माष्टर प्लान तयार छः अध्यक्ष डा. राणा
नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सम्पत्ति यकिन कार्य अन्तिममा पुगेको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले एक वर्षदेखि भइरहेको सम्पत्ति खोजीलाई अन्तिम रुप दिंदै छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गुठीका अध्यक्ष डा. धवल समशेर राणाको अध्यक्षतामा भएको बैठकले त्यसअघि सोमवार मन्दिरमा सटर निर्माणलाई लिएर भएका विरोध, विवाद र बहसबारे छलफल पछि मंगलवार औपचारिक निर्णयमा पुगिएको सम्बद्ध स्रोतले जनाएको छ । ‘गुठीलाई जबर्जस्ती विवादित बनाउन भइरहेको कुकृत्यको गहन अध्ययन भइरहेको छ,’ बैठक अघि पुरातत्व विभागमा समेत उजुरी पुगेको विषयमा निकै छलफल भएको जानकारी दिंदै स्रोतले भन्यो, ‘एक वर्षदेखि भइरहेको ऐतिहासिक उपलब्धीपुर्ण कामलाई ओझेल पार्ने गरि षढ्यन्त्र भइरहेको विषयमा सिंगो गुठी गम्भीर छ ।’ मंगलवारको बैठकले पुरातत्व विभागको पत्रलाई समेत सम्बोधन गर्दै माग अनुसारका कागजपत्र पठाउने निर्णय गरेको छ ।
‘सम्पत्तिको वास्तविक अवस्था, आयव्यय र समितिले गर्न खोजिरहेको भावी योजना सबै सार्वजनिक गर्ने टुङ्गोमा पुगेका छौं,’ गुठीका सचिव गोपाल प्रसाद अधिकारीले सरकारी कर्मचारीको असहयोगका कारण सम्पत्ति विवरण संकलनमा समय लागेको तथ्य औल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘अब छिट्टै सम्पूर्ण विवरण सार्वजनिक गर्नेगरि तयारीमा पुगेका छौं ।’
लामो समयदेखि मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको थियो । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेको विषय बाहिर आएपछि गुठीका अध्यक्ष डा. राणाले केन्द्रीय गुठी संस्थानका पदाधिकारीकै उपस्थितिमा केही महिना अघि सम्पूर्ण जग्गा विक्री प्रस्ताव गरेको समाचार, दैनिक नेपालगन्जमा प्रकाशित भएको थियो । डा. राणाले गरेको उक्त प्रस्तावको आलोचना गरिएपनि विकल्पबारे भने चर्चा भएन ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. राणाको अध्यक्षतामा गुठी बनाइएपछि करीब दुई वर्षअघि मन्दिरको सम्पत्ति खोजी गर्न उपप्रमुख समेत रहेकी गुठी सदस्य उमा थापामगरको संयोजकत्वमा अधिकार सम्पन्न छानविन समिति बनाइएको थियो । ‘एक वर्षअघि देखिको निरन्तर प्रयासमा तीन दिनअघिमात्र मालपोतले श्रेस्ता उपलब्ध गराएको छ,’ स्रोतका अनुसार, मालपोत स्रेस्तामा ४० वर्षअघिदेखि बागेश्वरीको सम्पत्तिमा माफियाका आँखा लागेको देखिन्छ ।
संयोजक थापाले आफुले निकै काम गरेपनि ‘मन्दिरको जालो सफा गर्दागर्दै ढिलो भएको’ प्रतिक्रिया दिइन् । ‘हामी सबै विवरण जनता सामु राख्छौं,’ छानविन समितिका संयोजक थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘हामी अध्ययनकै क्रममा रहेकाले अहिले कुनैपनि कुरा भनिहाल्नु हतारो हुन्छ । तर, बागेश्वरी मन्दिरको जग्गा व्यक्तिका नाममा गरेको तथ्य फेला पारिएको छ । ’
छानविन समितिका समेत सचिव रहेका गुठीका सचिव अधिकारीले प्रतिवेदन तयार भइरहेकाले अहिले धेरै केही बताइहाल्न नमिलेको भन्दै सरकारी अधिकारीहरुबाट असहयोग भएको संकेत गरे । खोजीका क्रममा बागेश्वरीको इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको तथ्य बाहिरिएको छ । इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको तथ्य सचिव अधिकारीलाईनै उदधृत गरि बाहिरिएको हो । ‘यसबारे सरकारको सम्बद्ध निकायले गम्भीर चासो राखेको छ,’ सचिव अधिकारीले मंगलवारमात्रै केन्द्रीय निकायबाट जानकारी मागिएको खुलासा गर्दै भने, ‘अब आएर सरकार निकै गम्भीर ढंगले लागेको छ, सरकारी निकायका कर्मचारीले पनि रेस्पोन्स गर्न थालेका छन् ।’
माष्टर प्लान तयार छः अध्यक्ष डा. राणा
यसैबीच, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको दीर्घकालीन पुर्वाधार सहितको गुरुयोजना (माष्टर प्लान) तयार रहेको जनाएको छ । गुठी अध्यक्ष डा. धवल समशेर राणाले आफ्नो नेतृत्व आउनुअघिनै गुरुयोजना तयार गरिएको जानकारी दिंदै भने, ‘त्यसबारे गुनै सुझाव रहे जनतासँग सुझाव माग्ने योजना बनाइएको छ ।’