बागेश्वरी विकास कोष स्थापना गरि मन्दिर क्षेत्रको विकास निरन्तरतामा स्थायी विधि निर्माण गर्न सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।
प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरलाई नेपालगन्ज समृद्धिको आधारका रुपमा लिंदै सरोकारवालाहरुले ‘बृहत् बागेश्वरी परियोजना’ प्रस्ताव गरेका छन् । सोमबार नेपालगन्जमा सरोकारवालाहरु बीचको एउटा अन्तरक्रियामा सहभागी बाँकेका अगुवाहरुले बृहत बागेश्वरी परियोजना अघि सार्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बागेश्वरीको विकासलाई लिएर बहस सुरु गरेको ‘विकासका लागि नागरिक सरोकार समिति’ बाँकेले आयोजना गरेको अन्तरक्रियामा बागेश्वरी मन्दिर क्षेत्र विकासका विविध अवधारणा प्रस्तुत गरिएका थिए । ‘बागेश्वरी विकास कोष स्थापना गरेर अगाडि बढाउने कुरामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति अग्रसर हुनुपर्छ’, नेपालगन्जका अध्येता, वरिष्ठ स्रष्टा सनत रेग्मीले भने, ‘नेपाल सरकारले बृहत बागेश्वरी परियोजना तयार गर्नुपर्छ ।’
बागेश्वरीको ऐतिहासिक पृष्ठभूमि चर्चा गरेका सहभागीहरुले नेपालगन्ज मात्रै नभई पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरीका लागि बृहत परियोजना प्रस्ताव गरेका हुन् । ‘हिराको खजाना लुटिएको व्यक्ति किराना पसल खोलेर गुजारा चलाउन खोज्दैछ’, सतहमा आएको बागेश्वरीमा सटर निर्माण सम्बन्धी विवादमा नेपालगन्जका पूर्व नगर प्रमुख, विजय कुमार गुप्ताले भने, ‘अर्बौको सम्पत्ति खोजी गर्न नलागेर सटर संस्कृतिमा अल्झिएको गुठीबाट ठूला आशा गर्न सकिन्न ।’ गुप्ताले नेपालगन्जकै सांसद क्याबिनेट मन्त्री भएकाले बृहत बागेश्वरी परियोजनालाई संसदमा टेबल गर्न प्रस्ताव गरे ।
मन्दिरमा अहिले चलिरहेको सटर बनाउने बिषयमा बिवाद वा बहस गर्नु भन्दा ‘मास्टर प्लान’ बनाएर अगाडि बढ्न संस्कृतिविद् डा. राजकुमार सुवेदीको सुझाव छ । बागेश्वरी मन्दिरलाई प्रसिद्ध धार्मिक शक्तिपिठका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
‘मास्टर प्लान नबनाएसम्म केही सटरले मात्र बागेश्वरीको विकास हुन सक्दैन’, डा. सुवेदीले भने, ‘मास्टर प्लानमा आधारित रहेर पाँच सय बर्षसम्मका पूर्वाधार तयार हुन सक्छन् ।’ पर्यटन मन्त्रालयले बागेश्वरी मन्दिरको गुरुयोजनाका बारेमा धेरै पहिले खाका तयार गरेको भए पनि त्यो अगाडी बढ्न नसकेको डा. सुवेदीले जानकारी दिए ।
खासगरी नेपालगन्जका नागरिक समाजका प्रतिनिधिमूलक सहभागितामा भएको अन्तरक्रियामा तत्काललाई बागेश्वरीको विवादको सकारात्मक निकास खोज्न सुझाए । ‘आपसमै बल्झिएर होइन, साझा धारणा बनाएर अगाडि बढ्न सजिलो होस् भन्ने उद्देश्यले अन्तरक्रिया गरिएको हो’, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘यहाँ उठेका सवाललाई चरणबद्ध ढंगले निष्कर्षतिर अगाडि बढाइनेछ ।’
पत्रकार झलक गैरेले सहजीकरण गरेको कार्यक्रममा अधिकांस सहभागीले बागेश्वरीलाई दीर्घकालीन स्वरुपमा लैजान गुरुयोजना तयार गरेर मात्रै कुनैपनि संरचना बन्नु पर्नेमा सुझाव दिएका छन् । राजनीतिकर्मी पशुपतियाल मिश्र, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मी, अधिवक्ता प्रह्लाद कार्की, पुनरावेदन बार उच्च अदालत नेपालगन्ज इजलासका अध्यक्ष विकास आचार्य, अधिवक्ता मो. अयुब सिद्दिकी लगायतले बागेश्वरीको दीर्घकालीन भविष्यको खाका कोर्न गुठीको ध्यानाकर्षण गराए । ‘बागेश्वरीलाई साझा सम्पदाका रुपमा हेरिनुपर्छ’, बालअधिकारकर्मी साहिल अन्सारीले भने, ‘त्यसैले नेपालगन्जको गहनाका रुपमा रहेको बागेश्वरी मन्दिरको विकासलाई साँघुरो सोंचले हेरिनु हुँदैन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, अधिवक्ता बिश्वजित तिवारी लगायतका कतिपय वक्ताले तत्काल मन्दिर सञ्चालनका लागि स्रोतको आवश्यकता भएकाले पुरानै ठाउँमा संरचना बन्ने कुरा विवादित गर्न नहुने बताए । बागेश्वरी मन्दिर सञ्चालनको खर्च धेरै भएकोले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा हेक्का राख्नुपर्नेमा अधिवक्ता तिवारीको जोड थियो । ‘सरकारीले एक रुपैया दिन्न । भक्तजनले पुजा त गर्छन तर मन्दिर कसरी चलेको छ भन्ने जान्दैनन् । मन्दिर सञ्चालनको खर्च कहाँबाट ल्याउने भन्ने विषयमा पनि छलफल गरौं,’ अधिवक्ता तिवारीले भने ।
प्रा.डा. जनार्दन आचार्य, प्राध्यापक कमान सिंह बोहरा, नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष शालिकराम सापकोटा, पत्रकार हेमन्त कर्माचार्य लगायतले बागेश्वरीको सम्पूर्ण सम्पत्तिको सोधीखोजी गरी मन्दिरको बृहत्तर हितमा योजना बनाउन आवश्यक रहेको जोड दिए । ‘नेपालगन्जको भविष्य कायापलट गर्न सक्ने क्षमता बागेश्वरी सँग छ’, अधिवक्ता श्रेष्ठले भने । अधिवक्ता सापकोटाले कानुनी उपचार खोज्न चुनौति पनि दिएका छन् । ‘बागेश्वरी परिसरमा संरचना बनाएर घटाउने होइन, अतिक्रमित पूर्वाधार हटाएर परिसर बढाउँदै जानुपर्छ’, पत्रकार कर्माचार्यको भनाइ थियो । शिक्षाविद् किरण आचार्य, भोजराज शर्मा, युवा अभियन्ता किरण ढकाल, पत्रकार रुद्र सुवेदी, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेल लगायतले बागेश्वरीको बृहत्तर हितमा गुठीको ध्यान जानुपर्ने औंल्याए ।
कार्यक्रममा अधिवक्ता लोक बहादुर शाहले बागेश्वरीको सम्पत्ति र कानुनी उपचारका विविध पक्षबारे जानकारी गराएका थिए । ‘अब राजनीतिक दल र गुठीसँग छुट्टाछुट्टै छलफलको आयोजना गरिनेछ’, समितिका संयोजक श्रेष्ठले भने ।