अस्पतालमा पोखिंदै विरहीको विरह


एक्कासी क्यान्सर देखिएपछि अस्पताल पुगेका विरहीलाई उपचारका लागि २० लाख रुपिया खाँचो

‘उपचारको एक सातामा २ लाख सकियो,’ शल्यक्रियासम्म पुग्दा २० लाख सम्म आवश्यक पर्ने औल्याउँदै गर्दा भावविव्हल बनेका विरहीले भने, ‘पैसा जुट्यो भने बाँच्छु, बाँचे भने, निरन्तर लेख्छु, समाजकैलागि सक्रिय हुन्छु ।’

दैनिक नेपालगन्ज
झण्डै पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार रेशम बिरही घिमिरे गम्भीर विरामी भएका छन् । सामान्य अस्वस्थ उनलाई चेकजाँचका क्रममा क्यान्सरको संक्रमण पाइएको हो ।
‘सबैजसो चेकजाँचपछि टिचिङ अस्पताल काठमाडौंले क्यान्सर ठहर गरि भरतपुर रेफर ग¥यो,’ विहीवार पहिले किमोपछि शुक्रवार अवस्थामा केही सुधार महसुस गरेका पत्रकार विरहीले दैनिक नेपालगन्ज सँग टेलिफोन सम्पर्कमा भने, ‘एक्कासी थाह भयो, क्यान्सरको दोस्रो स्टेज रहेछ ।’
विरही वरिष्ठ पत्रकार तथा साहित्यकार हुन् । २०२८ सालमा मातृभूमिबाट पत्रकारितामा प्रवेश गरेका विरही नेपाल समाचारपत्र दैनिक हँुदै आफै प्रकाशक भएर नेपाली पत्रकारितामा समानान्तर जन्माएका थिए । ललितपुरमा दैनिक समानान्तर दर्ता गरेका विरहीले नेपालगन्जमा स्थानान्तरण गरि २०५१ सालमा बाँकेलाई कर्मथलो बनाएका थिए । समानान्तरलाई कहिले दैनिक त कहिले साप्ताहिक चलाएका विरहीको विचार लेखनको पक्षमा सशक्त परिचय बनाएका थिए ।
मुलतः साहित्यमा पनि उत्तिकै क्रियाशील ६६ वर्षीय बिरहीकाका दर्जन साहित्यिक कृति छन् । पछिल्ला दिनमा आख्यानमा सक्रिय विरहीले प्रेमदासको डायरी नामक उपन्यासमा विषयबस्तुको उठान र बैठानलाई बाँके, नेपालगन्जको पृष्ठभूमिसँग जोठेका छन् । बेजोड निबन्धकारितामा कहलिएका उनले निबन्ध संग्रह ‘देब्रे आँखा’ लाई पनि नेपालगन्जको पृष्ठभूमिमा प्रस्तुत गरेका छन् । ‘मंगली गुप्ताको पान नेपालगन्जकै विषयबस्तु हो,’ कवितामा उस्तै कलम चलाउने कवि विरहीका ‘भित्ताको रङ,’ ‘थाल थालमा सपना,’ ‘मुलाको बोक्रा’, ‘आलीमुनिको झ्याउँकिरी’ आदि स्तरीय कविताकृति प्रकाशित छन् ।

फेसबुक पेजमार्फत सहयोग अपील् गरिंदै


‘चितवनमा जन्मेर केही समय काठमाडौं र लामो समय नेपालगन्जलाई कर्मथलो बनाई साहित्य र पत्रकारिताको क्षेत्रमा विरहीले ठूलो योगदान गरेका छन्,’ युवा श्रष्टा भोजराज शर्मा ‘नादिर’ले दैनिक नेपालगन्जसँग भने, ‘हाल चितवनमा बसोबास गरिरहेका रेशम बिरही सेकेन्ड स्टेजको आन्द्राको क्यान्सरसँग जुझिरहेका छन् ।’ भरतपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ । ‘किमो थेरापी भइरहेको र अप्रेसन गर्नुपर्ने अवस्थामा उपचार खर्चको जोहोको जटिलता हामी सबैले महसुस गर्न सक्छौं,’ सामाजिक सञ्जालमार्फत सहयोगको अपील गरेका नादिरले भने, ‘शुभचिन्तक र साथीहरूको स्वस्फुर्त पहलकदमीमा स्वाभिमानी कवि बिरहीसँग छलफल र अनुमति लिएपश्चात् उपचारार्थ सहयोग जुटाउने प्रयास गरिरहेका छौं ।’
जीवनमा मान्छे कमाएका वरिष्ठ पत्रकार, कवि, साहित्यकार विरहीलाई यतिबेला जीवन रक्षाका लागि सबैको सहयोग र सहकार्यको आवश्यकता आइपरेको छ । ‘हामी सहयोग जुटाएरैपनि उपचारमा सघाउँछौं,’ नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले आवश्यक परे कोष स्थापना गरेरै आवश्यक रकम संकलन गरिने जानकारी दिंदै भने, ‘हाम्रो सार्वजनिक अपील हो, एक जना निर्भिक पत्रकार उपचार नपाएर मर्नु नपरोस् ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखले पत्रकार विरहीको उपचारमा चासो देखाएका छन् । ‘के गर्न सकिन्छ सल्लाह गरौं, नगर प्रमुख डा. धवल समशेर राणाले दैनिक नेपालगन्जसँग भने । ‘एउटा कवि, एउटा लेखक, एउटा पत्रकार हाम्रा अग्रज आदरणीय दाजु रेशम बिरही अहिले आफैसंग लडिरहनु भएको छ,’ उपप्रमुख उमा थापामगरले सामाजिक सञ्जालमाफर्त अपील गर्दै भनेकी छन्, ‘आफ्नो आधा बढि जीवन नेपालगन्जलाई सुम्पेको उहाँको योगदान अतुलनीय छ । यो अवस्थामा हाम्रो साथ र सहयोग उहाँको लागि उर्जा बन्न सक्छ । आउनुहोस साथ र सहयोगको लागि सबै मिलि हातेमालो गरौ ।’
विरही थलिएको सूचना पाउना साथ वरिष्ठ लेखक नरेन्द्रजंग पीटर आर्थिक सहयोगमा जुटेका छन् । ‘के, हामी लेखक,कवि तथा पत्रकार रेशम विरहीको क्यान्सर उपचारकालागी केही सहयोग गर्न सक्छौ ?,’ पिटरले आव्हान गर्दै भनेका छन्, ‘के उनको उपचारकालागी विरही उपचार कोष खडा गर्न र सरोकारवालाहरूसंग पहल गर्न सकौँला ्?’ उनैको संयोजनमा प्रेस काउन्सिलले २५ हजार रुपिया सहयोगको प्रतिबद्धता जनाएको छ । ‘हामीले सक्दो सहयोग गर्नेछौं,’ काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले भनेका छन् ।

अस्पतालमा सोंचमग्न विरही


गत विहीवारदेखि थलिएका विरहीलाई प्रत्येक १५ दिनमा क्यान्सरको उपचारमा किमोथेपारी गरिनेछ । पेटको ठुलो आन्द्रामा क्यान्सर संक्रमण भएको उनलाई क्यान्सरका वरिष्ठ सर्जन डा. विनय ठाकुरले हेरिरहेको परिवार स्रोतले जनाएको छ । ‘उपचारको एक सातामा २ लाख सकियो,’ शल्यक्रियासम्म पुग्दा २० लाख सम्म आवश्यक पर्ने औल्याउँदै गर्दा भावविव्हल बनेका विरहीले भने, ‘पैसा जुट्यो भने बाँच्छु, बाँचे भने, निरन्तर लेख्छु, समाजकैलागि सक्रिय हुन्छु ।’

अस्पतालले क्यान्सर प्रमाणित गरेको पर्चा


‘एउटा कवि, एउटा लेखक, एउटा पत्रकार, एउटा मित्र आज अस्पतालको बेडमा छ । उ केमो लिँदै पेटको क्यान्सरसंग लडिरहेको एउटा निर्भिक बहादुर हो,’ पीटरले विरहीलाई हौसला दिंदै भनेका छन्, ‘आधुनिक विज्ञान हरेक रोगको उपचार सम्भव छ, भैरहेको छ । प्यारे, छिट्टै आउ–मन खोलेर तिमीसंग ’झगडा’ गर्न धितै मरेको छैन् ।’ ‘नरेन्द्र जंग पिटर र रेशम विरही बैचारिक मतभेदका बिचपनि मेरा घनिष्ट मित्र झैं थिए,’ वरिष्ठ कथाकार सनत रेग्मी भन्छन्, ‘हामी एक अर्कालाई आदर र सम्मान गर्दछौं । उनेै मित्र विरही अहिले रोगसंग संघर्ष गर्दै छन् । यस संघर्षमा उनी विजयी होउन् ।उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया

प्रतिक्रिया