नेपालगन्जका फरारको सेल्टर काठमाडौं ?

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने गिरोह विरुद्ध अपरेशन थालेको बाँके प्रहरीले उक्त घटनाको कानुनी कारवाहीका क्रममा फरार ७ जनालाई राजधानी काठमाडौं पुगेर पक्राउ गरेको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले विशेष सूचना स्रोतका आधारमा काठमाडौं पुगेको टोलीले फरार अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी दिए ।

‘सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ७ जना मालपोतका कर्मचारीलाई पक्राउ गरी नेपाल प्रहरी अपराध महाशाखामा राखिएको छ’, मंगलबार काठमाडौंबाट नेपालगन्ज ल्याइने जानकारी दिंदै प्रहरी उपरीक्षक ओलीले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरु प्रहरीबाट जोगिंदै अनुसन्धानमा नआएर सोभैm अदालत जान खोजेका थिए ।’

पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी (उपसचिव) दीर्घबहादुर पोखरेलसहित ७ जना छन् । उनीहरुले बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ । पक्राउ पर्नेहरुमा पोखरेलसहित शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्रबहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान भएको छैन ।

यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीहरुको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो । जिल्ला न्यायाधीश राम प्रसाद वश्यालको एकल इजलाशले हत्या तथा अपहरण सम्बन्धी मुद्दामा दुई जनालाई र सरकारी कागज किर्ते सम्बन्धी मुद्दामा १४ जनालाई थुनछेकको आदेश गरेको हो । बाँकी ३ जनालाई जनही १÷१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश अदालतबाट भएको थियो । तीन जनालाई भने अख्तियारले झिकाएको थियो ।

सरकारी कागज किर्ते अन्तर्गत मुद्दा चलाइएका प्रेम बहादुर चन्द, सञ्जय कुमार ठाकुर र तुलसीरानी थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । तर, अख्तियारले उक्त मुद्दा अनुसन्धान गरिरहेकाले तीनै जनालाई अदालतबाटै माग गरी झिकाएको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरु समेत गरी १९ जनालाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पक्राउ पर्ने दुई जना हत्या तथा अपहरण मुद्दामा परेका छन् । सम्बद्ध स्रोतका अनुसार, नेपालगन्ज–३ का कोशल भन्ने फैरुल हसन अन्सारी र उनका अर्का साझेदार सज्जन सैय्यदलाई हत्यामा संलग्नताको आशंकामा पक्राउ गरी मुद्दा चलाइएको हो । अन्सारीले आफ्ना साझेदार भारतीय नागरिक जुनेद अन्सारीको हत्या गरेको अभियोग छ । अन्सारी एकाएक बेपत्ता भएपछि जयसपुर स्थित उनकी नेपाली पत्नीले खोजीका लागि दिएको उजुरीका आधारमा प्रहरी सक्रिय हुँदा जग्गा लेनदेनको कारोबार सरकारी जग्गालाई व्यक्तिका नाममा गर्ने गिरोह खुलासा गर्नेदेखि जग्गा विवादमा हत्या समेत भएको प्रकरण सार्वजनिक भएको थियो ।

मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठ सहित बाँके, बर्दियाका १७ जना मालपोत कर्मचारी प्रहरी अनुसन्धानको दायरामा छन् । बाँके प्रहरीले जुनेदकी श्रीमतिलाई घटनास्थल पुर्याउँदा भारतीय प्रहरीले दाहसंस्कार गरी पहिचानका लागि राखेको कपडाका आधारमा जुनेद नै भएको खुलेको थियो । त्यसअघि प्रहरीले अनुसन्धानका विभिन्न चरणमा जुनेद र फैरुल हसन बीच सरकारी जग्गा व्यक्तिका नाममा गर्ने भैरहेका प्रयासहरु तथ्य संकलन गरिसकेको थियो । ‘फैरुलले आफ्ना मृत बाबुका नाममा सिक्टा सिंचाईको जग्गा नामसारी गरिसकेको खुलेको छ’, प्रहरी भन्छ, ‘पहिले मृत बाबुका नाममा र पछि आमाका नामसारी गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ ।’

बर्दियाको नेउलापुर स्थित ६ विगाह जग्गा पनि त्यसैगरी व्यक्तिका नाममा गर्न प्रक्रिया निकै अगाडि बढिसकेको तथ्य प्रहरी हातमा परिसकेको छ । सोही मुद्दामा बर्दियाका मालपोत कार्यालय प्रमुख सहितका कर्मचारीहरु पक्राउ परेका हुन् । (आजको दैनिक नेपालगन्जको महानगर विशेषबाट)

प्रतिक्रिया

प्रतिक्रिया