छाडा चौपाया नियन्त्रण रणनीतिका लागि जिल्ला सभा माग


छाडा पशु चौपाया ब्यवस्थापन बाँके जिल्लाकै सबै भन्दा ठुलो समस्याको रुपमा रहेको जिल्लाका बिभिन्न सरोकारवालाहरुले औल्याएका छन् । नेपालगन्जमा छाडा पशु चौपाया ब्यवस्थापनका लागि पहलका क्रममा नेपालगन्ज उप–महानगरपालिकाले बुधबार सर्वपक्षीय बैठक गर्दै छाडा पशु चौपायाको ब्यवस्थापन जिल्लाकै साझा र ठुलो समस्याका रुपमा औल्याएको हो ।
छाडा चौपाया समस्या समाधानका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने सहमति सहित जिल्ला सभाको माग गरिएको छ । ‘नेपालगन्जमा निर्माणाधिन काञ्जीहाउसको थप ब्यवस्थापन गर्ने, यहाँका पशु चौपायालाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने बैठकमा सहमति भएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले दैनिक नेपालगन्जसँग् भने । त्यसका लागि जिल्ला सभा आव्हान गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जिल्ला सभाको पहल अगाडी बढाउने प्रतिबद्धता रेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले काञ्जिहाउस थप ब्यवस्थित गरि पशुको आहार लगायत अन्य सहयोगका लागि सार्वजनिक सहयोगको अपिल गर्ने निर्णय गरेको पनि गरेको छ । सर्वदलिय, सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीहरुले छाडा चौपाया ब्यवस्थापन नेपालगन्ज उप–महानगरपालिकाको मात्रै नभइ सिंगो जिल्लाकै विकराल समस्या भएको बताए् ।
केहि समय यता छाडा चौपायाको समस्या चारैतिर बहसको विषय बनिरहेको अवस्थामा सो समस्या समाधानका लागि स्थानीय सरकारका प्रमुख, सुरक्षा निकाय, नागरिक समाजका संस्था, राजनीतिक दल, पत्रकार लगाएत सरोकारवालाहरुको उपस्थितीमा नेपालगन्ज उप–महानगरपालिकाले छलफलको आयोजना गरेको हो । छाडा चौपाया र कान्जि हाउसको विषयमा बिभिन्न ब्यक्तिहरुबाट सामाजिक संजालमा आलोचना खेपिरहको उपमहानगरपालिकाले सामुहिक प्रयासको थालनी गर्न र सरोकावालाहरुबाट सुझाव संकलन गर्न सर्वपक्षिय बैठकको आयोजना गरेको हो । बिभिन्न क्षेत्रका ब्यक्तिहरुले छाडा चौपायाको समस्या पहिलेदेखि नै भएको बताउदै सो समस्या समाधानका लागि उपमहानगरपालिकाले संचालन गरेको कान्जि हाउसले धेरै हदसम्म समस्या समाधन गरेको दावी सम्बद्धको थियो ।
नगरप्रमुख डा. राणाले नेपालगन्ज उप–महानगरपालिका लामो समय देखि छाडा पशु चौपायाको ब्यवस्थापनमा लागेको भएपनि यो विषय चुनौतिपुर्ण बनेको बताए । छाडा पशु चौपायाको ब्यवस्थापनका लागि उपमाहनगरपालिकाले वडा नम्वर २१ मा स्थाही कान्जि हाउस निर्माण कार्य गरिरहेको र तत्कालको समस्या समाधानका लागि अस्थाही खालको कान्जि हाउस निर्माण गरि छाडा पशुहरुलाई कान्जि हाउसमा ब्यवस्थापन गरिरहेको प्रमुख डा.राणाले बताए । उनले भारत र ग्रामीण क्षेत्रबाट आउने पशु चौपाया नेपालगन्जको विकराल समस्या बनेको बताए । निर्माणाधिन काञ्जीहाउसमा ६ सय वटा पशु राखिंदा समेत नगरभित्र समस्या समाधान हुन नसकेको धारणा राख्दै डा. राणाले भने, ‘थोरै पशुका लागि दानाको ब्यवस्थापन गरिएको थियो, ६ सय वटासम्म पशु भएपछि कसरी ब्यवस्थापन गर्नु ? ।’
छाडा पशु चौपाया ब्यवस्थापनका लागि उपमहानगरपालिका प्रयासरत रहेको भन्दै प्रम’ख प्रशासकीय अधिकृत हरी प्याकुरेलले काञ्जिहाउसमा पशुका लागि आहार र औषधीउपचारको ब्यवस्था गरिएको जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय सिमानाबाट जथाभावी रुपमा चौपाया आउने क्रमलालाई रोक्न सबै क्षेत्र लाग्नुपर्ने बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पुश चौपाया हुंदा एका तिर सहरको सुन्दरता बिग्रिएको र अर्को तिर दिनहुँ सवारी दुर्घटना बढाएको बताए । त्यसको पीडा कोहलपुर नगरपालिकाले समेत भोगिरहेको रावतको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया