अलिक पनि आगो बढेको भए पेट्रोल पम्प तर्फ आगो टिप्ने जोखिम थियो
नेपालगन्जको बिपीचोकको लागेको आगो सुरक्षाकर्मी, बारुणयन्त्र, स्थानीयवासी सबैको प्रयासबाट ६ घण्टामा नियन्त्रणमा लिइयो । यसले नजिकै रहेको मयंक पेट्रोल पम्पमा आगो लाग्न पाएन र ठुलो क्षति हुनबाट जोगिएको छ । तर, व्यवसायीहरुको झण्डै पाँच करोडको क्षति पुगेको अनुमान उनीहरुले गरेका छन् । बाँके प्रहरीले कम्तिमा तीन करोडको प्रारम्भिक क्षति विवरण निकालेको छ ।
फर्निचर उद्योगमा बिहिवार राती ११ बजेतिर कसरी आगो लाग्यो ? सबैको चासो त्यतातिर छ । ‘इलेक्ट्रिक फल्टनै हो भन्ने देखिन्छ,’ राती ११ बजेदेखि बिहान ८ बजेसम्म घटनास्थलमै रहेका बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर वली भन्छन्, ‘अरु आशंकाका आधार भेटिएको छैन ।’ तर, स्थानीयवासी, व्यापारी, पीडितहरु भने, कर्सले रिसइबीमा आगजनी गरेको हुनसक्ने अनुमान गरेर प्रहरी अनुसन्धान त्यतातिर जानुपर्ने बताउँछन् ।
नेपालगन्ज उपमहानगरका दुईवटा, राँझा बिमानस्थलको एउटा, कोहलपुर र बर्दियाबाट समेत दमकल झिकाइएको थियो । छ घण्टा लागेको आगोले १४ वटा पसलमा नोक्सानी भएको छ । ‘अलिक पनि आगो बढेको भए पेट्रोल पम्प तर्फ आगो टिप्ने जोखिम थियो,’ स्टे«मिङ क्याफेका सञ्चालक मो. रफीले भने, ‘आगलागीको कारण पत्ता लगाएर समस्याको समाधान खोज्ने हो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार,हिमालय स्टिल फर्निचर उद्योग, सानिया स्टिल, स्टार,वारसी,बिन्देश्वरी,न्यू रुबी, आलिया फर्निचर, अमन फर्निचर,ए–वान फर्निचर,वावा फर्निचर, बाबा टे«डर्स,सरदार डेण्टल लगायतमा आगलागी भएको हो । ‘पसल पुरै खरानी भएको छ,’ क्षतिको विवरण संकलन भइरहेको जानकारी दिंदै प्रहरी उपरीक्षक वलीले भने । अरु कुरा केही पाइए अनुसन्धान त्यसतर्फपनि हुन्छ ।