एजेन्सीको विवाद, पर्यटकलाई सास्ती

‘पाँच दिनदेखि हामीलाई नेपालगन्जमा अलपत्र पारिएको छ’, यो सामूहिक भनाइ हो शनिबार नेपालगन्ज विमानस्थलमा भेटिएका भारतीय एउटा समूहको । उनीहरुलाई मानसरोवर यात्राका लागि पाँच दिन अघि नेपालगन्ज ल्याइएको थियो । तत्कालै मानसरोवरका लागि लगिने भनिएपनि विभिन्न बहानामा उनीहरुलाई नेपालगन्जमै रोकियो । ‘हामी आएको भोलिपल्ट नै मानसरोवर लगिने जानकारी पाएका थियौं’, वेष्ट बेगोलका गौतम लायकले भने, ‘तर, नेपालगन्ज आइपुगेपछि हामीलाई वेवास्ता गरियो, आधिकारिक रुपमा जवाफ एजेन्सीले दिएन ।’

भारतीय पर्यटकहरुले कक्स्सिङ किङलाई प्रतिव्यक्ति १ लाख ७५ हजार भारतीय रुपैयाँ तिरेर मानसरोवरको यात्रा सुनिश्चित गरेको बताए । उनीहरुले कक्स्सिङ किङले नेपाली कम्पनी, फिस्टेल टुर्स एण्ड ट्राभल्ससँग मानसरोवर लग्नका लागि समन्वय गरेको थियो । तर, दुवै एजेन्सी बीचको लेनदेन विवादका कारण उनीहरुलाई रोकिएको सूचना पाएको भारतीय पर्यटक वेष्ट बेंगोलका दिलिप माझीले बताए । ‘हामीले पैसा तिरेर आएपछि विदेशी भूमिमा सास्ती खेप्नु परिरहेको छ’, माझीले भने ।

पा“च दिनअघि नेपालगन्ज आइपुगेका ३७ भारतीय पर्यटकहरु शनिबार उडान हुम्लाका सिमकोटका लागि उडान हुने भन्दै नेपालगन्ज विमानस्थल पुर्याइएको थियो । उक्त टोलीमा अधिकांस ज्येष्ठ नागरिक थिए । ‘विहान ४ बजे नै विमानस्थल जाने तयारी गर्न उठाइयो’, प्रतिमा लाइक भनिन्, ‘मध्यान्हसम्म न उडानको सुनिश्चित भयो, न खानाको ।’

कक्स्सिङ किङ्गले नेपाल स्थित फिस्टेल टुर्स एण्ड ट्राभल्सस“गको समन्वयमा भारतीय पर्यटकलाई मानसरोवर पुर्याउने जिम्मा लिएको भएपनि यहाँ उनीहरुका प्रतिनिधिले ढिलाई बारे जिम्मेवारीपूर्वक जवाफ नदिएको वेष्ट बंगलाका शम्भु नाथ योगीले बताए । योगीले भने, ‘ट्राभल एजेन्टहरु नै ढिलाईको कारण भन्दैनन् र अगाडिको यात्राको बारेमा जिम्मेवारी लिन चाहँदैनन् ।’ पर्यटकहरुले कक्स् किङ्गले नेपाली ट्राभल एजेन्सीलाई भुक्तानी नदिएकाले आफुहरुलाई रोकिएको एजेन्टहरुले बताएका छन् । ‘तर, उनीहरु यसबारे खुलेर बोल्दैनन्,’ योगीले भने, ‘दुई एजेन्सी बीचको विवादमा हामी अलपत्रको स्थितिमा छौं ।’

भारतीय पर्यटकहरुस“गै रहेका कक्स किङ्गस्का प्रतिनिधि अजय रानाले दुई एजेन्जीको विवाद बारे आफुलाई थाहा नभएको बताए । ‘भिसाका कारण ढिलाई भएको जानकारी कक्स्सिङबाट पाएको छु’, उनले भने, ‘अब समस्या छैन हामी पर्यटक सिमिकोट लैजान तयार छौं ।’ यद्यपि, उनले पनि मानसरोवर पुर्याउन जिम्मा भने आफुले लिन नसक्ने बताए ।

फिस्टेलका प्रतिनिधि लाक्पा शेर्पाले भने सीमकोटसम्मको जिम्मा मात्र लिने बताए । ‘पर्यटकलाई सिमकोट पुर्याउनु भन्ने फिस्टेलले निर्देश गरेको छ’, उनले भने, ‘त्यसपछिको जिम्मा मेरो होइन, थप निर्देशन आएमा सोही बमोजिम गर्नेछु ।’ शेर्पाले कर्मचारी भएकाले यात्रु किन रोकिए र सिमकोट पछि मानसरोवर यात्रा के हुन्छ भन्ने आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।
दुई एजेन्सीका प्रतिनिधिले जिम्मेवारीपूर्वक जवाफ नदिएपछि पर्यटकहरु अप्ठ्यारोमा परेका छन् । अधिकांस ज्येष्ठ नागरिक रहेको उनीहरुको समूहले सिमकोटमा अलपत्र पारिने आशंकामा भारत फर्कने कि जाने भन्ने द्विविधामा रहेको बताए । ‘यहा“बाट भारत फर्कन सक्छौं’, तर, सिमकोटमा अलपत्र पारिए फर्कन नै समस्या हुने भएकाले निर्णय गर्न नसकेको बताउदै भारत राचीकी डा. करुणा शाहले बताइन् ।

नेपालगन्ज स्थित एक होटलमा राखिएका ३७ जनाको टोलीलाई शनिबार विहानै सिमकोट लग्न भन्दै विमानस्थल पुर्याइएको आचार्य सत्याश्रयानन्दले भने, ‘यहा“ आएपछि टिकटको भुक्तानी नै नभएको भन्दै बोर्डिङ्ग पास दिइएन ।’

भारतबाट मानसरोवरका लागि आउने पर्यटकहरु त्यहीको एजेन्सीलाई भुक्तानी गर्दछन् । त्यहाँको एजेन्सीले नेपाली टुर्स एण्ड ट्राभल्सको यात्राको जिम्मेवारी दिन्छन् । नेपाली कम्पनीहरुले होटलदेखि उडानसम्मको व्यवस्थापन गर्दछन् । तर, भारतीय एजेन्सीले भुक्तानी नगर्दा बेलाबखत समस्या हुने गरेको पाइन्छ ।

नेपालगन्जका स्तरीय होटलहरुमा मानसरोवरका यात्रीलाई राखिने गरेको छ । यसअघि यहाँका होटलहरुले समेत भुक्तानी नपाएर धराशयी हुँदै गएको भन्दै दररेट र भुक्तानी सम्बन्धमा समन्वय र सजगता अपाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया