करोडौंको सम्पत्तिमा १६ वर्षदेखि ताला
मन भण्डारी
माल पाएर चाल नपाएको कथन यहाँनेर ठ्याक्कै मेल खान्छ । नेपालगन्जको आदर्शनगरमा रहेको नेपाल औद्योगिक विकास निगमको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय बिगत १६ बर्षदेखि बन्द अवस्थामा छ । करोडौं मुल्यको भौतिक संरचनामा द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै वर्षाैंदेखि ताला लागेको हो ।
तत्कालिन समयमा विकास बैंकहरु नभएको अवस्थामा बैंकको बिकल्पको रुपमा कार्य गर्ने गरि २०१६ सालदेखि संचालनमा रहेको नेपाल औद्योगिक विकास निगमको नेपालगन्ज स्थित कार्यालय २०६० सालदेखि बन्द छ । अहिलेको जस्तो प्रशस्तै मात्रामा वाणिज्य बैंकहरु नभएको र उद्योग धन्दा तथा ब्यवसाय संचालन गर्न खोज्नेहरुका लागि ऋण लगानी गरिदिने कुनै निकाय नभएको अवस्थामा यो संस्था स्थापना गरिएको थियो । उद्योगीहरुका लागि बैंकको रुपमा कार्य गर्न देशका पाँच वटै विकास क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहने गरि औद्योगिक विकास निगमका कार्यालयहरु संचालनमा आएका थिए ।
२०१६ सालदेखि नेपालगन्जमा कार्यालय संचालन गरि कार्य थालनी गरेको नेपाल औद्योगिक विकास निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुरुमा रानीतलाउमा घर भाडामा लिएर संचालन भएको थियो । २०१६ साल देखि २०४५ साल सम्म भाडामैं कार्यालय संचालन गरेको सो निगमको कार्यालय २०४५ सालमा नेपालगन्ज वडा नं. १० आदर्श नगर आफ्नै भवनमा सरेको थियो ।
२०४५ साल असोजमा उद्घाटन गरे पछि करिब १० कठ्ठा क्षेत्रफलमा दुईवटा भवनमा गरि १५ वटा कोठा, प्रशस्तै फर्निचरहरु, कम्युटर, मोटरसाइकल लगायतका थुप्रै सम्पत्ति भएको असुरक्षाका कारण भन्दै त्यतिबेला बन्द गरिएको थियो । अहिले त्यहाँ नत कर्मचारी छन्, नत कुनै कारोबार हुन्छ, छ त मात्र भवन । बिभिन्न ब्यवसाय तथा उद्योग संचालन गर्नेहरुका लागि धितोमा ऋण लगानी गर्दै आएको सो कार्यालयमा २०६० सालमा तत्कालिन बिद्रोही नेकपा माओबादीले बम हानेपछि बन्द भएको थियो ।
माओबादीले कार्यालयमा बम हानेको भन्दै सुरक्षाको कारण देखाउँदै कारोबार नै बन्द भएको सुरक्षा गार्ड रुपमा काम गर्दै आएका चन्द्र बहादुर सुनारले बताए । मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सदाका लागि बन्द भएपनि अरु केहि ठाउँका कार्यालय भने हाल सम्म पनि संचालनमा छन् । १७÷१८ जना कर्मचारी कार्यरत रहेको सो कार्यालयमा २०६० पछि एक जना कर्मचारी र दुई जना गेटपाले मात्रै छन् ।
माओबादीले बम हानेपछि सबै कागजात र फाइलहरु केन्द्रीय कार्यालयमा पठाइ कारोबार नै बन्द गरिएको कार्यालयमा कार्यालय सहयोगिको रुपमा कार्य गरेका उद्धव फुयाँलले दैनिक नेपालगन्जलाई जानकारी दिए । २०६० सालमा माओबादीले कार्यालयमा बम हानेपछि सबै कर्मचारीहरु अरु क्षेत्रको कार्यालयमा गएको र २०६८ सालदेखि २०७४ फागुन मसान्त सम्म आफु एक्लैले कार्यालय कुर्दै आएको उनको भनाइ छ । कुनै कामकाज नभएपनि बिहान १० देखि बेलुकी ५ बजे सम्म कार्यालय कुर्दै आएका उद्धवले स्वेच्छिक अवकास लिएपछि कार्यालयमा दुइ जना गेट पाले बाहेक कर्मचारी बिहीन भएको छ ।
अहिले आएर औद्योगिक विकास निगम राष्ट्रिय वाणिज्य बैंकमा मर्ज औद्योगिक प्रबद्र्धन र ब्यवसाय सुधारमा सहयोग गर्ने काम गर्दै आएको सो कार्यालय सञ्चालनमा आउने आशा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भए पनि वाणिज्य वैंकले समेत उक्त भवन तथा सामानको प्रयोग अहिलेसम्म गर्न सकेको छैन । बैंकका धम्बोझी शाखाका सहयाक प्रवन्धक हस्त शाहीले निगमको भवन तथा सामानहरु राष्ट्रिय वाणिज्य वैंकले आफ्नो सम्पतिको रुपमा राखेको बताए ।
नेपाल औद्योगिक विकास निगमको धनगढी कार्यालय हेर्दै आएका एक जना कर्मचारीले सबै औद्योगिक विकास निगमका कार्यालयहरुलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने निर्णय नेपाल सरकारले गरेपछि हाल सो कार्यालय राष्ट्रिय वाणिज्य वैंकमा गाभिएको बताए । ‘नेपाल औद्योगिक बिकास निगमलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने निर्णय भएकोछ अब छिट्टै एकिकृत कारोबार हुन्छ,’ उनले भने, ‘अरु क्षेत्रको कार्यालयहरुमा नियमित रुपमा कारोबार हुंदै आएपनि नेपालगन्जको कार्यालयमा कुनै कारोबार छैन सामानहरुको रेखदेखका लागि गेटपालेको ब्यवस्था गरिएकोछ, अब भवन राष्ट्रिय बाणिज्य बैंकको निगरानीमा रहन्छ ।’