भारतीय श्रमिकलाई नेपालगन्जमै पान, अब दुतावासको अनुमति नचाइने

भारतीय श्रमिकले पनि नेपालगन्जबाट नै सहज रुपमै (स्थायी लेखा नम्बर) लिन पाउने भएका छन् । यसअघि भारतीय श्रमिकका हकमा पान लिनका लागि दुतावासको अनुमति चाहिने भनिंदा रोजगारदाताहरु समस्यामा परेका थिए ।

सरकारले साउनदेखिको पान विहीन कर्मचारीलाई दिएको तलब, भत्ता खर्चमा घटाउन नपाउने व्यवस्था गरेको छ । त्यसैले पनि श्रमिकलाई पान अनिवार्य छ । नेपालमा ठूलो संख्यामा भारतीय श्रमिकले काम गर्छन् । दुतावासको अनुमति लिनका लागि रोजगारदाता र श्रमिक दुवै काठमाडौं पुग्नु पथ्र्यो । तर, अब त्यो बाध्यता हटेको छ ।

‘अब भारतीय श्रमिकले भारतीय सरकारले जारी गरेको पहिचान पत्रको आधारमा नै पान लिन पाउने व्यवस्था गरिएको छ’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत प्रकाश पौडेलल भने, ‘यसले भारतीय कामदार र रोजगारदाता दुवैलाई सहज भएको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले राजश्वले व्यवसायीहरुले उठाएको मागको सम्बोधन गरेको बताए । ‘अब व्यक्तिगत पानमा श्रमिकलाई दर्ता गराउन कुनै समस्या हुनेछैन’, उनले भने ।

सरकारले व्यक्तिगत पान अनिवार्य गरेसँगै दर्ता हुनेको संख्या बढ्दै गएको छ । भारतीय कामदार पनि पान लिनका लागि राजश्व पुग्न थालेका छन् । राजश्वले भारतीय कामदारलाई जारी गर्ने पानको छुट्टै रेकर्ड नराखे पनि दैनिक २\४ जना पुग्ने गरेको प्रमुख कर अधिकृत पौडलले बताए ।

गत आ.व. ०७५\०७६ सम्म आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्तर्गत पान लिनेको संख्या २८ हजार ९ सय ६६ हजार थियो । चालु आ.व.को दुई सातामा झण्डै ४ हजार थपिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत प्रकाश पौडेलले बताएका छन् ।

‘व्यक्तिगत पान लिनेको संख्या ह्वात्तै बढेको छ’, प्रमुख कर अधिकृत पौडेलले भने, ‘मंगलबारसम्म मात्रै ३ हजार ८ सय ८५ जना थपिनु भएको छ ।’ उनले दैनिक ३ सय जना पानका लिनका लागि कार्यालय पुग्ने गरेकोले चाप बढ्दै गएको बताए ।
राजश्वमा चाप बढ्दै गएपछि नेपालगन्ज उद्योग वाणिज्य संघले पनि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । ‘सयौं करदाताले हेल्प डेस्कबाट सहायता लिइसक्नु भएकोछ’, संघ अध्यक्ष वैश्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया