बालविवाहका पक्षमा खुलेआम वकालत हुन थालेपछि छोरीहरु आफैं त्यसविरुद्ध प्रतिवादमा उभिएका हुन् ।
कृष्ण अधिकारी
बाँकेका छोरीहरु वालबिबाह बिरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् । छोरीहरु किशोरी क्लबमा संगठित भएर बाल बिबाह बिरुद्ध आवाज उठाउन थालेका हुन् । बाल बिबाहका कारण छोरीहरु आधारभुत बाल अधिकारको अबसरबाट समेत बन्चित हुने अबस्था उत्पन्न भए पछि बाल बिबाह बिरुद्धको अभियानका सक्रिय भएको किशोरी क्लब संजाल बाँकेकी अध्यक्ष अनु रावत बताउँछिन् ।
छोरीहरु बालबिबाह अन्त्यको अभियान सक्रिय भइरहेका बेला केहि ब्यक्ति तथा समुह १६ बर्ष पुगेपछि छोरीहरुको बिहेबारी गर्न पाउनु पर्ने माग गर्दै स्थानीय तहका तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने धर्ना दिने घेराउ गर्ने गरिरहेका छन् । त्यसले छोरीहरुको बाल बिबाह अन्त्यको अभियान र बाँकेमा बाल बिबाहको मुद्दा पेचिलो बन्दै गएको छ ।
जिल्लाका ८ वटै स्थानीय तहमा क्रियाशिल किशोरी क्लबहरुले नेपालगन्जमा सामुहिक रुपमा पत्रकार सम्मेलन गरेर १६ बर्षमै बिहेबारीको माग प्रति आपत्ति जनाए । उनीहरुले बाल बिबाहको माग गर्ने ब्यक्ति तथा समुहलाई तत्काल कारबाही गर्न माग पनि गरे । किशोरी क्लब संजाल बाँकेकी सचिब चेतना क्षत्रीले प्रचलित नियम कानुनको उलंघन गर्दै बाल बिबाहको माग गर्ने ब्यक्ति तथा समुहलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नु पर्ने बताइन् ।
बाँके जिल्लालाई बालबिबाह मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई सहयोग गरि दिन आग्रह गर्दै स्थानीय सरकार, प्रहरी, प्रशासनलाई ज्ञापन दिन सुरु गरिएको सचिब क्षत्रीले बताइन् । बाल बिबाह अन्त्यको अभियानलाई प्रभाबकारी रुपमा कार्यान्वयनका लागि दबाब दिने किशोरी क्लबहरुले गाउँ तथा नगरपालिकामा ज्ञापन पत्र बुझाउन सुरु गरेका छन् ।
किशोरी क्लबका सदस्यहरुले खजुरा गाउपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै बाल बिबाह अन्त्यको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । खजुरा बाहेक अन्य ७ वटै स्थानीय तह जिल्ला प्रशासन र जिल्ला प्रहरीमा ज्ञापन पत्र दिएर बाल बिबाह बिरुद्धको अभियानमा सहयोग गर्न र बाल बिबाहको माग गर्दै प्रदर्शनमा उत्रिएका ब्यक्ति तथा समुह माथि कारबाहीका लागि ध्यानाकर्षण गराइन लागेको उनले बताइन् ।
ज्ञापन पत्र बुझ्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले छोरीहरुले सुरु गरेको बाल बिबाह बिरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउदै खजुरालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा जुटेको बताए ।
किशोरी क्लब संजाल बाँकेकी अध्यक्ष रावतले स्थानीय तहहरुले बालअधिकार समितिसंग समन्वय गरि बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्नका लागि तत्काल (फोकल पर्सन ) तोकेर कार्यसक्रमहरु संचालन गर्नु पर्ने बताइन् । उनले स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रम बनाउने क्रममा किशोरी क्लब, बाल क्लब तथा बाल अधिकारकर्मीहरुसंग समन्बय र सहकार्य गर्नु पर्ने बताइन् ।
किशोरी क्लब संजालले गरिब, बिपन्न तथा पछाडि परेका समुदायका बालिकाहरुको उच्च शिक्षा सम्मको पहुच बढाउनका लागि स्थानिय सरकारले विशेष प्याकेज ल्याउनु पर्ने माग समेत गरेको छ ।
नेपाल बालविवाह हुने दक्षिण एशियाली देशहरु मध्ये तेस्रो स्थानमा पर्छ । २०६८ को जनगणनाको तथ्याङकले नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखाएको छ । नेपालको जनसांख्यिकतथा स्वास्थ्य सर्वेक्षण २०११ ले नेपालका २० वर्ष देखि २४ वर्ष उमेर समुहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको देखाएको छ ।
बालविवाहका कारण बालबालिकाहरु आधारभूत अधिकारबाट बञ्चित हुने अबस्थाको अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति–२०७२, बनाई बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आए पनि मधेशी तथा मुस्लिम समुदायमा बाल बिबाह हुने क्रम अझै रोकिएको छैन ।
बाँके हिरमुनियाकी बन्दना नाउँको ५ कक्षामा पढ्दा पढ्दै बिहे भयो । बिहे पछि बन्दना बिद्यालय जान छाडेकी छिन । बन्दनाकी साथी आरती यादब कक्षा ९ मा पढ्छिन । आरतीका धेरै साथीहरुको बिहे भइसकेको छ । सानै उमेरमा बिहेबारी गरि दिने चलन ठिक नभए पनि आमा बुवाले बिहे गरि दिए पछि मान्नै पर्ने अबस्था भएको बन्दना बताउँछिन् ।
मुलुकी अपराध संहिता ऐन २०७४ ले २० बर्ष नपुगी गरेको बिबाह स्वतः बदर हुने र बिबाह गर्ने, गराउनेलाई ३ बर्ष सम्म कैद र तीस हजारसम्म जरिवाना हुने कानुनी ब्यबस्था छ । नयाँ कानुनी ब्यबस्थाले बिहेबारीमा ढिलाई हँुदा छोरीहरुले अभिभाबकको मन्जुरी बिनै आफु खुसी २० बर्ष नपुग्दै भागेर बिबाह गर्ने समस्या बढ्दै गएको बाँके हिरमुनियकी अभिभावक पुजा कुमारी यादबले बताउँछिन ।
छोरीहरुले भागेर बिहेवारी गर्दा परिवारको बदनामी हने भएकाले अभिभाबकहरुलाई आफ्ना छोरीहरु १६ बर्ष पुग्ना साथ बिहेबारी गर्न दिने अधिकार दिनु पर्ने तर्क उनको छ । छोरीहरुलाई ७/८ कक्षा सम्म पढाउने र १५ ÷ १६ बर्षकै उमेरमा बिवाह गरिदिंदा ‘अर्काे जातको केटासंग भागेर बिहेबारी गर्ने’, आफ्नै धर्म संस्कार रितिरिवाज र परम्परा नमान्ने समस्या पनि समाधान हुने बाल बिबाहको माग गर्दै आएकी अभिभाबक लक्ष्मी चौहानले बताइन् ।
मधेशी समुदायमा छोरीहरुको १५ / १६ बर्षकै उमेरमा बिवाह गरि दिने चलन बढी छ । बिहे भएको दोस्रो बर्ष गौना हुन्छ । गौना पछि थौना हुन्छ । थौना पछि आउजाउ सुरु हुन्छ । आउ जाउ सुरु भए पछि मात्रै छोरीहरु श्रीमानको घरमा जान्छन ।
बिहे १५ / १६ बर्षकै उमेरमा भए पनि श्रीमानको घरमा नियमित रुपमा बस्ने गरी जाने बेला सम्म छोरीहरुको उमेर १८ देखि २० बर्ष भइसक्ने तर्क मधेशी महिलाहरुको छ । मधेशी समुदायमा अभिभावकको मन्जुरी बिनाको भागी बिवाह, वा अन्तर्जातिय बिवाह राम्रो मानिंदैन । तराइका जिल्लाहरुमा बसोबास गर्ने मधेशी समुदायको बिहेबारी सीमापारी भारतिय गाउँहरुमा हँुदै आएको छ ।
भारतमा बिहेबारीका लागि केटा र केटीको उमेर १८ बर्ष तोकिएको भारतको रुपैडिया स्थित पत्रकार एब अधिवक्ता राजेश सिंहले बताए । भारतमा बिबाहको उमेर १८ बर्ष तोकिएकाले त्यसको प्रभाब सीमावर्ती नेपाली गाउँहरुका बासिन्दाहरु परेको हुन सक्ने भनाइ नेपाल भारत मैत्री संघ बाँकेका निवर्तमान अध्यक्ष अजय कुमार टन्डनको छ ।
पढाई लेखाई गरेर परिपक्क भएर मात्रै बिहे गर्दा बिहेबारी गर्ने केटाकेटी मात्रै नभएर समाजका लागि पनि राम्रो हुने भएकाले नेपाल सरकारले बिहेबारीका लागि निर्धारण गरेको २० बर्ष उमेर उपयुक्त भएको तर्क टन्डनको छ ।
उमेर बढ्दै जादा छोरीले आफै विवाह गर्ने, लुकि छिपी इन्डिया गए बिहेबारी गर्नु पर्ने, छोरीका लागि योग्य बर नपाउने समस्या बद्दै गएकाले सरकारले बिहेबारी उमेर २० बर्षबाट घटाएर १६ बर्ष पछि अभिभावकहरुको सहमतिमा बिवाह गर्न पाउने कानुनी ब्यबस्था हुनु पर्ने माग गरेर आन्दोलनमा उत्रिएको रामदेब मिश्राले बताए ।
१६ बर्षपछि अभिभाबकहरुको सहमतिमा बिवाह गर्न पाउने कानुनी ब्यबस्था हुनु पर्ने माग गर्दै आएका अधिकांश महिलाहरु आधारभुत तहको शिक्षाको अबसर पनि नपाएका सानैमा बिबाह गरेका आमाहरु छन् । पितृ सत्तात्मक साेंच, छोरीहरुलाई दबाएर राख्ने संस्कारमा रहेका केहि अभिभाबकले बाल बिबाहको माग गरे पनि अब आफुहरुलाई बाल बिबाह कुनै पनि हालतमा मान्य नहुने बताउदै संजालकी सदस्य क्षत्रीले भनिन्, ‘बाल बिबाह गराउनेहरुलाई कानुनी कारबाही गराएरै छोड्छौ ।’
अशिक्षा र चेतनाको कमीका कारण केहि अभिभाबकहरु बाल बिबाहको पक्षमा देखिएकाले त्यस्ता अभिभाबकहरुलाई बाल बिबाहले सृजना गर्ने नकारात्मक असरका बारेमा जागरुक बनाउनु पर्ने संजालकी सदस्य प्रमिला हरिजनले बताइन् ।
मुलुकी अराध संहिता ऐन २०७४ को दफा १७४ ले बिबाह गर्नका लागि केटा केटीको उमेर २० बर्ष हुनु पर्ने ब्यबस्था गरेको छ । २० बर्ष नपुगी गरेको बिबाह स्बतः बदर हुने र बिबाह गर्ने, गराउनेलाई ३ बर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानुनी ब्यबस्था भएको नेपालगन्जका अधिबक्ता लोक बहादुर शाह बताउँछन । कानुनी ब्यबस्थाका बारेमा सचेतना अभियान संचालन गरेर जागरण ल्याउने तर्फ संघीय, प्रदेश तथा स्थानीय सरकारहरुले ध्यान दिनु पर्ने सुझाब अधिबक्ता शाहको छ ।
किशोरी क्लब संजालले बाल बिबाह अन्त्यका लागि र्याली, सडक नाटक, चित्रकलाका लागि स्थानीय तह, प्रहरी प्रशासनमा त्रापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको क्लबकी उपाध्यक्ष मन्जु थापाले बताइन । मधेरी समुदायमा १५ / १६ बर्षकै उमेरमा छोरीहरुको बिहेबारी गरि दिने चलन भए पनि त्यसलाई हटाएर छोरीहरुलाई पढाई लेखाई गराएर सक्षम भए पछि मात्रै बिहेबारी गर्नु पर्ने बाल क्लब संजाल नेपालगन्जकी पूर्वअध्यक्ष अन्जना चतुर्वेदी बताउँछिन् ।
सानै उमेरमा बिहे गराएपनि बिदाई भने बालिग अर्थात २० बर्ष पछि मात्रै हुने भएकाले सानैमा बिवाह गराई कुनै फाइदा नहुने पढाइबाट समेत बन्चित हुने, स्वास्थ्यमा समस्या आउने भनाइ मुस्लिम धर्म गुरु मौलाना जब्बार मन्जरीको छ । छोरीहरुलाई पढ्ने र क्षमता बिकास गर्ने अबसर दिनोस् भनेर धार्मिक प्रबचन मार्फत अभिभाबकहरुलाई सल्लाह सुझाबहरु दिंदै आएको मुस्लिम धर्म गुरु मौलाना जब्बार मन्जरी बताए ।
१६ बर्षमा बिहेबारीको माग गर्नेहरुका गतिबिधिहरुलाई प्रहरीले निगरानी गरिरहेको उनीहरुका बिरुद्धमा उजुरी परेमा कानुनी कारबाहीको प्रकृया सुरु गर्ने बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।