प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्नु अघि काठमाडौंको कलंकीबाट नर्स अस्मिता कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी शालिकराम पुडासैनीको रहस्यमय मृत्यु अघिको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि रवि सहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ’, लामिछानेले ट्वीट गरेका छन्। उनले फेसबुक लाइभमा पनि लामो समयदेखि पुडासैनीसँग आफ्नो कुरा नभएको दाबी गरेका छन्।