बाँकेका रासायनिक मलको अभाव देखिएको छ । अनुदानको मलको ७० प्रतिशत हिस्सा बिक्रीको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जमा मल सकिएको एक महिना नाघेको छ । मल आउन थप समय लाग्ने लिमिटेडले जानकारी दिएको छ । अनुदानको मलको ३० प्रतिशत हिस्सा साल्ट टे«डिङ्गले वितरण गर्दै आएको छ ।
किसानले मल अभावको गुनासो गर्दै आएपछि अवस्था बुझ्न प्रदेश ५ का भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेल आइतबार लिमिटेडको नेपालगन्ज कार्यालय पुगिन् । उनी त्यहाँ पुग्दा मलको गोदाम भने रित्तै थियो ।
मन्त्री पौडेलले मल खरिदको अधिकार संघीय सरकारमा रहेकाले समस्या भएको धारणा राखिन् । ‘त्यसैले प्रदेश ५ का लागि मलका लागि छुट्याइएको बजेट संघबाट माग गरेका छौं’, उनले भनिन्, ‘त्यसो हुन सकेमा गुनासो नआउने गरी मल खरिद गरी वितरण गर्न सक्छौं ।’
बाँके, बर्दिया कृषिको उर्बर भूमि भएको बताउँदै मन्त्री पौडेलले मल अभाव हुनु विडम्वना भएको बताइन् । ‘बबई सिचाई, सिक्टा सिंचाई उपलब्धता छिट्टै हुन्छ’, उनले भनिन्, ‘यसले यस क्षेत्रमा मलको माग थप बढ्नेछ ।’ उनले त्यसैले प्रदेश सरकारले गुणस्तरीय मल र बीउ उपलब्धका लागि पहल गरिरहेको जानकारी दिइन् ।
त्यसक्रममा लिमिटेड प्रमुख रमेश पौडेलले यूरिया, डिएपी र पोटासको भण्डारण सकिएको बारे मन्त्रीलाई जानकारी दिंदै रासायनिक मल आउन अझै दुई साता लाग्ने बताएका थिए । उनले मलका लागि केन्द्रमा निरन्तर फलोअप गरिरहेको बताएका थिए । भदौं दोस्रो साता कति परिणाममा आउने भन्ने निश्चित भएको छैन । यद्यपि, संघीय सरकारले मल खरिद गरी आउने क्रममा रहेको कार्यालय प्रमुख पौडेलले बताए ।
मन्त्री पौडेलले लिमिटेडलाई सहकारीबाट मलको वितरण सही किसिमले भएको छ, छैन अनुगमन गर्न निर्देशन समेत दिएकी थिइन् । ‘वितरण गरिएको मल किसानको हातमा पुगेको सुनिश्चित गर्न अनुगमन गर्नुस्’, लिमिटेडका कर्मचारीसँग मन्त्री पौडेलले भनिन् । ‘मलको आवश्यकता बारे लिमिटेडबाट जानकारी लिएको छु’, उनले मलको आपूर्ति सहज बनाउन पहल गर्ने बताउँदै भनिन् ।
कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जले जाजरकोट, जुम्ला, हुम्ला, मुगु, सल्यान, डोल्पा, रुकुम पश्चिम र दैलेखका किसानका लागि उपलब्ध गराउँदै आएको छ । गत आ.व. मा सरकारले नेपालगन्ज कार्यालयका लागि ३ हजार मेट्रिक टन यूरिया, डिएपी १ हजार ६ सय मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा बिक्रीका लागि कोटा छुट्याएको थियो । तर, माग भने त्यो भन्दा बढी हुँदा लिमिटेडको स्टक शुन्य भएको हो । गत आ.व.मा ४ हजार ६ सय ८ मेट्रिक टन यूरिया बिक्री भएको थियो । उक्त अवधीमा १ हजार ९ सय ७२ मेट्रिक टन डिएपी बिक्री भयो । पोटास ४९ मेट्रिक टन बिक्री भएको छ । चालु आ.व. ०७६÷०७७ का लागि ६ हजार मेट्रिक टन यूरिया र ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटास उपलब्ध भएमा लिमिटेडबाट बिक्री हुने विभिन्न जिल्लाको माग धान्न सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
धान खेतीको सिजनमा मलको अभाव भएपछि कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । हरेक बर्ष खेतीको सिजनमा हुने गरेको मलको अभाव यस बर्ष पनि उस्तै देखिन थालेको छ । मलको माग बढी हुने समय भनेको जेठदेखि भदौंसम्म हो । अहिले धानको सिजनमा किसानले प्रयोग गर्ने मल डिएपी, यूरिया र पोटास हो । तर, उक्त मलको स्टक पर्याप्त नहुँदा किसान भारतीय बजार पुग्न बाध्य छन् ।
प्रदेश ५ प्रदेशसभामा पनि प्रदेशसभा सदस्यहरुले मलको अभावबारे बोल्ने गरेका छन् । प्रदेशसभा सदस्य आइपी खरेल, भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको भन्दै सहज उपलब्धताका लागि प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।
चालु आवका लागि सरकारले देशभरका लागि ५५ हजार टन मेट्रिक टन मल आयात गर्दैछ । ‘३० हजार मेट्रिक टन यूरिया र २५ हजार मेट्रिक टन डिएपी आउँदैछ’, कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पौडेलले भने ।