पश्चिमको औद्योगिक शहर नेपालगन्ज यतिबेला सहारा खोजिरहेको छ । राजनीतिक, सांँस्कृतिक र व्यापारिक दृष्टिकोणले नेपालगन्ज आज अभिभावक बिहीन बन्न पुगेको छ । कुनै बेला सुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको यो ठाउँ उनको राजनीतिक आरोहअवरोहले चर्चित हुने गर्दथ्यो । पछिल्लो समयमा नेपालगन्जवासीहरुको राजनीतिक संकल्पको खडेरीले राजनीतिमा अविश्वसनियता उत्पन्न भएको छ । आज यसैको परिणामले प्रदेशको राजधानी गुमेको छ । प्रदेश स्तरका सबैजसो सरकारी कार्यालयहरु अन्यत्र सारिंदै छन् । व्यापार व्यवसाय खस्कदो छ । औद्योगिक प्रतिष्ठानहरु बन्द हुने अवस्थामा छन् ।
नेपालगन्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर ऐतिहासिक, सांस्कृतिक र धार्मिक कारणले यस क्षेत्रको सांस्कृतिक धरोहरको रुपमा ख्याति पाएको छ । बि.स. २०५३ सालमा मैले यसको सम्पूर्ण पक्षको बारेमा अध्ययन गरेको थिएँ । प्रशस्त जमिन, भेटी, घरभाडा तथा अन्य सम्पत्ति भएर पनि यो मन्दिर संरक्षणको पर्खाईमा रहेको कुरा नेपालगन्जबासीलाई सुसुचित गराई रहँदा झण्डै २२ वर्ष पछि अदालतको सहयोगले यो मन्दिर राजगुठीमा परिणत भएको छ ।
सांस्कृतिक धरोहरको ऐतिहासिक पक्ष कलाकृति यसको संरक्षण, सम्बद्र्धन र उचित
व्यवस्थापनको लागि आवश्यक पहल नभै रहेको परिप्रेक्ष्यमा हालै मात्र बागेश्वरी गुठीका अध्यक्ष तथा नेपालगन्जका मेयर धवल समशेर राणाले मन्दिर परिसरको दक्षिण तर्फ रहेका सटरहरुलाई भत्काएर बाटो चौडा बनाउँदै नयाँ सटर बनाउने कार्यको शिलान्यास गरे । यस्को चौतर्फी बिरोध शुरु भएको छ । यस अघि पनि जुङे महादेवको पूर्व तर्फको खाली जमिनमा सपिङ मल बनाउने कार्यको नाटक मन्चन भैसकेको छ ।
स्मरण रहोस, मन्दिर पैसा कमाउने संस्था होइन । आज हामीले गरेका निर्माण कार्यले कतै हाम्रा ऐतिहासिक धरोहर कुरुप त बन्दै छैनन् ? जस्को कारणले भावी पुस्ताले हामीलाई सत्तोसराप नगरुन् । बागेश्वरी मन्दिर राज गुठीमा परिणत भैसकेपछि गुठी व्यवस्थापन समिति निर्माणमा समेत राजनीतिक सहमति, भागबन्डाका आधारमा गठन गरिएको आभाष हुन्छ । जहाँ यस्को वृहत्तर बिकाशका लागि राजनीतिक पहुँचका आधारमा नभएर कला संस्कृतिको ज्ञान भएका, धार्मिक तथा सांस्कृतिक आस्था बृद्धि गर्न सक्ने, देश बिदेशमा रहेका ठुला मन्दिरहरुको व्यवस्थापन बुझेका, पर्यटक आकर्षणको केन्द्र बनाउन सक्ने बिज्ञहरुको सहभागितामा गुठी व्यवस्थापन समिति निर्माण गर्नु पर्दथ्यो ।
ढिलै भएपनि नेपालगन्जबासीहरुको चेतनाको स्तर बढेको देख्दा खुशी लागेको छ । साँच्चिकै बागेश्वरी मन्दिरको बृहत्तर बिकास गर्ने हो भने यस्को गुरु योजना निर्माण गर्नु पर्दछ । सांस्कृतिक, धार्मिक तथा पर्यटकिय दृष्टिले कसरी बिकास गर्न सकिन्छ भन्ने विषयमा चिन्ता र चिन्तन गर्नु पर्दछ । यसलाई बागेश्वरी बिकास कोषको रुपमा स्थापित गरेर संघीय, प्रदेश र स्थानीय सरकारबाट सहयोग गर्न सक्ने बातावरण मिलाउनु पर्दछ । अहिले बागेश्वरी गुठी आसपासमा जति खाली जमिन छ त्यसमा हामीलाई अत्यावश्यक भएका बिषयवस्तुहरुको संरचना मात्र निर्माण गर्नु पर्ने हुनसक्छ । त्यसैले हतारमा व्यापारिक प्रयोजनले सटर निर्माण गर्नु हतार हुन सक्छ ।
सर्वप्रथम एउटा बिज्ञ टोली गठन गरेर नेपाल र भारतमा रहेका ठुला मन्दिरहरुको अवलोकन गरौ । मन्दिर व्यवस्थापनको बारेमा जानकारी लिउँ, मन्दिरको गुरुयोजना निर्माण गरेका बिज्ञहरुको सहयोगमा हामीसँग खाली रहेको जमिनमा के के संरचना निर्माण गर्ने हो त्यस्को बारेमा छलफल गरौं । सम्पूर्ण नेपालगन्जबासीको अपनत्व हुने गरी दुरगामी सोंचका साथ मन्दिरको बृहत्तर बिकासमा सहभागी बन्नु नै आजको आवश्यकता हो । त्यसका लागि पहिलो काम सटर होइन, मास्टर प्लान बनाएर अगाडी बढ्ने तिर गुठीले ध्यान दिनुपर्छ । (संस्कृतिविद् डा. सुवेदी बागेश्वरी मन्दिरका विषयमा गहिरो अध्ययन गरेका छन् )