(भारतको दिल्ली स्थित कोठीको सिलिङ्गमा बनाइएको सुरुङ्गमा नेपाली चेली खोज्दै माइती नेपालका क्षेत्रीय संयोजक कोइराला । फाइल तस्विर सौजन्य : माइती नेपाल)
भारतको कोठीबाट नेपाली चेलीको उद्दार गरेर फर्काउनु कम्ती चुनौतिपूर्ण र जोखिमपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउनका लागि नेपाल र भारत बीच सन्धी, सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारणले उद्दारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ ।
तैपनि मानव बेचबिखन विरुद्ध क्रियाशिल रहेको संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक बर्षमा ५४ जनालाई फर्काउन सफल भएको छ । माइती नेपाल नेपालगन्जले आ.व. ०७५-०७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्दार गरेको छ । जसमा ३ जना तेस्रो मुलुकका रहेका छन् । गत माइती नेपाल चेलीहरुको उद्दार गर्न आफ्नै संयन्त्रहरु मार्फत भारतको दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतको स्थानमा पुग्ने गरेको छ ।
माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइराला धेरै पटक चेलीहरु खोज्न भारत पुगेका छन् । ‘नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारत स्थित संघ, संस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरेका छौं’, उनी भन्छन्, ‘सूचना चुहिदा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ ।’ माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरी भन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरेको छ । भारतका कोठीमा छापा मार्दा माइती नेपालको टोली आफै खोजीका लागि सक्रिय हुने गरेको छ ।
कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइरालाले कोठीमा छापामा मार्दा उनीहरुलाई च्यानल गेट भित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गहरु भित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सुनाउँछन् ।
‘कोठीमा भोगेको नारकीय जीवन र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्दारलाई अस्वीकार गर्न खोज्छन्’, उनी भन्छन्, ‘त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानुनी उपचार र पुनस्र्थापनामा पनि सहयोग गछौं ।’ माइती नेपालले चेलीहरुको उद्दार पछि भारत स्थिति सरकारी आश्रय स्थलमा राख्ने गरेको छ । ‘कोठी सञ्चालक विरुद्ध कानुनी कारवाही र क्षतिपूर्तिका लागि समेत भारतमा सहजीकरण गर्दछांै’, उनले भने ।
माइती नेपालले श्रम र यौन शोषणमा परेकाहरुको उद्दार गर्दै आएको छ । माइती नेपालले आ.व. ०७४÷०७५ मा ५२, ०७३÷०७४ मा ५१, ०७२÷०७३ मा २६, ०७१÷०७२ मा १९, ०७०÷०७१ मा ३१, ०६९÷०७० मा १४ र ०६८÷०६९ मा ४ जनाको उद्दार गरेको छ ।
माइती नेपाल नेपालगन्जले भारत प्रवेश गर्ने नाकामा निगरानी गर्दै जोखिमपूर्ण यात्रा गर्नेहरुलाई उद्दार गर्दै आएको छ । त्यसक्रममा आवधिक गृहमा समेत उद्दार गरिएकालाई राख्ने गरेको छ । आ.व. ०७५÷०७६ मा ९ सय २ जनालाई माइती नेपालले सीमाबाट उद्दार गरी आवधिक गृहमा पठाएको थियो । माइतीले आ.व. ०७४÷०७५ मा ९ सय ३०, ०७३÷०७४ मा १ हजार १ सय २७, ०७२÷०७३ मा ८५०, ०७०÷०७१ मा ४०४ जनालाई उद्दार गरी आवधिक गृहमा राखेको थियो ।
माइती नेपालले आ.व. ०७५÷०७६ मा ३ सय ५१ जनालाई नेपाल भारत सीमाबाट नै परामर्श दिई घर फर्काएको जानकारी दिएको छ । त्यस अघिको आ.व.मा २ सय ८८ जनालाई माइती नेपालले बोर्डरबाट फर्काएको थियो ।