यतिबेला तीज नजिकिंदै छ । यो सुनको कारोबार हुने सिजन हो । तर, सुन पसलमा भने त्यो रौनक देखिंदैन । सुनको मूल्य लगातार आकाशिँदै गएपछि बाँकेका सुन पसल सुनसान हुन थालेका हुन् । कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि सुनचाँदी पसलहरूमा सुनको कारोबार हुन सकेको छैन । ब्यवसायी फुर्सिदला भएका छन् । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेका छन् ।
मासिक सात किलोग्राम सुन बाँकेका लागि छुट्टयाइन्थ्यो । केही दिन अघिसम्म उक्त कोटा सुनचाँदी व्यवसायीका लागि अपुग हुँदै आएको थियो । विक्री गर्न समस्या थिएन । तर अहिले उक्त कोटा विक्री नभएर सुनचाँदी व्यवसायी हैरान भएका छन् । कारोबार कम भएपछि सुनचाँदी व्यवसायीहरूले सुन किन्न बन्द गरेका छन् ।
सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्रै छ । बाँकेका लागि बाँके सुनचाँदी व्यवसायी महासंघलाई मासिक तीन किलो र नेपालगन्ज सुनचाँदी व्यवसायी संघका लागि तीन देखि चार किलोसम्म कोटा छुट्याइन्थ्यो । तर, अहिले सुनको कारोबार लगभग शून्य अवस्थामा पुगेको सुन ब्यबसायी इश्वर सुनारले बताए । उनले भने, ‘नयाँ गरगहना बनाएर विक्री गर्ने काम ठप्प नै छ भन्दा हुन्छ । अर्डर भएको सुनका मात्र गरगहना बनाएर बसेका छौं ।’
बाँके सुनचाँदी व्यवसायी महासंघका बुद्धिप्रसाद दियालीले फाइदा हुने भएपछि आफूसंग भएको सुन फिर्ता गर्ने ग्राहकको संख्या बढेको बताए । उनले भने,‘मूल्य बढ्दा ग्राहकबाट बिक्री गर्न ल्याइएका सुनलाई मात्रै ब्यवसायीले संकलन गरिरहेका छन् ।’ ‘बजारको अवस्थाअनुसार चल्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘गत हप्ताको तुलनामा अहिले गरगहना फिर्ता गर्ने ग्राहकको संख्यामा कमी त आएको छ । तर, गरगहना किन्नेभन्दा फिर्ता गर्ने ग्राहक नै बढी छन् ।’ गत हप्ता गरगहना फिर्ता गर्ने ग्राहकको संख्या अत्यधिक बढी भएको उनको भनाइ छ ।
सुनचाँदी व्यवसायीहरू नेपालगन्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढले सुन कारोबारमा मन्दीले ब्यवसायी मात्र होइन सुन गहना बनाउने कालिगढ पनि मर्कामा परेको बताए । ‘गहना बनाउने कालिगढ बेरोजगार भएका छन् । नेपालगन्जमा करीब पाँच सयको हाराहारीमा सुनका गहना बनाउने कालिगढ रहेका छन् । जसमा एकसय बढी भारतीयमूलका रहेको जसगढले बताए ।
साउन महिनामा मात्र सुनको मूल्य तोलामा रू. ७ हजार बढेको छ । असार ३१ गते प्रतितोला छापावाला सुनको मुल्य रू. ६४ हजार ५०० थियो । अहिले बढेर रू. ७१ हजार नाघेको छ । साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला रू. ६५ हजारमा तलमाथि हुँदै आएको थियो ।
सुनको मूल्य बिहीबार पनि प्रतितोला थप एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको थियो ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो । चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ ।
मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुप्रिएको व्यवसायीहरुले बताएका छन् । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।
बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको छ । व्यवसायीहरुका अनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ । अमेरिका चिन ब्यपार युद्ध र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटाउने निर्णयले सुनको बजारलाई प्रभावित बनाएको व्यवसायीहरुले बताएका छन् ।
विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिएका छन् । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।
सुनका गरगहनामा परम्परागत गरगहना बढी चलनचल्तीमा छन् । पुराना मोडेल शिर चन्द्रमा, तिलरी, मंगलसुत्र, चुरा, बाला चल्छन् । तिजमा भने छडके तिलरी बिक्री बढी हुने गरेको ब्यबसायीहरु बताउँछन् । तर, यसरी नै सुनको भाउ आकाशिंदै जाने हो भने विगतमा भन्दा ह्वात्तै कारोबार घट्ने अवस्था देखिइसकेको नेपालगन्जका सुन व्यवसायीले बताएका छन् । जसरी सुनको भाउ आकाशिएको छ, सोही अनुपातमा घट्ने सम्भावना भने नहुने व्यवसायी बताउँछन् । बाँकेमा ३ सयको हाराहारीमा सुन चाँदी पसल दर्ता छन् ।