वारा श्री गुरुनानक सिंहसभा पनि नेपालगन्ज क्षेत्रको अर्काे धार्मिक स्थलको रुपमा छ । सिख धर्मावलम्बीहरुको मुख्य धार्मिक स्थल गुरुद्वारा ब्यवस्थापनको मुख्य आम्दानीको स्रोत पनि सटर भाडाबापतको रकम नै हो । ‘गुरुद्वाराका गेटमा जोडिएका ४ वटा सटरबाट आउने भाडानै नियमित स्रोत हो,’ गुरुद्वारा श्री गुरुनानक सिंह सभा ब्यवस्थापन समितिका सचिव अमरजित सिंहले दैनिक नेपालगन्जसँग भने । एउटा सटरको मासिक ८ हजारका दरले ४ वटाको ३२ हजार सटरबाट, बिभिन्न समुदाय तथा ब्यक्तिहरुले गर्ने दानबापत २५ हजार गरि मासिक ५७ हजार वरावरको रकम आम्दानी हुने गरेको सिंहले बताए । मासिक ४२ हजार पुजारी तथा अन्य कर्मचारीको तलब, २० हजार बिद्युत महसुल तथा अन्य ब्यवस्थापनमा खर्च हुने गरेको बताउँदै सिंहले भने, ‘खर्च ब्यवस्थापनको लागि मुख्य आय स्रोत भएको छ ।’
इस्लामिक हरुको सबै भन्दा पुरानो र ठुलो मस्जिदको रुपमा रहेको जामा मस्जिद सटरभाडाबाटै टिकेको छ । इद, बकर इद लगायतका मुख्य पर्वमा सामुहिक प्रार्थना (नमाज) का लागि विपी चोकस्थित इदगाहमा ठाउँ नपुग्दा सडक पुरै ढाकिएको अवस्था देखिन्छ । तर, नमाजस्थल इदगाहलाई दर्जनौं सटरले घेरिएर कुरुप पारिएको छ ।
त्यतिमात्र होइन, नेपालगन्जको एकलैनीमा रहको जामा मस्जिद यो क्षेत्रकै पुरानो र इस्लामिक धर्माबलम्बीहरुको मुख्य केन्द्रबिन्दुको रुपमा रहेको बताइन्छ । उक्त मस्जिदको नाममा मात्र बिभिन्न ठाउँमा गरि ४६ वटा जति सटरहरु रहेका छन् । मस्जिद संचालन तथा ब्यवस्थापनका लागि हुने बिभिन्न शिर्षकको खर्च रु ३ लाख वरावरको ब्यवस्थापन गर्न सटर भाडानै मुख्य स्रोत हो । ‘सटर भाडा बापत मात्रै मासिक ३ लाख भन्दा बढि आम्दानी हुने गरेको छ,’ दारुउल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालन समितिका कोषाध्यक्ष मो. नाफिस अन्सारीले दैनिक नेपालगन्ज सँग भने, ‘मस्जिदको मुख्य आम्दानीको स्रोत सटर नै हो ।’ धार्मिक कार्यका लागि स्वाबलम्बी तरिकाले आम्दानी गर्ने माध्यम सटर बनेकोे जानकारी दिंदै सटरहरु नभएको भए धार्मिक थलो नै लोप हुने अवस्थामा जाने अन्सारीको भनाइ छ ।
नेपालगन्जको बिटिएस चोक नजिक रहेको क्रिस्चियन धर्माबलम्बीहरुको ज्योती निवास चर्च ब्यवस्थापन तथा संचालनको पनि आफ्रनै तरिका छ । चर्च ब्यवस्थापन तथा संचालनका लागि लाग्ने बिभिन्न खर्च हरेक शनिवार हुने संगतीमा भेटी वापत जम्मा हुने रकम नै आम्दानीको स्रोत भएको सम्बद्धहरुको भनाइ छ । संगतीमा आउने ब्यक्तिहरुले चढाउने भेटी बापत मासिक ५० देखि ७० हजार सम्मा आम्दानी हुने र सोही वरावर बिभिन्न शिर्षकमा खर्च हुने चर्चका बरिष्ठ पास्टर बेन्जमिन बहादुर श्रेष्ठले जानकारी दिए । भेटिबापत जम्मा हुने रकम बाहेक अन्य आम्दानीको स्रोत नभएको बताउँदै कहिले काँही भैपरी आउने खर्च ब्यवस्थापनका लागि विशेष भेटि आउने पास्टर श्रेष्ठले जानकारी दिए ।
‘जातीय संस्थाहरुको आर्थिक सहयोगनै गुम्बा सञ्चालनको स्रोत हो,’ नेपालगन्ज उपमहानगपालिकाका उपप्रमुख समेत रहेकी जनजाती महासंघकी पूर्व पदाधिकारी उमा थापामगरले बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र न्यूरोड स्थित बौद्ध गुम्बा सञ्चालन स्रोत बारे भनिन् । सभाहल समेत रहेको गुम्बा परिसरमा गरिने कार्यक्रमबापत पनि थोर बहुत प्रदान गरिने रकम सहयोगी बन्ने गरेको उनले बताइन् ।