नेपाली शब्द सागरका अनुसार घीनलाग्दो चीजबीज वा बस्तु फोहोर हो । सामान्यतया मानव जीवनयापनका क्रममा प्रयोग गरेर फालिने घीनलाग्दा चीजबस्तु फोहोर हुन् । त्यतिमात्र हैन्, अहिलेको विश्वमा ती विभिन्न चीजबस्तु जुन प्राकृतिकरुपमा वा मानवद्वारा उत्पादन गरिन्छ र प्रयोगपश्चात, आवश्यकभन्दा बढीभएर वा प्रयोग गर्न नजानेर यत्रतत्र फालिन्छ ती सबै फोहोर हुन् । फोहोरलाई विभिन्न किसिमले वर्गिकरण गर्ने गरिएको छ । ती हुन्ः क) सड्ने फोहोर र ख) नसड्ने फोहोर । अर्को छः क) ठोस फोहोर ख) तरल फोहोर ग) धूलो र धूवाजन्य (ग्याँस समेत) फोहोर घ) रासायनिक फोहोर । यस्ता फोहोरले हाम्रा गाउँ र सहर दिन प्रतिदिन दुर्गन्धित भएका छन् ।
फोहोर उत्सर्जन अभ्यास
मानव बस्ती भएका गाउँ वा सहर जहाँ पनि दैनिकरूपमा फोहोर उत्सर्जन हुने गर्छ । समान्यतया तरकारी केलाएर वा काटेर र घर आँगन बढारेर निस्कने फोहोर सबै घरबाट उत्सर्जन हुन्छ । त्यसपछि घरमा सामान बोकेर ल्याइएका प्लाष्टिक, कार्टुन, बोरा, झोला आदिको फोहोरको मात्र पनि उल्लेख्य छ । सामान्यतया गाउँका हरेक घरले तरकारी केलाएपश्चातको फोहोर मलखादमा फालेर व्यवस्थापन गर्छन भने सहरीयाहरु बिहानदेखि बेलुकासम्म प्लाष्टिक पोको पार्छन र राती घर अगाडिको बाटोमा बिर्सजन गर्छन् । अर्को दुबै ठाउँमा बढ्दोक्रममा प्रयोग भै रहेको प्लाष्टिकका झोला, खोल, दूधका पोका, चकलेटका खोल, खुट्काका खोलजस्ता नसड्ने फोहोर त प्रयोगपश्चात यत्रपत्र फालेको हामीले देखेकै छौं । कतिले आफ्नो शौचालयको पाइप नगरको नालीमा मिसाउने गरेका छन् । सानादेखि ठूला उद्योग सञ्चालकहरुले उद्योग सञ्चालनबाट निस्केको फोहोर नाला वा नदीमा मिसाउने गरेका छन् । यो अभ्यास कायम रहेमा हाम्रो गाउँसहरको अवस्था के होला? शायद कमैले गम्भीर भएर सोंचेका छौं ।
फोहोर व्यवस्थापनमा नागरिकले बुझ्नै पर्ने कुराहरु
फोहोरका कारण मानव स्वास्थ्य, पर्यावरण, उत्पादनमा असर गर्नुको साथै हाम्रो बासस्थान नै प्रदुषित भएको छ । यसका कारण बेला बेलामा विभिन्न रोगले महामारीको रुप लिंदा पुरै गाउँवस्ती मसानघाट भएको र सहरवासी पनि प्रभावित भएको हामीले देख्दै र भोग्दै आएका पनि छौं । फोहोरको उचित व्यवस्थापन नहुँदा सन् २००९ मा जाजरकोटबाट फैलिएको महामारी १९ बढी जिल्लामा फैलिएको हामीले देखेकै हो । हामीमध्ये कति त सो महामारी नियन्त्रण गर्न लागिपरेकै पनि हो । त्यसैगरी बाँकेको सोनपुर, राप्तीपारी र नेपालगञ्ज बजारमा पनि बेलाबखत फोहोरमिश्रित पानीले टोल प्रभावित भएको पनि आजै हो जस्तो लाग्छ । घटना हुँदा हामी भोलीबाट राम्रो व्यवस्थापन गर्नुपर्छ ठान्छौ, अरुलाई पनि भन्छौ र गर्ने बेलामा फेरी पुरानै व्यवहार अपनाउँछौं जुन हामी सबैको लागि हानीकरक छ ।
सहरबासी धेरैले आफ्नो दायित्व त फोहोर दिने वा फालिदिने मात्र हो भन्ने बुझेका छन् । हामीले त कर तिरेका छौं, फोहोर व्यवस्थापनको काम नगरपालिकाको हो भनेर जथाभावी फोहोर फाल्ने गरेका पनि छन् । कर त सबैले तिरेका छन् सहरीया र व्यवसायीले कर लाग्ने पेसा गरेका छन र तिरेका पनि छन् । करको फूर्ति लाएर फोहोर गर्ने कुट कसैलाई छैन । हामीले तिरेको सबै कर यही फोहोर व्यवस्थापनमा मात्र लगाउँदा नगरको विकास हुन्छ त ? सबैले सोचौं । अझ गम्भीर कुरा, हामीले जथाभावी फालेका सबै फोहोर नगरपालिकाले उठाउन र व्यवस्थापन गर्न सकेको छैन र सक्दैन पनि । यस्तो अवस्थामा हामीले फालेका फोहोरले हामी नजिकैका पोखरी पुरिएका छन्, ढल थुनिएका छन् । कहिले काँही त त्यही फोहोरको दुर्गन्ध सुँघेर दिनरात बिताउन परेको वा बाटो काट्नु परेको पनि छ ।
हामीले आफ्नो एउटा घरलाई त सफा राख्न बिहान, दिउसो र बेलुका कुचो लाउने, पोछा लाउने संभव भए भ्याकुम लाउने गर्नुपर्छ । अझ केटाकेटी भएको घरमा त बेला बेलामा कति फोहोर टिपेर डष्टबिनमा फाल्नु पर्छ । अनि तपाई–हामीले पान खाएर प्याच्च थुक्ने, सुर्ति र गुट्का खोल फाल्ने, पानी खाएर बोटल हुर्र्याउने, सामान ल्याएका प्लाष्टिकका झोला र खोल अर्कोको जग्गा वा सार्वजनिक बाटोमा फालिदिने अनि नगरले उठाउने ? त्यो पनि एपटक होइन, दुई पटक होइन । एक दिन होइन दुई दिन होइन, सधैं । सोच्नुस त, तपाईले सफा गरेको कोठा केटाकेटीले फोहोर गर्दा कति रिसाउनु हुन्छ? कति परेसानी अनुभव गर्नु हुन्छ? सायद कतिले त केटाकेटीलाई गाली गर्ने र पिट्ने पनि गर्नु हुन्छ होला । र भन्नु पनि हुन्छ होला म एउटाले मात्र गरेर घर सफा हुन्छ र? हो हुँदैन यही कुरा तपाई (घरमुली महिला र पुरुष दुबै) ले नगर सफा राख्नका लागि पनि बुझ्न र अभ्यासमा ल्याउन जरुरी छ ।
गाउँमा बस्नेहरुले गाउँघरका खेतबारीमा हिजोआज गोबरमलसँग प्लाष्टिक झोला, प्याकेट, सुर्ति र गुट्काका खोल फालिरहेका छौं अनि भन्छौ उत्पादन कम भो । ला, उम्रेको मात्र के थियो बाली त सुक्यो ! तर हामीले अझै बुझेका छैनौ कि बारीमा फालेका प्लाष्टिक खनजोत गर्दा जमिनमुनि गएर बालीनालीका जराले तलको पानी सोस्ने प्रकृया मा नै अवरोध पु¥याएको छ र उत्पादनमा कमी भएको छ । त्यतिमात्र होइन त्यही प्लाष्टिकले बर्षातको समयमा परेको पानी जमिनले सोस्ने प्राकृतिक प्रकृयालाई अवरोध गरेको छ जसको कारणले बर्षातमा थोरै पानी पर्दा पनि बाढी आउँछ र हिउँदमा बालीनाली छिटो सुक्छ ।
कतिपय सड्ने फोहोरको उचित व्यवस्थापन नगर्दा त्यसले गाउँसहरमा सरुवा रोग फैलाउने जोखिम रहन्छ । नसड्ने फोहोरको उचित व्यवस्थापन नगर्दा त्यसले त्यो ठाउँको धरातलीय स्वरुपलाई नै कुरुप बनाउँछ । त्यस्तो फोहोरमा मानिसलाई नोक्सान गर्ने अन्य जीव सर्प, बिच्छी लगायत आएर बस्ने र बच्चा बनाउने गर्दछन् जुन बस्तीको लागि खतरा नै हुन्छ । त्यसैगरी केही अनुसन्धानहरुले पुष्टि गरेअनुसार प्लाष्टिकजन्य फोहोरको कण–कण हुदै आएको पानी खाँदा कतिलाई क्यान्सर भएको र कतिको सन्तान उत्पादन गर्ने क्षमता नष्ट भएको छ ।
अर्को कुरा हामीले फोलेको फोहोर उठाउने पनि मानिस नै हुन् । हा,े उनीहरुको आर्थिक स्थिति कमजोर भएको र अरु पेसा अगाल्न नसकेकोले यो पेसा गर्न बाध्य छन् । एक पटक सोचौं त हामी फोहोर गर्ने अनि त्यो दुर्गन्छ अर्कोले उठाउने । जथाभावी फोहोर फाल्ने हामी एक दिन मात्र नगरपालिकाको ट्याक्टरसँग फोहोर उठाएर हिड्ने आँट गरौं त ? यदि यो गर्न सक्दैनौ भने आ–आफ्नो घरको सडने र नसड्ने छुट्याएर दिन त सक्छौ नि हैन ? त्यसैगरी आफू र आफ्ना सन्तानले हगेको दिसा नालीमा नमिसाएर एउटा सेफ्टी ट्याङ्क बनाएर भण्डारण गर्न र निश्चित अवधिपछि सफा गर्न त सक्र्छौ नि होइन?
फोहोर व्यवस्थापनमा नागरिकको दायित्वः
घर, नीजि, सरकारी तथा गैरसरकारी संस्था वा कलेज र विद्यालय लगायतका संघसंस्थाको सञ्चालन तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी त्यहाँको नेतृत्व लिएका नागरिकको हुन्छ र सहयोग गर्ने दायित्व सो निकायसँग आवद्ध सबै नागरिकको हुन्छ । यतिबेला हामीले गरिरहेको काम, चलाइरहेको व्यापार÷व्यवसायबाट आर्जन गर्ने धनभन्दा भावी पुस्तालाई सफा र स्वच्छ सहर हस्तान्तरण गर्नु कुरा निकै चुनौतिपूर्ण भएको छ । अहिले कै अभ्यास कायम रहेमा कमाएको धन के काम लाग्न यदि हाम्रा सन्तानले अर्को सन्तान जन्माउन सकेनन् वा जन्मिएका पनि क्यान्सर लगायतका रोगले प्रभावित भए भने ? तसर्थ हामीसबैको आश्रयस्थल हाम्रो गाउँसहरलाई सफा, स्वच्छ अनि वातावरणमैत्री गाउँसहरकोरुपमा विकास गर्न निम्न दायित्वलाई कर्तव्य सम्झेर पालना गरौं र नागरिक हुनुको दायित्व पुरा गरौं ः
– हरेक घरबाट उत्सर्जन हुने फोहोरलाई कम्तिमा पनि सड्ने र नसड्ने गरी छुट्याऔ । सड्ने फोहोरलाई घरमै कम्पोष्ट मल बनाऔं । घरमा खाली जग्गा छैन भने खाली जग्गा भएका छिमेकीको मलखादमा लगेर फाल्ने अभ्यास थालौं ।
– नसड्ने तर पुनः प्रयोग गर्न सकिने फोहोरलाई घर वा कार्यालयमा नै पुनः प्रयोग गरौं ।
– गलाएर अर्को बस्तु बनाउन मिल्ने प्लाष्टिकजस्ता फोहोरलाई एउटा बोरामा घरमै जम्मा गरौं र भरिएपछि नगरपालिकालाई जिम्मा लगाऔं वा रिसाइकिल गर्ने उद्योगलाई दिऔं ।
– एकपटक प्रयोग गरेपश्चात फालिने प्लाष्टिक झोला, चम्चा, गिलास, थाल, आदिको प्रयोग नगरौं । चिसो, जुस, हट वा कोल्ड लेमन जस्ता खाद्य पदार्थ नखाऔं । खानै परेमा प्लाष्टिकको पाइपको प्रयोग नगरौं ।
– पानी खाएपश्चात बोटललाई उचित स्थानमा मात्र विसर्जन गरौं
– घरमा प्लाष्टिकका खेलौनाहरु नल्याऔं । खानेकुराहरुको भित्र राखिएका स–साना प्लाष्टिकका खेलौना भएका बस्तु प्रयोग नगरौं÷नगराऔं ।
– सामग्री खरिद गर्न जाँदा आफूसँगै कपडाको झोला लिएर जाने बानी बसालौं ।
– घर, पसलमा जम्मा भएका प्लाष्टिक जहाँपायो त्यही नजलाऔं । त्यस्ता फोहोर जम्मा गरेर कवाडी खरिदकर्ता वा नगरपालिकाका सरसफाइकर्तालाई दिएर पठाऔं ।
– हरेक प्रकारको फोहोरबाट पैसा कमाउन सकिन्छ । सो को खोजी गरौं । अभ्यास थालौं ।
निष्कर्षः
हामीले निष्कासन गर्ने फोहोरले हाम्रो अनुहार बिगारिरहेको छ । यो कुरालाई समयमा मनन गरी समाधानको बाटो रोज्नु र मनैदेखि खोजिएको उपायहरु अबलम्वन गर्नु आजको आवश्यकता हो । के गाउँ, के सहर हिजोआज घरमा तरकारी लगाउने जग्गा भए पनि बजारबाट तरकारी किन्ने अभ्यास गरिरहेका छौं । सो संगै प्लाष्टिक ल्याइरहेका छौं । शायद सँगै ल्याएको भएर हो कि वा अज्ञानताको कारण सोही प्लाष्टिकमा पोको पारेर सडाएर कम्पोष्ट मल बनाउन सकिने तरकारीका बोक्रा पनि फाल्छौं । बचेको दालभात पनि प्लाष्टिकका पोको पारेर फाल्छौं । यो अभ्यासले एकातिर परिवारलाई बिषादियुक्त तरकारी खुवाइरहेका छौं भने अर्कोतिर नगरलाई फोहोर बनाइ रहेका छौं । तरकारी वा दालभात पोको पारेको प्लाष्टिक खाँदा गाई र घोडाहरु मरिरहेका छन् ।
हामीले सुन्दर भविष्यको कल्पना गर्दै गर्दा हाम्रा बानी व्यवहारहरु पनि परिवर्तन गर्नु पर्छ अन्यथा हामी नागरिरको सामान्य दायित्व तथा कर्तव्य पूरा गर्नबाट चुक्छौं । तसर्थ हरेक नागरिकले फोहोर व्यवस्थापनमा पनि नागरिकको दायित्व पूरा गरौं । एक थुकी सुकी, सय थुकी नदी भन्ने नेपाली भनाईलाई सार्थक बनाउन योगदान गरौं ।