नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति अब उपभोक्ताको अधिकार संरक्षणका लागि सक्रिय भई कार्य गर्ने बताएकी छन् । विगतमा विभिन्न कारणले सोचे जति काम हुन नसके पनि यस आर्थिक बर्षमा ठोस कार्ययोजनाका साथ कार्य गर्ने बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिद्वारा समितिका पदाधिकारी र बजार अनुगमन टोलीका सदस्यहरुलाई बजार अनुगमन निर्देशिका र कार्यबिधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण समितिको संयोजक समेत रहेकी उपप्रमुख मगरले समितिले पहिलो चरणमा सेवा प्रदायक निकायलाई सचेत पार्ने, उपभोक्ता शिक्षाका कार्यक्रम गर्ने बताइन् । सचेत पार्दा पनि बस्तु तथा सेवा प्रदायक निकायले उपभोक्ता हित बिपरितको कार्यलाई जारी राखे कानूनी कारवाही हुने जानकारी दिइन् ।
कार्यक्रममा समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बजार अनुगमन निर्देशिका र कानूनी प्रक्रियाका बारेमा सहजिकरण गरेका थिए । यस क्रममा उनले गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकाले यसको संरक्षणका लागी सबै लाग्नु पर्नेमा जोड दिए ।
बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले उपभोक्ता अधिकारमा बिभिन्न सरकारी कार्यालय र नगरपालिकाले समन्वयात्मक तरिकाले कार्य गर्नु पर्नेमा जोड दिए । ‘बजारको बेतिथि रोक्न र उपभोक्ता सचेत गराउन सबै लाग्नु पर्छ,’ सहायक प्रजिअ उपाध्यायले भने ।
कार्यक्रमका सहभागीहरुले उपभोक्ता सचेतनाका कार्यक्रम वडा स्तरसम्म लैजानु पर्ने, उपभोक्ता अधिकार सम्बन्धि कानूनी ब्यवस्था बारे सरोकारवाला जानकारी गराउनु पर्ने, बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनु पर्ने, सरोकारवाला बिच आपसी समन्वय र सहकार्य हुनु पर्ने, सचेत बनाउँदा पनि उपभोक्ता ठगि गर्ने उपर कानूनी कारवाही गर्नु पर्नेमा जोड दिएको नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए ।
समिति बैठकले समग्र उपभोक्ता हक हित प्रवद्र्धन हुने गरि चालु आ.व २०७६÷०७७ को लागी बार्षिक कार्ययोजना तयार गरि उपभोक्ता अधिकार संरक्षणका लागी कार्य गर्ने निर्णय गरेको नेपालगंज उपमहानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक उमा थापा मगरले जानकारी दिइन् । कार्ययोजना तयारी समितिमा नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पोडैले, सामाजिक बिकाश अधिकृत कृष्ण प्रसाद जोशी र समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम रहेका छन् ।
कार्ययोजना पश्चात बजार अनुगमन, उपभोक्ता शिक्षा लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए । ‘समिति नाम मात्रको हुनु हँुदैन । ठोस कार्ययोजना बनाई उपभोक्ताको पक्षमा प्रभावकारी काम गर्न सक्नु पर्छ,’ गौतमले भने ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक उमाथापा मगरको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम, नेपालगन्ज उपमहानगरपालिका आर्थिक बिभाग संयोजक मञ्जु नेपालीको अभिमूखिकरणमा सहभागिता थियो ।
कार्यक्रममा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पौडेल, गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका प्रमुख योगेन्द्र पौडेल, औषधी ब्यवस्था बिभागकी निनु श्रेष्ठ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी नेत्रा बोगटी, खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालयका एकराज बुढाथोकी, घरेलु तथा साना उद्योग कार्यालयका उजिर प्रसाद न्यौपाने, नेपालगन्ज उद्योग ब्यापार संघका महासचिव अजय कुमार टण्डन, बाँके चेम्बर अफ कमर्सका गोपाल प्रसाद अधिकारी, कमर्सका लगायतको उपस्थिति रहेको थियो ।