त्यहाँ पुग्दा साँझको ६ बजेको थियो । आगलागीबाट क्षतविक्षत भएको टहराहरुको विचमा पीडितहरु एकै ठाउँमा बसेर दुख साटासाट गरिरहेका थिए । पीडितहरुले एक आपसमा साटासाट गरिरहेका भावनाहरु अरु केही नभएर आगलागीबाट बेहोर्नु परेको क्षतिको विषय थियो । साउन २३ गते नेपालगन्जको विपि चोकमा रहेका फर्निचर पसलमा भएको आगलागीबाट पीडित भएका ब्यवसायीहरु आगलागी भएको १० दिनपछि बल्ल आफ्नो पसल रहेको स्थानमा जम्मा हुन थालेका छन् । आगलागीबाट करौडौको क्षति बेहोर्नुपरेको पीडालाई विर्सिने कोशिश गरिरहेका पीडितहरुले बिस्तारै पसलको पुनर्संरचना निर्माण कार्यको थालनी गरेका छन् ।
आगलागीबाट एउटै पसलले मात्र २० लाख भन्दा बढीको क्षति बेहार्नु परेको घटनाको स्मरण गर्दै पीडितहरु आगलागीबाट खरानी भएको स्थानमा जम्मा भएर आगलागी भएको १० दिन वितिसक्दा समेत कुनै पनि निकायबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेका थिए ।
आगलागीबाट सबै भन्दा ठुलो क्षति भएको बाबा फर्निचर उद्योगका प्रोप्राइटर हासिम अली सिद्धिकीले आगलागीबाट ठुलो नोक्सानी बेहोर्नु परेको पिडा सुनाउदै अहिले सम्म पनि सम्हालिन नसकेको बताए ।
‘आगलागी भएको यतिका दिनसम्म नोक्सानीको व्यवस्थापन गरी कसरी व्यवसाय पुन्नः सञ्चालन गर्ने भन्ने सोच्न सकिएको छैन’, सिद्धिकीले आँखाबाट आँसु झार्दै भने, ‘के गर्ने कसो गर्ने कुनै मेसो पाएका छैनौं ।’ कति दिनसम्म आगलागीको पीडा बोकेर विभिन्न कार्यालयहरुमा धाउँदा समेत कुनै पनि निकायबाट अहिलेसम्म कुनै किसिमको राहतको अनुभूति गर्न नपाएको उनको भनाइ थियो । आगलागी भएको दिनमा घरमा सुतिरहेको समयमा आगलागी भएको खवर सुन्दा आत्तिदै पसलमा पुग्दा पसल आगोले खरानी बनाउन थालिसकेको सिद्दिकीले बताए । ‘कुनै पनि सामान बचाउन सकिएन’, उनले भने । त्यो दिन होस नै हराएको उनी बताउँछन् ।
आगलागीबाट करिव २० लाख वरावरको नोक्सानी बेहोरेका न्यू एवन स्टील फर्निचर उद्योगका प्रोप्राइटर अवदुल बाहद सिद्धिकीको ब्यथा पनि त्यस्तै छ । हासिम अली सिद्धिकीकै पसलसंग जोडिएको अब्दुल बाहिद सिद्धिकीको फर्निचर पसल पनि आगलागीबाट क्षतविक्षत बनेको छ । लामो समयदेखि ब्यवसाय गर्दै आएको बताउने सिद्धिकीले आगलागीबाट १३ वटा उद्योग तथा पसलको गरि करिव ५ करोडको क्षति पुगेको बताए । यत्रो क्षति पुगेको विषयमा सबै निकायलाई थाहा भएको भएपनि अहिलेसम्म कुनै पनि निकाय तथा संघ संस्थाबाट राहतको अनुभूति गर्न नपाएको उनको गुनासो थियो ।
पसल सुरुवात गर्दा एउटा पसलको ट्रस्ट बनाउँदा ५ लाख सम्म खर्च भएको बताउँदै अहिले पुनः त्यहि अवस्थाको ट्रस्ट बनाउँदा मात्रै ६ देखि ७ लाख खर्च हुने भन्दै स्थानीय सरकारले आफ्नो दुःखमा साथ दिने आशा गरेको उनको भनाइ थियो । आगलागी भएको भोलिपल्ट देखि निवेदन र कागज पत्र बोकेर कहिले जिल्ला प्रशासन कार्यालय, कहिले नगरपालिका त कहिले विभिन्न निकायहरु धाउनमै आज सम्म दिन बितेको भए पनि आश्वासन बाहेक आफुले केही नपाएको गुनासो उनको थियो ।
सानिया स्टील फर्निचर उद्योगका प्रोप्राइटर फिरज अन्सारीले १० दिनको अन्तरालपछि विस्तारै पीडा भुल्ने काशिश गर्दै आगोले जलेको पसलको पुननिर्माण कार्यमा जुडेको बताए । ‘जतिबेला पनि पहिलेको पसलको सम्झना र आगलागीबाट भएको नोक्सानीको पीडाले सताउने गरेको र पीडा जति भुल्न खोजे पनि भुल्न सकिरहेको छैन,’ उनले दैनिक नेपालगन्जलाई भने । आगलागी भए लगत्तै नेपालगन्ज उपमहानगरपालिकाको दमकललाई खवर गरेको भएपनि घटना घटेको आधा घण्टा पछि मात्रै दमकल आइपुगेको र त्यो पनि आधा पानी र फाटेको पाइप भएको दमकल जस्को कारण आगो नियन्त्रणमा आउन नसकेको उनको भनाइ थियो । समयमै सबै ब्यवस्था सहितको दमकल घटना स्थलमा पुगेको भए यति ठुला क्षति नहुने उनले बताए ।
कर्मचारीका आफ्नै समस्या
आगलागीका घटना नियन्त्रण गर्ने र आगो निभाउन प्रयोग गरिने उपयुक्त उपकरण भनेको दमकल नै हो । पछिल्लो समय नेपालगन्ज क्षेत्रमा आगलागीका घटनाहरु बढ्दै गएको पाइन्छ र आगलागीबाट ठुलो संख्यामा क्षति पनि हँुदै आएको पाइन्छ । आगलागी हुने बित्तिकै सबैको ध्यान दमकललाई खबर गर्नतिर नै जान्छ ।
आगो नियन्त्रण गर्न दमकल बाहेक अरु विकल्प छैन । विडम्वना कहिलेकाही आगलागी भएको स्थलमा समयमै दमकल नपुग्दा समस्या हुने गरेको सुनिन्छ । विद्युत सर्टका कारण आगलागीका अत्याधिक घटना हुने नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिकाले समस्यालाई मध्यनजर गरि केही महिना अघि एउटा दमकल थपेर दुई वटा बनाएको छ । एउटामात्रै दमकल हुँदा ठुलो आगलागीका घटनाहरु नियन्त्रण गर्न चुनौती भोग्दै आएको उपमहानगरपालिकाले दमकल थपेपछि पहिलेको तुलनामा धेरै सहज आएको नेपालगन्ज उपमहानगरपालिका वारुण यन्त्र शाखाका इन्चार्ज झइन बहादुर खड्काले बताए ।
दुई वटा दमकल जति बेला पनि तयारी अवस्थामा बस्ने गरेको र आगलागीको घटना भएको सूचना पाउनासाथ जाने गरेको खड्काले बताए । नजिकैबाट समेत सूचना दिएको आधा घण्टा पछि मात्रै घटना स्थलमा पुग्ने गरेको पीडितहरुको भनाइ रहेकोमा सूचना पाएको पाँच मिनेटमा कार्यालयको गेटमा पुगी सक्ने त्यसपछि घटनाको दुरी हेरेर पुग्ने गरिएको खड्काको भनाइ थियो । कहिलेकाहीं सिधै आफुलाई सूचना नआइ नगरपालिका र जिल्ला प्रहरी कार्यालयमार्फत सूचना आउने हुँदा ढिलो हुने गरेको बताउँदै सूचना पाएपछि आफ्नो तर्फबाट एक मिनेट पनि ढिलो नहुने उनले बताए ।
दुई वटा दमकल रहेको उपमहानगरपालिकाको वारुण यन्त्र शाखामा १३ जना कर्मचारी २४ घण्टे ब्यवस्था गरिएको छ । १३ जनामा १ जना शाखा इन्चार्ज १ जना सहइन्चार्ज, २ जना दमकल चालक र ९ जना फाएरमेन छन् । दुइ वटा दमकलका लागि दुई जना मात्रै चालक अपुग भएको वारुण यन्त्र शाखाका कर्मचारीहरु बताउँछन् । आगलागी बाजा बजाएर नहुने भएकाले २४ अै घण्टा दुवै जना स्टेनवाई अवस्थामा बस्नुपर्ने हुन्छ कहिलेकाही आलोपालो गर्न समेत पाइँदैन नाम नबताउने एक जना दमकल चालकले गुनासो पोखे । अरु कर्मचारीहरु पर्याप्त मात्रामा भएकाले आलो पालो गर्ने गरेको तर आफुले कहिलेकाहिँ आफन्तको मृत्यु हुँदा समेत जान नपाइने दुखेसो चालकको थियो । ‘एक जना मात्रै पनि थप चालकको ब्यवस्थापन भएको भए धेरै राहत हुने थियो’, उनले भने । चालक थप गर्न वारम्वार उपमहानगरपालिका संग माग गरेको तर सुनुवाइ नभएको जसका कारण आफुहरु मर्कामा पर्दै आएको चालकको भनाइ थियो । चालक थप गर्ने विषयमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा दुई वटा दमकलका लागि दुई जना चालकहरु पर्याप्त भएको बताउँदै थप गर्नुपर्ने अवस्था आए सोच्न सकिने बताउँछन् ।
१३ जना कर्मचारीहरुलाई बस्नको लागि शाखामा दुई वटा कोठाहरुको ब्यवस्था गरिएको छ । २४ सैं घण्टा सबै कर्मचारीहरु शाखामा उपस्थित हुने गरेको र खाना खाने समयमा मात्रै पालैपालो जाने गरेको शाखाका कर्मचारीहरु बताउँछन् । त्यहाँ शाखामा कार्यरत कर्मचारीहरुका लागि मासिक २ हजार ५ सयका दरले रासन खर्च उपमहानगरपालिकाले दिदै आएको प्रति कर्मचारीहरु सन्तुष्ट देखिदैनन् । मासिक रासन खर्च अपुग भएको भन्दै कम्तिमा मासिक ६ हजार हुनुपर्ने उनीहरुको माग छ । वारुण यन्त्र शाखाका कर्मचारीहरुका लागि हरेक ३ वर्षको एक पटक एक सेट ओढ्ने ओछयाउने कपडा उपलब्ध गर्दै आएकोमा यो पटक चार वर्ष बितिसक्दा समेत कपडा तथा झुल पाउन नसकेको जसका कारण पुरानो कपडा र च्यातिएको झुलमा सुत्नु परेको कर्मचारीहरुको गुनासो थियो ।
दुइ वर्षमा ११३ आगलागीका घटना
गएको दुइ आर्थिाक वर्षमा नेपालगन्ज र आसपासका क्षेत्रमा मात्रै ११३ वटा आगलागीका घटना घटेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वारुण यन्त्र शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४३ र आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ७० वटा आगलागीका घटनाहरु घटेको पाएएको छ । त्यसमा पनि आर्थिक वर्ष २०७५ चैत्र १० गते देखी २०७६ बैशाख ९ गते सम्म मात्रै ४७ वटा आगलागीका घटना घटेको पाइन्छ । अधिकाँस आगलागीका घटनाहरु बिधुटको तार सर्ट भएर घट्ने गरेको बुझिएको छ । बिधुतका तारहरु एकै ठाउँमा जाडिएको कारण र बिधुतको कम र कढी भोल्टेजको कारण आगलागीको कारण भएको स्थमनीयहरु ब्ताउछन् । नेपालगन्ज उपमहानगरपालिका भित्र यस आर्थिक वर्षको साउन महिनामा मात्र चार वटा ठुलो आगलागीका घटना भएका छन् ।
यसरी आगलागीका घटनाहरु बढ्दै गएको भएपनी यसलाइ रोक्थाम गर्न र आगलागी हुनबाट बच्ने उपाएको वारेमा कुनै कार्य गर्न तिर सम्बन्धित निकायको ध्यान जान नसक्नुले समस्या झन बढ्दै जाने गरेको नागरिकहरु बताउछन् ।