अब भेरीमैं घुँडाको जटील अप्रेशन


७ लाख रुपियासम्म खर्च हुने जटील प्रकारको घुँडा अप्रेशनमा भेरीले एकलाख रुपिया भित्रै सेवा प्रवाह गरिरहेको छ ।


मध्य तथा सुदुर पश्चिमका जनताा लागि एउटा सुखद खबर छ । भेरी अस्पताल नेपालगन्जमा घुँडाको जटिल समस्याको सफल अप्रेशन दुरबिन प्रविधिबाट गरिएको छ । यसले हाडजोर्नीको उपचारमा महंगो खर्च गर्नुपरेको र काठमाडौं लखनउ जानु पर्दै आएको बाध्यातापनि टरेको छ ।

अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रकाश थापाको टोलीले भ¥याङबाट खसेर भाँच्चिएको दैलेखका एक ३८ वर्षीय घाइतेको घुँडाको जटिल समस्याको मंगलवार सफल उपचार गरेको हो ।
‘घुँडाको चार मध्ये तीन वटा लिगामेन्ट डिस्लोकेशन भएको मल्टिपल इन्जुरीको केशमा यही साता दोस्रो सफलता प्राप्त भएको छ,’ मंगलवार बिहान १० बजेदेखिको निरन्तर खटाइपछि साँझ सफल अप्रेशनबारे खुशी व्यक्त गर्दै डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘सम्भवतः राजधानी काठमाडौं बाहिर यो पहिलो घटना हो ।’ डा. थापाका अनुसार, सहकर्मी डा. तिर्थेन्द्र खड्का सहितको टोलीले सैनिक अस्पतालका विशेषज्ञ चिकित्सक डा. निरब कायस्थको प्रत्यक्ष सहयोगमा अप्रेशन गरिएको थियो ।


एकै साता दोस्रो जटील अप्रेशन भेरीका लागि पनि पहिलो भएको जानकारी दिंदै डा. थापाले नेपालगन्जमा जटिल प्रकारका हाडजोर्नी उपचार गरिंदा बिरामीहरुका लागि निकै ठुलो सहुलियत भएको बताए । यसैसाता डोल्पाका २८ वर्षीय एक युवा घोडाबाट लडेर घँुडा फुत्किएपछि यस्तै ८ घण्टा लगाएर सफल अप्रेशन गरिएको थियो । ‘यस प्रकारको जटील अप्रेशन साविकको मध्य तथा सुदूरपश्चिममैं भेरीमैंमात्र उपलब्ध छ,’ डा. थापाले जटील प्रकारका उपचार सेवा समेत उपलब्ध गराइँदा जनतालाई निकै ठुलो राहत पुगेको जानकारी दिंदै भने ।


अस्पतालका अनुसार, ७ लाख रुपियासम्म खर्च हुने जटील प्रकारको घुँडा अप्रेशनमा भेरीले एकलाख रुपिया भित्रै सेवा प्रवाह गरिरहेको छ । ‘एउटा मात्र लिगामेन्ट जाँदा पनि काठमाडौंमा डेढलाखसम्म खर्च हुने गरेको छ,’ उपचारमा संलग्न चिकित्सक भेरीमा ४० हजार रुपियाभित्रै सहुलियत सेवा प्रवाह भइरहेको जानकारी दिंदै भन्छन्, ‘जनताले यस कुराको जानकारी पाइरहेका छैनन् ।’ डा. थापाले एक वर्ष यतामात्र भेरीमा झण्डै २ दर्जन घुँडा र कुमका उपचार दुरविन प्रविधिबाट गरिएको जानकारी दिए । आफुपनि दैलेखका स्थायी बासिन्दा डा. थापाले सफल अप्रेशन पछि निकै खुशी व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया